जनकपुरधाम, भदौ १८ गते।राराबा क्याम्पसमा उत्पन्न विवादले नयाँ मोड लिएको छ। क्याम्पस प्रमुख बसन्त कर्णमाथि कार्यालय सहयोगी रास बिहारी खत्वेले लगाएका भेदभाव र छुवाछुतसम्बन्धी उजुरीलाई प्रमुख कर्णले तथ्यहीन र मनगढन्ते बताउँदै सार्वजनिक खण्डन गरेका छन्। बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखामा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख कर्णले आफूविरुद्ध विभिन्न निकायहरू—जिल्ला प्रहरी कार्यालय धनुषा, इन्सेक मधेस …
उनैले दिँदै आएको पानी, नास्ता खाएपछि कसरी छुवाछुत ? : क्याम्पस प्रमुख कर्ण, क्याम्पसलाई बदनाम गराउने माफियाहरूको षड्यन्त्र !

जनकपुरधाम, भदौ १८ गते।
राराबा क्याम्पसमा उत्पन्न विवादले नयाँ मोड लिएको छ। क्याम्पस प्रमुख बसन्त कर्णमाथि कार्यालय सहयोगी रास बिहारी खत्वेले लगाएका भेदभाव र छुवाछुतसम्बन्धी उजुरीलाई प्रमुख कर्णले तथ्यहीन र मनगढन्ते बताउँदै सार्वजनिक खण्डन गरेका छन्।
बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखामा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख कर्णले आफूविरुद्ध विभिन्न निकायहरू—जिल्ला प्रहरी कार्यालय धनुषा, इन्सेक मधेस प्रदेश र राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश—मा दर्ता गरिएका उजुरीको कुनै आधार नभएको स्पष्ट पारे। उनले २४ वर्षदेखि क्याम्पसमा कार्यरत खत्वेसँग आफूसहित प्राध्यापक र कर्मचारीहरू नियमित रूपमा पानी, चिया तथा नास्ता खाने गरेको उदाहरण दिँदै छुवाछुतको गलत आरोप लगाइएको दाबी गरे।

प्रेस विज्ञप्तिमा प्रष्ट्याइएअनुसार, BSc. CSIT विभागमा अनुशासनविपरीत व्यवहार देखिएकाले कार्यालय सहयोगी खत्वेलाई मौखिक रूपमै अर्को फाँटमा सरुवा गरिएको हो। पछि स्थिति साम्य भएपछि पुन उहाँलाई सोही फाँटमा राख्न सक्ने प्रमुखले बताए। कर्णका अनुसार यो कदम दलित पहिचान वा सामाजिक पृष्ठभूमि हेरी नभई केवल कार्यक्षेत्रभित्रको असमझदारी व्यवस्थापनका लागि थियो। विज्ञप्तिमा दलित समुदायका अन्य कर्मचारीहरूसँग पनि समान व्यवहार हुँदै आएको र उनीहरूबाटै प्रायः क्याम्पसमा चिया–पानी ग्रहण गरिँदै आएको उल्लेख गरिएको छ।
क्याम्पस प्रमुख कर्णले आफू पदभार सम्हालेको सात महिनाभित्रै क्याम्पसमा जरा गाडेर बसेका अनियमितता, विशेष गरी परीक्षामा हुने नकल नियन्त्रणका लागि कदम चाल्दा केही समूह असन्तुष्ट भएको आरोप लगाए। ती समूहले आफूलाई पदच्युत गराउने उद्देश्यले खत्वेलाई प्रयोग गरेको उनको भनाइ थियो। “चार वर्षको कार्यकाल पूरा गर्नुपर्ने प्रमुखलाई सुरुवातमै दबाब सिर्जना गर्ने, मुखमा कालोमोसी गराउने र राजीनामा दिन बाध्य बनाउने प्रयास भइरहेको छ,” कर्णले भने।
उनले अझै भने, “भर्ना सिजन चलिरहेका बेला केही शैक्षिक तथा निजी क्याम्पस माफियाहरूले षड्यन्त्रपूर्वक मलाई बदनाम गराउने र क्याम्पसलाई कमजोर देखाउने प्रयत्न गरेका छन्।”

यसैबीच, उजुरीका विषयमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायहरूलाई आग्रह गर्दै कर्णले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
यस घटनाले राराबा क्याम्पसमा व्यवस्थापकीय निर्णय र सामाजिक आरोपबीचको संघर्ष सतहमा ल्याएको छ। अब सम्बन्धित निकायहरूले गर्ने छानबिनपछि मात्रै उजुरीमा उठाइएका गम्भीर आरोपहरूको सत्यता प्रष्ट हुने देखिन्छ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers