विराटनगरमा लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान : समावेशीताको ग्यारेन्टी, संविधान संशोधन र समानुपातिक प्रणालीमा जोड

विराटनगर, भदौ १६ ।देशको वर्तमान राजनीतिक अवस्था र संघीय लोकतान्त्रिक संविधानको प्रभावकारितामाथि प्रश्न उठाउँदै लोकतान्त्रिक मोर्चाले विराटनगरमा "जनजागरण अभियान" सुरु गरेको छ। मोर्चामा आवद्ध शीर्ष नेताहरुले संविधान संशोधन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, उत्पीडित समुदायको पहिचान र अधिकार सुनिश्चितता, तथा समावेशी राज्य संरचनाको ग्यारेन्टीका लागि एकढिक्का संघर्ष गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उपेन्द्र यादव : “उत्पीडितहरुको …

Share on Social Media

विराटनगर, भदौ १६ ।
देशको वर्तमान राजनीतिक अवस्था र संघीय लोकतान्त्रिक संविधानको प्रभावकारितामाथि प्रश्न उठाउँदै लोकतान्त्रिक मोर्चाले विराटनगरमा “जनजागरण अभियान” सुरु गरेको छ। मोर्चामा आवद्ध शीर्ष नेताहरुले संविधान संशोधन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, उत्पीडित समुदायको पहिचान र अधिकार सुनिश्चितता, तथा समावेशी राज्य संरचनाको ग्यारेन्टीका लागि एकढिक्का संघर्ष गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।


उपेन्द्र यादव : “उत्पीडितहरुको एकता अपरिहार्य”

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश, थारु, आदिवासी जनजाति, दलित र अन्य उत्पीडित समुदायको अलग–अलग संघर्ष असफल भएको स्मरण गरे। उहाँले सबै उत्पीडित समुदायले पहिचान र स्वशासन खोजेको तर राज्यसत्तामा बसेकाले अधिकार दबाएर राखेको आरोप लगाए।

यादवले भूमि ऐनलाई ‘देशलाई वनजंगल मुक्त बनाउने नाममा धन कमाउने षड्यन्त्र’ को संज्ञा दिँदै त्यसविरुद्ध सचेत रहन आग्रह गरे। उहाँले अघिल्ला दिनमा एउटै पार्टीमा रहेर पनि नेताहरु बीचमा विभाजन भएको दुःख प्रकट गर्दै अधिकारका लागि उत्पीडितले एउटै मोर्चा बनाउनै पर्ने आवश्यकता औंल्याए।


राजेन्द्र महतो : “विभाजनले संघर्ष कमजोर बनायो”

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आदिवासी जनजातिलाई मधेशीसँगै राज्यविहिन बनाइएको दाबी गरे। काँग्रेस र एमालेले फुटाउ र राज गरको नीति अवलम्बन गरेको आरोप लगाउँदै उनले विगतमा छुट्टाछुट्टै संघर्ष गर्दा असफल भएको बताए।

“अब अधिकार, पहिचान र स्वशासन चाहिन्छ भने मिल्नुको विकल्प छैन। नश्लिय शासनसत्ताबाट मुक्ति पाउन राष्ट्रिय मुक्ति आन्दोलन अपरिहार्य छ,” महतोले जोड दिए।


महन्थ ठाकुर : “संविधानले दिएको अधिकारलाई ठग्न पाइँदैन”

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनमा सहभागी कार्यकर्तामाथि लगाइएका झुठा मुद्दा खारेज गर्न माग गरे। उनले गणतन्त्र स्थापना आन्दोलनलाई उपलब्धि माने पनि किसान, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत सवालमा सरकारले लापरवाही देखाएको भन्दै आलोचना गरे।

“हाम्रो संघर्षकै कारण संविधानमा मधेश शब्द आएको हो। तर उखु किसान उपेक्षित छन्, हैजाले जनतालाई पीडा दिएको छ। यो सरकारको लापरवाही हो,” ठाकुरको भनाइ थियो।


वृषेश चन्द्र लाल : “पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ”

तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले संविधान संशोधनलाई अपरिहार्य बताए। उनका अनुसार समावेशीताको ग्यारेन्टी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र अधिकार प्राप्तिका लागि संविधान फेरि संशोधन गर्नुपर्छ।

“यदि जनता समर्थन गर्छन् भने हामी मोर्चालाई अझ बलियो बनाएर अगाडि बढ्छौं,” उनले भने।


हृदयेश त्रिपाठी : “संविधानलाई नर्सले हेरेझैं हेरिएको छ”

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले संविधानलाई केवल नर्सले नवजात शिशु हेरझैं हेरिएको उपमा दिए। उनका अनुसार शेरबहादुर देउवा र केपी शर्मा ओली संविधानका संरक्षक मात्र भए पनि मातृत्वको भावनाबाट संविधानलाई आत्मसात गर्न सकेका छैनन्।

“देश हाम्रो हो भने राज्य पनि हाम्रो हुनुपर्छ। मधेशीहरु सामाजिक र राजनीतिक रूपमा विभाजित छन्, अब एक हुनुको विकल्प छैन,” त्रिपाठीले स्पष्ट पारे।


केशव झा : “मोर्चा जनजिविकाको आन्दोलन हो”

राष्ट्रिय मुक्ति पार्टीका महासचिव तथा मोर्चाका केन्द्रीय सचिवालय सदस्य केशव झाले यो अभियानको उद्देश्य संविधान संशोधनको पक्षमा जनमत तयार पार्नु रहेको बताए।

“लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउनुपर्छ, आन्दोलनकारीमाथिको मुद्दा खारेज हुनुपर्छ, भूमि विधेयकको षड्यन्त्र रोकिनुपर्छ, भ्रष्टाचारको विरोध गर्नुपर्छ। यो मोर्चा जनजिविकाको सवालमा केन्द्रित छ,” उनले भने।


नागरिक उन्मुक्ति पार्टीको धारणा

मोर्चाका नेता तथा नागरिक उन्मुक्ति पार्टीका सचिव चन्द्र कुमार चौधरीले यो गठबन्धनले मधेशी, थारु र आदिवासी जनजाति समुदायबीच उत्साह बढाएको बताए। “यो एकता मोर्चाले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा पनि महत्त्वपूर्ण परिणाम दिनेछ,” चौधरीले दाबी गरे।


विशेष उपस्थिति र आगामी कार्यक्रम

कार्यक्रममा उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, वृषेश चन्द्र लाल, डाक्टर विजयकुमार सिंह, केशव झा, जयराम यादव, चन्द्र कुमार चौधरी, चन्द्र प्रसाद राजवंशी, बलराम ऋषिदेव, मनिष मिश्र, सत्यनारायण साह, रेखा यादव, सन्तोष मेहता, आभास लाभ, रकम चेम्जोङ, तबरेज हक, संजय सिंहलगायत नेताहरुको विशेष उपस्थिति थियो।

मोर्चाले पहिलो चरणमा आठ ठाउँमा जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यसअनुसार १८ गते राजविराज र २० गते जनकपुरधाममा कार्यक्रम तय भएको छ।

कार्यक्रमको अध्यक्षता जसपा नेपाल मोरङका अध्यक्ष राजकुमार यादवले गरेका थिए भने सञ्चालन पूर्वमन्त्री तथा संविधानसभा सदस्य जयराम यादवले गरेका थिए।


BoliBachan

BoliBachan

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *