जयनगर, ललित झा । मधुवनी (जयनगर अनुमण्डल), भारत–नेपाल सीमा — बासोपट्टी थाना क्षेत्रअन्तर्गत महीनतपुर गाउँस्थित भारत–नेपाल सीमा क्षेत्रमा बुधबार बिहान ठूलो सुरक्षा चुनौती देखिएको छ। चार जना शंकास्पद युवकहरू मुख्य बाटो नहिँडी कच्ची बाटो हुँदै नेपाल प्रवेश गर्न खोज्दा भारतको सीमा सुरक्षा बल (SSB) सँग झडप भएको हो। बिहान करिब १० बजेको समयमा ४८ औं …
भारत–नेपाल सीमा क्षेत्रमा झडप : एसएसबी चौकीमा ढुंगामुढा, हातहतियार खोस्ने प्रयास, एक जवान सहित २ जना घाइते, एक पक्राउ

जयनगर, ललित झा ।
मधुवनी (जयनगर अनुमण्डल), भारत–नेपाल सीमा — बासोपट्टी थाना क्षेत्रअन्तर्गत महीनतपुर गाउँस्थित भारत–नेपाल सीमा क्षेत्रमा बुधबार बिहान ठूलो सुरक्षा चुनौती देखिएको छ। चार जना शंकास्पद युवकहरू मुख्य बाटो नहिँडी कच्ची बाटो हुँदै नेपाल प्रवेश गर्न खोज्दा भारतको सीमा सुरक्षा बल (SSB) सँग झडप भएको हो।

बिहान करिब १० बजेको समयमा ४८ औं वाहिनीअन्तर्गत सिमरारी सीमा चौकी (सीमा स्तम्भ नं. २७६/५) मा तैनाथ एसएसबी जवानहरूले ती युवकहरूलाई रोके। मुख्य आरक्षी सुधीर कुमार सिंह (कमाण्डर), आरक्षी राज गोंड, राजु कुमार राम र सरोज कुमार यादव बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्मको पालोमा ड्युटीमा थिए।
जवानहरूले ती शंकास्पद व्यक्तिलाई मुख्य सडक प्रयोग गर्न आग्रह गर्दा उनीहरू उग्र बने र केही समयमा स्थानीय भीड जम्मा भइ जवानहरूसँग झडप गर्यो। उक्त भीडले एसएसबी जवानहरूमाथि ढुंगामुढा गरे र हातहतियार खोस्ने प्रयास गरे।

स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि आत्मरक्षाका लागि आरक्षी राजु कुमार रामले इन्सास राइफल (बट नं. १९५) बाट पाँच राउण्ड गोली प्रहार गरे। फायरिङको क्रममा स्थानीय व्यक्ति भरत पासवानको खुट्टामा गोली लाग्यो भने आरक्षी राज गोंडको दाहिने हातमा समेत गोली लागेको छ।
घटनाको जानकारी पाएलगत्तै क्यूआरटी टोली, एसएसबीका वरिष्ठ अधिकृत, अनुमण्डल अधिकारी (एसडीएम), अनुमण्डल प्रहरी अधिकारी (एसडीपीओ), सर्कल इन्स्पेक्टर (सीआई) र थाना प्रमुख (एसएचओ) घटनास्थलमा पुगेका थिए। घाइते जवानहरूलाई जयनगर अनुमण्डलीय अस्पताल (SDH) पुर्याइएको छ भने भरत पासवानलाई थप उपचारका लागि दरभंगा मेडिकल कलेज अस्पताल (DMCH) रेफर गरिएको छ।
घटनास्थल वरिपरिको सीसीटीभी फुटेजको सहायता लिएर उपद्रवीहरूको पहिचान गरिएको छ। बासोपट्टी प्रहरीले एकजनालाई पक्राउ गरिसकेको छ र अन्यको खोजी जारी छ।
हाल स्थिति सामान्य भएको प्रशासनले जानकारी दिएको छ र कानुनी कारबाही अगाडि बढाइएको छ। यस घटनाप्रति प्रशासनले कडा चेतावनी दिँदै भनेको छ, “सीमा सुरक्षासँग कुनै सम्झौता गरिने छैन र दोषीहरूलाई कडा कानुनी कारबाही गरिनेछ।”
अहिले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ र सम्बन्धित कानुनी धारामा एफआईआर दर्ता गरिएको प्रहरीले जनाएको छ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers