काठमाडौं, जेठ १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको सार्थकता जनताको दैनिक जीवनमा अनुभूत नहुन्जेलसम्म यसको मूल्य र उद्देश्य अधुरो रहन्छ भन्दै शासकीय शैली, राजनीतिक चरित्र र नीतिगत सोचमा गम्भीर रूपान्तरण आवश्यक रहेको स्पष्ट सन्देश दिएका छन्। गणतन्त्र दिवस–२०८२ को अवसरमा बुधबार जारी शुभकामना सन्देशमार्फत राष्ट्रपतिले वर्तमान राजनीतिक अभ्यासप्रति गहिरो चिन्ता प्रकट गर्दै ढिलासुस्ती, अनियमितता …
गणतन्त्रलाई जनजीवनसँग जोड्न शासकीय चरित्र रूपान्तरण आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं, जेठ १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको सार्थकता जनताको दैनिक जीवनमा अनुभूत नहुन्जेलसम्म यसको मूल्य र उद्देश्य अधुरो रहन्छ भन्दै शासकीय शैली, राजनीतिक चरित्र र नीतिगत सोचमा गम्भीर रूपान्तरण आवश्यक रहेको स्पष्ट सन्देश दिएका छन्।

गणतन्त्र दिवस–२०८२ को अवसरमा बुधबार जारी शुभकामना सन्देशमार्फत राष्ट्रपतिले वर्तमान राजनीतिक अभ्यासप्रति गहिरो चिन्ता प्रकट गर्दै ढिलासुस्ती, अनियमितता र बेथिति गणतन्त्रका प्रमुख शत्रु भएको टिप्पणी गरेका छन्। उनले राजनीतिक नेतृत्व, सार्वजनिक प्रशासन र नीति निर्माणमा देखिएको कमजोरीले जनतामा निराशा फैलाएको भन्दै सुधारको ऐतिहासिक आवश्यकता औंल्याए।
“गणतन्त्र केवल ऐतिहासिक उपलब्धि होइन, यो नागरिकको जीवनसँग जोडिनुपर्ने व्यवहारिक शासन प्रणाली हो,” राष्ट्रपति पौडेलले भने, “यदि हामीले आफ्ना चरित्र, शैली र दृष्टिकोण परिमार्जन गर्न सकेनौं भने, जनताको विश्वास र आशा गुमिनेछ।”
न्याय, सुशासन र समावेशितामा जोड
राष्ट्रपतिले शुभकामना सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता सुशासन, सामाजिक न्याय, रोजगारी, अवसर र स्रोतसाधनको न्यायोचित वितरणमा आधारित हुने बताए। उनका अनुसार, जनताको जीवनमा आशाको उज्यालो छर्ने कार्य राजनीतिक नाराभन्दा परको गम्भीर शासनिक अभ्यास हो।
“जबसम्म प्रत्येक नागरिकले सुशासनसहितको समृद्धि महसुस गर्दैन, तबसम्म हामीले रगत र पसिनाले सिँचिएको गणतन्त्रको लक्ष्य प्राप्त गरेका हुँदैनौं,” उनले उल्लेख गरे।
राष्ट्रपतिले राज्यका स्रोतसाधनहरूको अधिकतम प्रयोग गर्दै कृषि, पर्यटन, ऊर्जालगायतका उत्पादनशील क्षेत्रलाई सबल बनाउनु वर्तमानको अनिवार्य कार्यभार भएको बताएका छन्। “स्रोतको सही उपयोग, पारदर्शिता र दीर्घकालीन योजना बिना समृद्धि सम्भव छैन,” उनले जोड दिए।
गणतन्त्र : केवल संरचना होइन, आचरण पनि हो
राष्ट्रपतिले गणतन्त्रलाई केवल राजनीतिक संरचना होइन, आचरण, नैतिकता र मूल्यसहितको जीवनशैलीको रूपमा हेर्न आग्रह गरे। “गणतन्त्रले हामीलाई लोकतान्त्रिक मूल्य, समावेशी समाज र साझा राष्ट्र निर्माणको बाटो देखाएको छ,” उनले भने, “यसको संरक्षण र संवर्द्धन हाम्रो साझा ऐतिहासिक दायित्व हो।”
उनले जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधताबीच एकता कायम गर्दै समावेशी समाजवादको बाटोमा अग्रसर हुन सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल र नागरिक समाजलाई आह्वान गरे।
एकताको बलमा सशक्त गणतन्त्र निर्माणको संकल्प
राष्ट्रपतिले सन्देशको अन्त्यमा जनताको संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रलाई सबैले अपनत्वका साथ जोगाउनुपर्ने बताए। “गणतन्त्रको मर्यादा र मान्यताहरूको रक्षा गर्दै हामी सामाजिक न्याय, विकास र समृद्धिको मार्गमा अघि बढ्न एकजुट हुनुपर्छ,” राष्ट्रपति पौडेलले भने, “आजको दिनले हामीलाई यही गम्भीर संकल्पको स्मरण गराउँदैछ।”
Subscribe to Our Newsletter
Keep in touch with our news & offers