नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको केन्द्रिय समिति बैठकमा तीखा र गम्भीर प्रश्नहरू उठाउँदै नेतृत्वसँग स्पष्ट जवाफ माग गरेका छन् ।
राजेश कुमार कर्ण
ललितपुर, असार १६ गते ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको केन्द्रिय समिति बैठकमा तीखा र गम्भीर प्रश्नहरू उठाउँदै नेतृत्वसँग स्पष्ट जवाफ माग गरेका छन् । बैठकको सुरुमै सभापति शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजाने भनाइ राखेपछि डा. कोइरालाले त्यसलाई स्वागत गर्दै “पार्टी एकढिक्का होस् भन्नेमा म सुरुदेखि नै दृढ छु,” भने ।

महाधिवेशनको अनिश्चितता र नेतृत्वको मौनता
कोइरालाले १५ औं महाधिवेशन यही २०८२ को मंसिरमै गर्नुपर्ने अडान पुनः दोहोर्याए । “यदि हुन सक्दैन भने किन सक्दैन भन्ने जवाफ सभापतिज्यू र पदाधिकारीहरूले चित्त बुझ्दो तरिकाले दिनुपर्छ,” उनले भने । पदाधिकारीहरू महाधिवेशनको तयारीमा लागिपरेको देखिए पनि त्यसको परिणाम शंकास्पद रहेको उनको संकेत थियो ।
२०७९ को निर्वाचनमा माओवादीसँग गरिएको गठबन्धन, पछिल्लो एमालेसँगको सत्ता साझेदारी र संविधान संशोधनजस्ता विषयमा डा. कोइरालाले नेतृत्वमाथि कडा प्रश्न उठाए । “म आफैँ कांग्रेस–एमाले सरकारको पक्षमा थिएँ, तर नेतृत्व किन एमालेलाई सुम्पियो ? संविधान संशोधनको एजेण्डा कहाँ हरायो ?” भनेर उनले देउवालाई जवाफदेही बनाउने प्रयास गरे ।
अनुशासन समिति र विभेदको गुनासो

अनुशासन समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै कोइरालाले समितिमा बाह्य, अनुभवी व्यक्तिहरू राख्नुपर्ने माग गरे । उनले एउटै प्रकृतिका विषयमा कसैलाई चेतावनी र कसैलाई निलम्बन गर्नुले समितिको विश्वसनीयता गुमेको बताए । पर्सा–१ र बारा–२ का घटनाहरू उदाहरण दिँदै उनले गम्भीर ढंगले नेतृत्व निर्णयको समीक्षा गर्न आग्रह गरे ।
वि.पी. कोइरालाको शालिक अनावरण जस्ता कार्यमा आफ्नै समुहका नेताहरूले असहयोग गरेको अनुभव सुनाउँदै उनले भने, “बिपीको नाममा गरिएको कार्यक्रममा बहिष्कार गर्नु कांग्रेसीपन होइन । अनुशासन लाग्ने हो कि होइन ?” यस्तो व्यवहारले पार्टीको आदर्शमाथि आघात पुगेको उनले टिप्पणी गरे ।
भातृ संगठनमा अव्यवस्थाः नेविसंघ, तरुण दल र महिला संघ संकटमा
भातृ संगठनहरूमा देखिएको अलमलप्रति कोइरालाले नेतृत्वको ध्यानाकर्षण गराए । “अधिवेशन गराउने जिम्मा पार्टीले लिनुपर्छ । अनसन र आन्दोलन भइरहेका छन्, त्यसलाई सम्बोधन गर्नुपर्छ,” उनले भने । महिला संघको अधिवेशनसम्बन्धी कानुनी, संरचनागत जटिलताहरू र इलाममा भएको हिंसात्मक घटनाप्रति पनि उनले कडा चिन्ता व्यक्त गरे ।
दलित संघको बिघटन र संगठनात्मक मनपरीमाथि प्रश्न
नेपाल दलित संघका ४२ जिल्लाहरू बिघटन गरिएका खबरप्रति शंका व्यक्त गर्दै उनले “जिल्ला बिघटनको अधिकार कसले दियो ?” भन्दै पार्टीको औपचारिक प्रक्रिया नअपनाइएको आरोप लगाए ।
‘भद्रता कमजोरी होइन, चेतावनी हो’
उनले आफ्नो संयम, सहिष्णुता र अहंकारविहीन भूमिकालाई कमजोरी ठानिएको टिप्पणी गर्दै भने, “गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भन्ने मेरो उद्देश्य हो । तर अब सहनशीलतालाई कमजोरी ठान्ने सोचको अन्त्य हुनुपर्छ ।”
डा. शेखर कोइरालाको सम्बोधन नेपाली कांग्रेसभित्र गहिरो असन्तुष्टि, सुदृढ गुटीय प्रभाव, कमजोर निर्णय प्रक्रिया र संगठनात्मक अनिश्चयताको प्रतिविम्ब हो । यो सम्बोधन केवल नेतृत्वप्रति असहमति मात्र होइन, संस्थागत आत्मसमीक्षा र मार्गदर्शनको आग्रह पनि हो ।
यदि पार्टीले यस्ता आन्तरिक आवाजलाई सुनेन भने, आगामी महाधिवेशनसम्म पुग्दा कांग्रेसभित्र गहिरो संगठनात्मक संकट देखिन सक्ने संकेत यो सम्बोधनले दिन्छ ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers