महोत्तरी, जेष्ठ १८ गते ।शिक्षामा समानता र विद्यार्थीको आत्मबल वृद्धि गर्ने उद्देश्यसहित मटिहानी नगरपालिका वडा नं. १ मा आज विशेष कार्यक्रमको आयोजना गरी श्री राष्ट्रिय माध्यमिक विद्यालय, सिरसियाका कक्षा १० सम्म अध्ययनरत ४०५ जना छात्र–छात्रालाई विद्यालय पोशाक वितरण गरिएको छ। नगरपालिकाको स्वीकृत वडास्तरीय वार्षिक कार्यक्रम अन्तर्गत भएको यो पोशाक वितरण कार्यक्रममा नगरप्रमुख हरि प्रसाद मण्डल …
मटिहानीमा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

महोत्तरी, जेष्ठ १८ गते ।
शिक्षामा समानता र विद्यार्थीको आत्मबल वृद्धि गर्ने उद्देश्यसहित मटिहानी नगरपालिका वडा नं. १ मा आज विशेष कार्यक्रमको आयोजना गरी श्री राष्ट्रिय माध्यमिक विद्यालय, सिरसियाका कक्षा १० सम्म अध्ययनरत ४०५ जना छात्र–छात्रालाई विद्यालय पोशाक वितरण गरिएको छ।

नगरपालिकाको स्वीकृत वडास्तरीय वार्षिक कार्यक्रम अन्तर्गत भएको यो पोशाक वितरण कार्यक्रममा नगरप्रमुख हरि प्रसाद मण्डल र वडा नं. १ का अध्यक्ष शिव शंकर रायले संयुक्त रूपमा पोशाक वितरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मण्डलले विद्यार्थीलाई लक्षित यस प्रकारको सहयोगले उनीहरूको विद्यालयप्रति आकर्षण बढ्ने र शिक्षामा प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। “शिक्षा हरेक बालबालिकाको अधिकार हो, र यस्तो पहलले कुनै पनि आर्थिक अवस्था भएका विद्यार्थीलाई समान अवसरको अनुभूति गराउँछ,” उहाँले भन्नुभयो।
विद्यालयका प्रधानाध्यापक रामश्रेष्ठ ठाकुरका अनुसार बालविकासदेखि कक्षा १० सम्म अध्ययनरत १९६ छात्र र २०९ छात्रा गरी जम्मा ४०५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो। उहाँले विद्यालयमा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि यस्तो कार्यक्रमले ठुलो राहत पुर्याउने उल्लेख गर्नुभयो।
पोशाक प्राप्त गरेपछि कक्षा १० की छात्रा अनुष्का यादवले भनिन्, “नयाँ पोशाक पाएपछि मलाई अझ जिम्मेवारीसाथ पढ्न प्रेरणा मिलेको छ।” त्यस्तै कक्षा १० का अर्का विद्यार्थी विराट झाले पनि आफूहरूलाई यस्तो सहयोगले आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका छन्।
पोशाक वितरण कार्यक्रममा मटिहानी नगरपालिकाका शिक्षा शाखा प्रमुख श्रीश कुमार मिश्र, विद्यालय व्यवस्थापन समितिका सदस्य बेचन मण्डल, लोकतान्त्रिक समाजवादी पार्टीका स्थानीय नेता मुसाफिर सहनी, विद्यालयका शिक्षक–शिक्षिका, स्थानीय अभिभावकहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा खुशीको माहोल सिर्जना गरेको छ भने विद्यालय र नगरपालिकाबीचको समन्वयलाई समेत मजबुत बनाएको छ। यस्ता कार्यक्रमले शैक्षिक रुपान्तरणमा सकारात्मक प्रभाव पार्ने विश्वास अभिव्यक्त गरिएको छ।


Subscribe to Our Newsletter
Keep in touch with our news & offers