म दुखी छैन् तर मधेशी भावना उपेक्षा भए ‘सुनामी’ आउन सक्छ: देव नारायण मण्डल


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार देव नारायण मण्डलले आफू अहिले पार्टीभित्र सक्रिय राजनीतिक भूमिका निर्वाह गर्न नसक्ने भएकोले समानुपातिकमा सांसद नबनाएको प्रष्ट पारेका छन्।

उनले प्रारम्भदेखि नै रास्वपाका लागि आफ्नो ३० प्रतिशत समय मात्रै दिने सहमति गरेको स्मरण गराउँदै सो प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्।
मण्डलले मधेश छोडेर काठमाडौँ बस्न नसक्ने स्पष्ट पार्दै यस विषयलाई अन्यथा नलिन आग्रह गरेका छन्। “मलाई कुनै दुःख लागेको छैन, मैले गर्नुपर्ने भूमिका निर्वाह गरेँ, त्यसमै सन्तुष्ट छु,” उनले भने।
मधेश र मधेशवादप्रति रास्वपाको पछिल्लो व्यवहारबारे टिप्पणी गर्दै मण्डलले मधेशी समुदायको भावनालाई बेवास्ता गरिए गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका छन्। उनका अनुसार मधेशले मधेशी पहिचानकै आधारमा स्वतन्त्र उम्मेदवार बालेनलाई समर्थन गरेको र यदि यो भावना आहत भए “अर्को सुनामी आउन सक्छ।”
लुम्बिनीदेखि झापासम्मका मधेशी बाहुल्य क्षेत्रको भ्रमणबाट आफूले यही यथार्थ बुझेको उल्लेख गर्दै उनले यस विषयमा भ्रम नराख्न आग्रह गरेका छन्।


आरक्षणको सवालमा मण्डलले रास्वपा मात्र नभई संविधान निर्माणकालदेखि नै मधेशी समुदायलाई विभिन्न तहमा अल्पसंख्यक बनाइराख्ने प्रवृत्ति जारी रहेको आरोप लगाए। उनले समानुपातिक उम्मेदवार सूची बुझाउने क्रममा नै यस विषयमा ध्यान दिनुपर्ने भए पनि पार्टीले त्यसो नगरेको टिप्पणी गरे।
उनले पार्टीभित्रको प्राथमिकतामाथि पनि प्रश्न उठाउँदै, “जहाँ प्रवक्ता मिडियामा आउनुअघि बाह्य प्रदर्शनमा ध्यान दिनुपर्छ, त्यहाँ यस्ता गम्भीर विषयमा बहस हुने अपेक्षा गर्नु कठिन छ,” भन्ने धारणा व्यक्त गरे।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *