जनकपुरधाम, बैशाख ९ गते ।
सबैला नगरपालिका, जनकपुरधाम — बालबालिका तथा किशोरीको सशक्तिकरण र बाल विवाह न्यूनीकरणका लागि सबैला नगरपालिका र शहीदनगर नगरपालिकामा सञ्चालन हुँदै आएको सशक्त वालिका परियोजना (न्क्क्) अन्तर्गत सबैला नगरपालिका वडा नम्बर ११ को इनर्वा टोलमा एक महत्वपूर्ण अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ।
यो कार्यक्रम प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले सञ्चालन गरिरहेको छ, जसले प्रारम्भिक वाल विकास र संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ। परियोजना अन्तर्गत सबैला नगरपालिकाका वडा नं ९, १०, ११, १३ र शहीदनगर नगरपालिकाको वडा नं ७ मा कार्यक्रम विस्तार गरिएको छ।
किशोरी समूहहरुको गठन र अन्तरपुस्ता संवाद

परियोजना लागू भएका वडाहरुमा दुई–दुई वटा गरी कूल १० वटा किशोरी समूह गठन गरिएका छन्। ११ देखि १९ वर्ष उमेर समूहका किशोरीहरू, उनीहरूका आमा–बुवा र हजुरबुवा–हजुरआमाहरुलाई समेटेर अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले पुस्ता अनुसारको विचार, भावना र आवश्यकताको आदानप्रदान गरी आपसी समझदारी बढाउने लक्ष्य राखेको छ।
किशोरी समूहहरूमा स्टिक एन्ड स्टोन सत्र प्रत्येक महिनामा चार पटक र सकारात्मक अभिभावकत्व सत्र प्रत्येक महिनामा एक पटक सञ्चालन गरिन्छ। साथै, प्रत्येक तीन महिनामा एक पटक अन्तरपुस्ता संवाद सत्रको आयोजना गरिन्छ, जसबाट पुस्ताबीचका सोच र दृष्टिकोणमा सहमति र समझदारी विकसित गरिन्छ।
बालविवाहबारे सशक्त जानकारी र छलफल
कार्यक्रमको सहजकर्ताको भूमिका निभाउँदै सामुदायिक प्रशिक्षक रविता यादवले बालविवाह, चाँडो विवाह र जबरजस्ती विवाह के हुन्, त्यस्ता विवाहले शारीरिक, मानसिक, सामाजिक र कानुनी दृष्टिले के कस्ता समस्या उत्पन्न गर्छन् भन्ने विषयमा सहभागीहरूसँग गहन छलफल गरिन्। साथै, यस्तो अवस्था आउँदा कुन–कुन निकाय वा सरोकारवालाबाट सहयोग लिन सकिन्छ भन्ने जानकारीसमेत दिइयो।

सकारात्मक अभिभावकत्व र सामाजिक परिवर्तनका पहल
जानकी महिला जागरण समाजका कार्यक्रम अधिकृत खगेन्द्र दहालले किशोर–किशोरीहरूसँग अभिभावकले साथी जस्तै व्यवहार गरी संवाद गर्नाले पुस्ताबीचको दुरी घट्ने र विभिन्न प्रकारका हिंसा तथा सामाजिक विकृति कम गर्न सकिने धारणा व्यक्त गरे।
त्यस्तै, कार्यपालिका सदस्य रिंकु कुमारी महराले हाल भागि विवाहका घटना बढिरहेको उल्लेख गर्दै किशोरीहरूलाई सही र गलत छुट्याउने क्षमता विकास गराउन यस्ता कार्यक्रम उपयोगी रहेको बताइन्। साथै, आमा र हजुरआमाहरूले समेत बालविवाहसम्बन्धी जानकारी राखेमा क्रमशः समस्या कम हुने विश्वास व्यक्त गरिन्।
सक्रिय सहभागिता र प्रतिवद्धता
उक्त कार्यक्रममा सबैला वडा नं. ११ का करिब ४५ जना सहभागी भएका थिए। कार्यक्रमको अन्त्यमा सहभागी सबैले बालविवाह नगर्ने र हुन नदिनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।