वीरगञ्ज, साउन २८ गते ।
नेपालस्थित भारतीय दूतावास र वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासको संयुक्त आयोजनामा मंगलबार वीरगञ्जको टाउन हलमा प्रसिद्ध कथकली कलाकार कलामण्डलम रामनकुट्टी तथा उनकी टोलीले मनमोहक प्रस्तुति दिए।

कार्यक्रममा मधेश प्रदेशका खेल तथा समाज कल्याण मन्त्री प्रमोद जायसवाल, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पर्सा र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुख (एसपी), साथै कला प्रेमी, विद्यार्थी र स्थानीय समुदायका सयौँ दर्शकको उपस्थिति रहेको थियो।

कलामण्डलम रामनकुट्टीको अद्वितीय प्रस्तुति र टोलीको सशक्त अभिनयले पौराणिक कथाहरूलाई रंगमञ्चमा सजीव उतार्दै भारतको प्राचीन कथकली नृत्यको सौन्दर्य दर्शकसम्म पु¥यायो। उपस्थित दर्शकले प्रस्तुतीका क्रममा निरन्तर ताली र उत्साह देखाए।
मन्त्री प्रमोद जायसवालले आफ्नो सम्बोधनमा नेपाल–भारतको साझा सांस्कृतिक सम्पदाले दुवै देशबीचको सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गरे। नगर प्रमुख राजेश मान सिंहले शताब्दीयौँ पुराना सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्धलाई स्मरण गर्दै टोलीलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रमको अन्त्यमा दर्शकले स्ट्यान्डिङ ओभेशन दिँदै सांस्कृतिक आदान–प्रदान र कलात्मक उत्कृष्टताको उच्च प्रशंसा गरेका थिए।
