महोत्तरी, श्रावण ५ गते —महोत्तरी जिल्लाको मटिहानी–७ स्थित ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण लक्ष्मी सागरमा विगत पाँच वर्षदेखि निरन्तर चलिरहेको श्री लक्ष्मीनारायण भगवानको साप्ताहिक संध्या आरतीको पाँचौं वार्षिक विशेष उत्सव तथा महाआरती समारोह भव्य रुपमा सम्पन्न भएको छ। धार्मिक वातावरण र जनसहभागिताले भरिएको उत्सव श्री लक्ष्मी सागर तथा आरती व्यवस्थापन समिति, मटिहानीको आयोजनामा सम्पन्न उक्त …
मटिहानीमा भव्यतापूर्वक सम्पन्न भयो श्री लक्ष्मीनारायण भगवानको पाँचौं वार्षिक महाआरती समारोह

महोत्तरी, श्रावण ५ गते —
महोत्तरी जिल्लाको मटिहानी–७ स्थित ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण लक्ष्मी सागरमा विगत पाँच वर्षदेखि निरन्तर चलिरहेको श्री लक्ष्मीनारायण भगवानको साप्ताहिक संध्या आरतीको पाँचौं वार्षिक विशेष उत्सव तथा महाआरती समारोह भव्य रुपमा सम्पन्न भएको छ।

धार्मिक वातावरण र जनसहभागिताले भरिएको उत्सव

श्री लक्ष्मी सागर तथा आरती व्यवस्थापन समिति, मटिहानीको आयोजनामा सम्पन्न उक्त समारोहले मटिहानीको सांस्कृतिक र धार्मिक धरोहरलाई झनै सुदृढ बनाएको छ। आरतीको पाँच वर्ष पूरा भएको स्मरणमा आयोजित कार्यक्रमको उद्घाटन मधेश प्रदेशसभा सदस्य राम अशिष यादव, मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले संयुक्त रुपमा गर्नुभएको थियो।
विशिष्ट अतिथि प्रदेशसभा सदस्य राम अशिष यादवले आरतीलाई धार्मिक आस्था मात्र नभई जल संरक्षण, विकास, समृद्धि र आध्यात्मिक उन्नतिको प्रतीकको रूपमा व्याख्या गर्दै भन्नुभयो, “लक्ष्मी सागरमा आरती गर्नु भनेको जलसँगको सहअस्तित्व र संरक्षणको संकेत हो। यसले मटिहानी मात्र होइन, सम्पूर्ण नगरको समृद्धिको यात्रा सुरु गरेको छ।”
नगर प्रमुख हरि प्रसाद मंडलले मटिहानीको रामायण कालीन महत्त्व र हालै भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चालाई उल्लेख गर्दै भन्नुभयो, “तराईका धेरै स्थानहरूमा पानीको संकट भएको यस घडीमा, आजको आरतीबाट देशभर अमृत वर्षा होस् भन्ने हामी सबैको कामना हो।”
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले लक्ष्मी सागर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने उल्लेख गर्दै आरतीको निरन्तरता तथा यसमा जनसहभागिता अत्यन्त सराहनीय रहेको बताउनुभयो। “यस्ता कार्यक्रमले हाम्रो स्थानीय अर्थतन्त्र र राष्ट्रिय चिनारीमा सकारात्मक प्रभाव पार्नेछ,” उहाँले भन्नुभयो।
बिशेष महा जात्रा र सांस्कृतिक विविधता
आरती कार्यक्रमसँगै आज धार्मिक महा जात्रा पनि निकालिएको थियो, जसले मटिहानी नगरका विभिन्न मार्गहरूको परिक्रमा गरेको थियो। नगरवासी, भक्तजन र आगन्तुकहरूको उत्साहजनक सहभागिता रहेको यस जात्राले सम्पूर्ण नगरलाई भक्तिमय बनाएको थियो।
उच्चस्तरीय उपस्थिति र सामाजिक सद्भाव
कार्यक्रम श्री लक्ष्मी सागर तथा आरती व्यवस्थापन समितिका अध्यक्ष बरुण मंडलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा मधेश प्रदेश अर्थ मन्त्रालयका उप-सचिव उपेन्द्र न्यौपाने, नेपाल प्रहरीका S.P. हेरम्भ शर्मा, शसस्त्र प्रहरीका S.P. शेरबहादुर अधिकारी, लक्ष्मी नारायण मठका महन्थ जगरनाथ दास बैष्णव, उत्तराधिकारी महन्थ रबिन्द्र दास बैष्णव, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो।
पाँच वर्षको आरती परम्पराले निर्माण गर्यो आस्थाको शृंखला
श्रावण ५, २०७८ देखि सुरु गरिएको आरती परम्परा प्रत्येक हप्ताको बिहीबार नियमित रूपमा हुँदै आएको छ। यसले न केवल धार्मिक भावना सुदृढ बनाएको छ, तर स्थानीय समुदायलाई एकताबद्ध बनाउँदै मटिहानीको सामाजिक–आर्थिक छविलाई पनि उजागर गरेको छ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers