काठमाडौं , जेठ ७ गते ।
इजरेलले करिब ११ सातापछि गाजामा मानवीय सहयोग सामग्री बोकेका लरीहरूलाई प्रवेशको अनुमति दिएको भए पनि ती सामग्री हालसम्म वितरणमा नपुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
इजरेली अधिकारीहरूका अनुसार मङ्गलवार ९३ वटा ट्रक, जसमा पिठो, शिशुका खानेकुरा, औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्री थिए, ती ट्रकहरू केरम शालोम नाकाबाट गाजामा प्रवेश गरेका थिए।

तर, संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफान डुजारिकले ती सामग्रीहरू अहिलेसम्म स्थानीय भण्डारण केन्द्रसम्म पनि पु¥याउन नपाइएको जानकारी दिएका छन्। उनका अनुसार सहयोग वितरणका लागि खटिएको टोलीले इजरेली पक्षबाट अनुमति पर्खँदै कैयौं घण्टा कुरेको थियो, तर अन्ततः “दुर्भाग्यवश ती सामग्रीहरु गन्तव्यमा पुर्याउन सकिएन।”
गाजामा यतिबेला अत्यावश्यक राहतको चरम आवश्यकता रहेको र सहयोग ढिलाइ हुनु थप मानवीय संकट निम्त्याउन सक्ने चेतावनी अन्तर्राष्ट्रिय समुदायले दिँदै आएको छ।