
राजेश कुमार कर्ण
जनकपुरधाम, वैशाख ९ गते।
स्वतन्त्र युवा प्रजातान्त्रिक संघको आयोजना तथा अध्यक्ष अरविन्द महतोको सभापतित्वमा जनकपुरधामस्थित महेन्द्र निधि सांस्कृतिक केन्द्रमा ‘नेपालको समृद्धिमा भारतको भूमिका’ विषयक एक विचार गोष्ठी सम्पन्न भयो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सम्बोधन गर्दै नेपालका विभिन्न प्रजातान्त्रिक आन्दोलनहरूमा भारतको महत्वपूर्ण भूमिका रहेको र भारतको स्वतन्त्रता सङ्ग्राममा समेत नेपाली नेताहरूको योगदान रहेको स्मरण गर्दै, चुरे संरक्षण र जलस्रोतको विकासका लागि नेपालले भारतसँग सहकार्य गर्नुपर्नेमा जोड दिए। चुरेको संरक्षण नगरे मधेश मरुभूमिमा परिणत हुने खतरा रहेको भन्दै कृषियोग्य भूमि बचाउन सबै सचेत हुनुपर्ने धारणा राखे।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई प्राकृतिक वरदानको रूपमा व्याख्या गर्दै, नेपालले अन्य मुलुकहरूलाई मात्र विरोध गरेर राष्ट्रवाद देखाउन खोज्दा समृद्धिमा अवरोध आएको बताए। उनले नेपालको जलस्रोत र पर्यटन क्षेत्रको सदुपयोग गर्न नसक्दा नेपाल विश्वका गरिब देशहरूमध्ये एक भएको टिप्पणी गरे। अध्यक्ष महत्वले नेपालमा भारतको विरोध गर्नु नै सबभन्दा ठूलो राष्ट्रवाद रहेको हुनाले नेपालको विकास को गति सुस्त रहेको प्रष्ट पारे ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको र नेपालको समृद्धिका लागि सहयोग आवश्यक रहेको बताउँदै राम जानकी अन्तर्राष्ट्रिय रंगशाला को निर्माण चाँडै हुने र यो सरकारले नै त्यसको लागि टेन्डर आह्वान गर्ने जानकारी दिए। यस बाहेक मधेश विकासका लागि भारत सरकारले केन्द्रीय तहमा समेत छुट्टै पहल गर्नुपर्ने विचार राखे।

नेपालका महावाणिज्यदूत देवी सहाय मिनाले भारतले मित्रराष्ट्र नीतिअन्तर्गत नेपाललाई आर्थिक, पूर्वाधार, उर्जा, स्वास्थ्य, शिक्षा, सामुदायिक विकास र आपतकालीन राहतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी गराए। उनले US$ 1.65 अर्ब बराबरका चारवटा ऋण सहायता (LOC) परियोजनाहरू, ५६३ भन्दा बढी सामुदायिक विकास परियोजनाहरू, २७,००० भन्दा बढी शैक्षिक छात्रवृत्ति, सडक, रेल, हवाई मार्ग विस्तार, पेट्रोलियम पाइपलाइनजस्ता पूर्वाधार परियोजनामा भारतको महत्वपूर्ण योगदान रहेको बताए।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले नेपाल र भारतबीच सदियौँदेखिको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई स्मरण गर्दै, भारतको सहयोग नेपालका लागि अपरिहार्य रहेको उल्लेख गरे। उनले नेपाल र भारत सरकारहरूले आपसी संवाद र पहलमार्फत सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल र भारतबीचको ‘रोटी–बेटी’ सम्बन्धलाई स्मरण गर्दै, लाखौँ नेपाली भारतमा रोजगारी गरिरहेको बताए। उनले मधेशमा बेटीरोटी, र पश्चिम नेपालमा नेपाल भारत बीच रोजीरोटी को सम्बन्ध रहेको व्याख्या गरिन्छ भन्दै भारत पक्षमा बोलेको भारतीय दलाल भन्ने प्रवृत्तिको विरोध गर्दै, सांस्कृतिक एकतालाई बढाउन भारतले Connectivity (सडक, रेल र हवाई मार्ग) मा थप लगानी गर्नुपर्ने सुझाव दिए।
मधेस प्रदेश नीति आयोगका पूर्व उपाध्यक्ष डा. भोगेन्द्र झाले भारतले नेपालमा पुर्याएको योगदानलाई स्मरण गर्दै, त्रिभुवन राजपथ निर्माण, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका भवनहरू, स्वास्थ्य र शिक्षा क्षेत्रमा अनुदान, १००० भन्दा बढी एम्बुलेन्स, स्कुल बसहरु वितरण, छात्रवृत्तिहरू उपलब्ध गराएको उल्लेख गरे। उनले मधेसलाई काठमाडौँ र दिल्ली दुबैले बेवास्ता गरेको गुनासो गर्दै, सहयोग नीतिमा जनता–जनताको सम्बन्धलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
नेपालका लागि भारतीय पूर्व राजदूत डा. लोकराज बरालले नेपालका सम्भावनाहरू पहिचान गरेर त्यस क्षेत्रमा लगानी गरी भारतले नेपाललाई समृद्ध बनाउने दिशामा थप सहयोग गर्नुपर्ने बताए। उनले विशेषगरी दलित समुदायको उत्थानमा विशेष ध्यान दिनुपर्ने बताए।
मधेस प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले मधेस प्रदेशका विश्वविद्यालयहरूलाई भारतका विश्वविद्यालयहरूसँग सम्बन्धन गराएर शैक्षिक समृद्धि ल्याउन सकिने धारणा राखे। साथै, भारतले नेपालमा सूचना प्रविधि (आईटी) कलेजहरू स्थापना गर्न सके युवा रोजगारीमा टेवा पुग्ने बताए।
कार्यक्रममा राजनीतिक शास्त्रका प्राध्यापक डा. उद्धव पोखरेलले समृद्धि भन्नाले सामाजिक राजनीतिक आर्थिक सहितका विभिन्न पक्षहरुलाई समेत समेटेकोले नेपालको सम्पूर्ण समृद्धिमा भारतीय पक्षको सहयोग हुनुपर्ने अपेक्षा व्यक्त गरे।
कार्यक्रमको समापनमा वक्ताहरूले नेपाल र भारतबीचको मित्रवत् सम्बन्धलाई अझ सुदृढ गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको यात्रालाई थप गहिरो बनाउन दुई देशबीच निरन्तर सहकार्य र संवाद आवश्यक रहेको सन्देश दिएका थिए।
कार्यक्रमको संचालन जनकपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष जितेन्द्र महासेठले गरेका थिए।