काठमाडौं, जेठ १७ — संघीय समाजवादी पार्टीले आज काठमाडौंमा सम्पन्न केन्द्रीय पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकबाट तीनवटा महत्वपूर्ण राजनीतिक निर्णय पारित गरेको छ। अध्यक्ष रिजवान अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले हालको राजनीतिक परिस्थिति, सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै पार्टीको रणनीतिक दिशालाई स्पष्ट पारेको छ। सरकारको नीति तथा कार्यक्रमप्रति असन्तोष बैठकले हालै सरकारले सार्वजनिक …
संघीय समाजवादी पार्टीको केन्द्रीय बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णयसहित संगठन सुदृढीकरणमा जोड

काठमाडौं, जेठ १७ —
संघीय समाजवादी पार्टीले आज काठमाडौंमा सम्पन्न केन्द्रीय पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकबाट तीनवटा महत्वपूर्ण राजनीतिक निर्णय पारित गरेको छ। अध्यक्ष रिजवान अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले हालको राजनीतिक परिस्थिति, सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै पार्टीको रणनीतिक दिशालाई स्पष्ट पारेको छ।
सरकारको नीति तथा कार्यक्रमप्रति असन्तोष

बैठकले हालै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई समग्र उत्पीडित समुदायहरूको हितमा नपरेको ठहर गर्दै आपत्ति जनाएको छ। पार्टीको ठहरमा मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, निषाद, पछाडि पारिएका वर्ग र आर्थिक रूपले कमजोर वर्गहरूको जीवनस्तर उकास्ने खालको दृष्टिकोण नअपनाइएको भन्दै ती कार्यक्रमहरू तत्काल संशोधन गर्न सरकारसँग माग गरिएको छ।
बैठकको दोस्रो निर्णयमा हाल संघीय लोकतान्त्रिक मूल्य–मान्यतामाथि बढ्दो प्रतिगमन र धार्मिक अतिवादको खतरातर्फ संकेत गरिएको छ। यस्तो सन्दर्भमा उत्पीडित समुदायहरूको आवाजलाई बलियो बनाउन देशभर ‘जनजागरण तथा संगठन सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गरिएको छ।
प्रतिगमनविरुद्ध जनजागरण अभियान घोषणा
उक्त अभियान अन्तर्गत विभिन्न संगठनात्मक बैठक र भेलाहरूको तालिका तय गरिएको छ:
- सूचना तथा सञ्चार विभाग – जेठ २९
- केन्द्रीय संगठन विभाग – जेठ २८
- केन्द्रीय महिला विभाग – असार १०
- युवा राष्ट्रिय भेला – श्रावण १०
- बागमती प्रदेश भेला – श्रावण १५
- समाजवादी विद्यार्थी संगठन – श्रावण २९
- जनसांस्कृतिक विभाग भेला – भदौ २०
त्यस्तै, मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशअन्तर्गतका ३० जिल्लामा जिल्लास्तरीय संगठन निर्माण, सदस्यता वितरण, पार्टी प्रवेश तथा तालिम कार्यक्रमहरू सञ्चालन गरिनेछ। भदौ २०८२ भित्र गाउँ, वडा, नगरपालिका र पालिकास्तरसम्म संगठन विस्तार र पुनर्गठनको लक्ष्य तय गरिएको छ।
संघीय गठबन्धनको घोषणालाई ऐतिहासिक उपलब्धि

बैठकको तेस्रो निर्णयमा जेठ १५ गते जनकपुरधाममा सम्पन्न ‘संघीय गणतान्त्रिक गठबन्धन’ को घोषणा समारोहलाई ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ। अध्यक्ष अन्सारीको नेतृत्वमा आयोजित उक्त समारोहले उत्पीडित वर्गहरूको प्रतिनिधित्व गर्ने शक्तिशाली वैकल्पिक धारा निर्माणको संकेत दिएको ठहर गरिएको छ।
पार्टीले उक्त गठबन्धनलाई विस्तार गर्दै देशभरका अग्रगामी, संघीय, गणतान्त्रिक शक्तिहरूलाई समेट्दै अघि बढ्नुपर्नेमा जोड दिएको छ। पार्टीको दृष्टिमा यो गठबन्धन सहिदहरूको सपना साकार पार्न र जनताको पक्षमा गणतन्त्रलाई मजबुत बनाउन सशक्त प्रयासका रूपमा प्रस्तुत भएको छ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers