जसपा नेपालको मलेसियामा प्रवासी समिति गठन हुने , अध्यक्ष यादव मलेसिया जाने

Share on Social Media

क्वालालम्पुर, मलेसिया, जेष्ठ २ गते ।
नेपाली प्रवासी समुदायमा राजनीतिक सक्रियता थप गहिरिँदै गएको वर्तमान अवस्थामा जनता समाजवादी पार्टी नेपालले मलेसियामा आफ्नो संगठन विस्तारको तयारी गरेको छ। यसै सिलसिलामा, पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव २०२५ जुन १ मा मलेसिया आउन लागेका छन्। क्वालालम्पुरस्थित होटेल ग्रान्ड कोन्टिनेन्टल, जलान बेलिआ, चोवकिट मा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने कुरा समाचार स्रोत जनाएको छ।

नेपाली श्रमिकहरूसँग प्रत्यक्ष संवाद र संगठन विस्तारको तयारी
यस कार्यक्रमको प्रमुख उद्देश्य मलेसियामा रहिरहेका नेपाली श्रमिकहरूसँग प्रत्यक्ष संवाद गर्नुका साथै “नेपाली समाज मलेसिया प्रवास समिति” गठन गर्नु हो। जसपा नेपालले प्रवासी नेपाली समुदायलाई संगठनात्मक रूपमा आवद्ध गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीति अनुरूप यो कदम चालेको हो।

उपस्थित हुने विशिष्ट नेता तथा व्यक्तित्वहरू
कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, तथा प्रख्यात विदेश नीति विश्लेषक डा. निश्चलनाथ पाण्डे लगायतका शीर्ष नेताहरूको उपस्थिति रहने कुरा यस कार्यक्रमको संयोजक विनोद यादवले जानकारी दिनुभयो।

कार्यक्रम संयोजकको आग्रह
मलेसिया स्थित कार्यक्रम संयोजक विनोद यादवले मलेसियामा रहेका सम्पूर्ण नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी र अन्य पेशामा संलग्न नागरिकहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउनका लागि अनुरोध गरेका छन्। उनले राजनीतिमा संलग्न नरहेका तर अध्यक्ष उपेन्द्र यादवसँग भेट गर्न चाहने नेपालीहरूलाई पनि आउन आग्रह गर्दै, “यो अवसर ऐतिहासिक र प्रेरणादायी बन्न सक्छ,” भनेका छन्।

समाज सेवाको प्रतिबद्धता
संयोजक यादवले आफू विगतदेखि नै मलेसियामा रहेका नेपालीहरूको हितमा काम गर्दै आएको बताउँदै भने, “नेपाली श्रमिकहरूलाई कुनै समस्या परेमा म सधैँ सहयोग गर्न तयार छु। यदि कसैलाई आपत परेको खण्डमा मसँग सम्पर्क गर्न सक्नुहुन्छ।”
नेपाली समाज मलेसिया प्रवास समितिको औपचारिक गठन तथा नेपाली श्रमिक समुदायसँगको प्रत्यक्ष अन्तरक्रियाले मलेसियामा रहेका लाखौं नेपालीहरूका समस्यालाई नजिकबाट बुझ्न र सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। जसपा नेपालको यो कदमले नेपाली प्रवासी राजनीति र सामाजिक संगठानमा नयाँ अध्याय सुरु गर्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *