खोटाङ, हलेसी , जेठ १७ गते । — नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र समावेशी प्रतिनिधित्वका सवालमा आफू सधैँ किराँत समुदायसँग एकाकार भएर उभिएको स्पष्ट पारेका छन्। उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचनालाई आत्मसात गर्दै सबै समुदायको समान अधिकार सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए। कोइरालाले खोटाङको ऐतिहासिक र धार्मिक …
डा.कोइरालाको प्रतिबद्धता : “पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा किराँत समुदायसँगै छु”

खोटाङ, हलेसी , जेठ १७ गते ।
—
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र समावेशी प्रतिनिधित्वका सवालमा आफू सधैँ किराँत समुदायसँग एकाकार भएर उभिएको स्पष्ट पारेका छन्। उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचनालाई आत्मसात गर्दै सबै समुदायको समान अधिकार सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए।
कोइरालाले खोटाङको ऐतिहासिक र धार्मिक स्थल हलेसीमा आयोजित “तुवाचुङ् डे” कार्यक्रममा बोल्दै उक्त धारणा राखेका हुन्। किराँत समुदायको परम्परागत चाड साकेला उभौली को अवसरमा तुवाचुङ् जायजुम संरक्षण समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सदैव द्धन्द अन्त्य गर्ने र पहिचान स्थापित गर्ने बाटोमा विश्वास गर्दै आएको बताए।

“संविधान निर्माणका क्रममा पनि मैले समावेशी र समानुपातिक प्रतिनिधित्वको आवाज उठाएको थिएँ,” कोइरालाले स्मरण गरे, “संविधानमा समावेशी मूल्य, मान्यता स्थापित गर्न कांग्रेसले अग्रसर भूमिका खेलेको छ।”
कार्यक्रमको उद्घाटन गर्दै डा. कोइरालाले हलेसी महादेव मन्दिरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई विश्वसामु चिनाउने उद्देश्यले यसलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल गर्ने प्रतिबद्धता पनि जनाए।
“हलेसी महादेव हिन्दू, बौद्ध र किराँत तीनै धर्मावलम्बीको आस्थाको केन्द्र हो,” उनले भने, “यसको महत्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन र पर्यटन प्रवर्द्धन गर्न राज्यले विशेष ध्यान दिनुपर्छ। म स्वयं पनि यसको पहलमा लाग्नेछु।”
कार्यक्रममा स्थानीय समुदायका अगुवा, नागरिक समाजका प्रतिनिधि, संस्कृतिविद् तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। तुवाचुङ् डे कार्यक्रममा किराँत संस्कृतिको विविध सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्य, गीत, भेषभूषा तथा खाद्य परिकारमार्फत समुदायको पहिचान उजागर गरिएको थियो।
डा. कोइरालाको भनाइले पहिचानको राजनीति मात्र नभई समावेशी राष्ट्र निर्माणमा अग्रगामी सोच आवश्यक रहेको सन्देश दिएको भन्दै धेरैले स्वागत गरेका छन्। किराँत समुदायका प्रतिनिधिहरूले कोइरालाको समर्थनलाई सकारात्मक संकेतका रूपमा लिएका छन्।

यसरी, विविधतामा एकताको सन्देश बोकेको कार्यक्रममा डा. कोइरालाको उपस्थितिले राजनीतिक नेतृत्व र समुदायबीचको सम्बन्ध झनै मजबुत बनाउने अपेक्षा गरिएको छ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers