काठमाडौँ जेठ १५ गते ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व, संरक्षण र रूपान्तरणका लागि परिवर्तनकारी र गणतान्त्रिक शक्तिबीच सशक्त सहकार्य अपरिहार्य भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री दाहालले वर्तमान व्यवस्थालाई संस्थागत गर्दै जनताको जीवनस्तरमा ठोस रूपान्तरण ल्याउनु गणतन्त्रवादी शक्तिहरूको प्रमुख दायित्व भएको उल्लेख गरे।
“गणतन्त्र केवल एउटा राजनीतिक संरचना मात्र होइन, यो जनताको सपना, त्याग र बलिदानबाट आएको परिवर्तनको ऐतिहासिक उपज हो,” प्रचण्डले भने, “यसलाई संस्थागत गर्न विचार, व्यवहार र नीतिमा गणतन्त्रको प्रतिबिम्ब हुन जरुरी छ।”
उनले माओवादी जनयुद्ध, जनआन्दोलन तथा अन्य लोकतान्त्रिक संघर्षको जगमा स्थापित गणतन्त्रको सार्थकता त्यसबेला प्रमाणित हुने बताए जब राज्य संयन्त्र जनताको पक्षमा क्रियाशील हुन्छ। “गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि हामी सबै परिवर्तनकारी शक्तिहरूबीच गहिरो एकता र साझा रणनीतिमा अगाडि बढ्नुपर्छ,” उनले जोड दिए।
संविधानको कार्यान्वयन र जीवनस्तरमा रूपान्तरणको आह्वान
अध्यक्ष प्रचण्डले संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनमार्फत जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा सकारात्मक रूपान्तरण ल्याउनु आवश्यक रहेको बताए। “राजनीतिक परिवर्तनपछि अब हामी समावेशी विकास र सामाजिक न्यायको चरणमा प्रवेश गरिसकेका छौं,” उनले भने, “अब कार्यनीतिक ढंगबाट जनताको अवस्था बदल्न केन्द्रित हुनुपर्छ।”
उनले गणतन्त्रवादको पक्षमा उभिने शक्तिहरूलाई यथास्थिति र प्रतिगमनको विरुद्ध स्पष्ट र ठोस रूपमा सङ्घर्ष गर्न आह्वान गरे। प्रचण्डका अनुसार गणतन्त्रलाई जीवन्त राख्न यसको सोच, शैली र आचरण जनजीवनसँग प्रत्यक्ष जोडिनुपर्छ।
संघर्ष र बलिदानको सम्मान
प्रचण्डले गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र जनआन्दोलनमा समर्पित सहिद, बेपत्ता तथा घाइते योद्धाहरूको त्यागप्रति श्रद्धाञ्जली अर्पण गर्दै ती बलिदानले स्थापना गरेको व्यवस्थालाई जनपक्षीय बनाउनु अहिलेको कार्यभार भएको बताए। “गणतन्त्र दिवस हामीलाई विगतको बलिदान सम्झन र भविष्यप्रतिको प्रतिबद्धता दोहोर्याउने अवसर हो,” उनले भने।
अन्त्यमा, अध्यक्ष दाहालले गणतन्त्र दिवसले सबै नेपालीलाई परिवर्तनको लक्ष्यप्रति एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरे।