बर्दिबास, जेठ १७ गते ।
नेकपा एमाले मधेश प्रदेशले पार्टी संगठन सुदृढीकरणका लागि ६० हजार कार्यकर्तालाई प्रशिक्षण दिने तयारी गरेको छ। केन्द्रीय स्कूल विभागको सहकार्यमा प्रदेश कमिटीले उक्त लक्ष्यसहितको योजना अघि सारेको प्रदेश सचिव मनोज पौडेलले जानकारी दिए।
पार्टी प्रशिक्षणसम्बन्धी कार्यशाला १६ र १७ जेठमा बर्दिबासमा सम्पन्न भएको थियो। उक्त कार्यशालामा पार्टी उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीको पनि सहभागिता थियो।
कार्यशालाले माक्र्सवादी दर्शन, समाजवादी अर्थतन्त्र र समाजवादको आधारजस्ता विषयमा गहिरो छलफल गर्दै आगामी प्रशिक्षण कार्यक्रमको खाका तयार गरेको छ। एमालेको प्रदेश कमिटीले यस अभियानलाई संगठन निर्माणको आधारस्तम्भका रूपमा लिएको जनाएको छ।