वीरगन्ज, भदौ ८ गते । वीरगन्ज महानगरका विभिन्न क्षेत्रमा हैजा संक्रमण फैलिएको पुष्टि भएको छ। पर्साबाट आएको प्राविधिक टोलीले हैजा प्रभावित क्षेत्रबाट पानीका नमुना संकलन गरेको छ। प्रारम्भिक परीक्षणको आधारमा ४१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ। खानेपानी मन्त्रालयको प्रादेशिक कार्यालय, जनकपुरबाट प्राविधिक टोली शनिबार वीरगन्ज महानगरका ११, १२, र १३ नम्बर वडाका विभिन्न स्थानबाट …
वीरगन्जमा हैजा संक्रमण फैलियो, ४१ जनामा पुष्टि, अस्पतालमा १२९ जना उपचाररत

वीरगन्ज, भदौ ८ गते ।
वीरगन्ज महानगरका विभिन्न क्षेत्रमा हैजा संक्रमण फैलिएको पुष्टि भएको छ। पर्साबाट आएको प्राविधिक टोलीले हैजा प्रभावित क्षेत्रबाट पानीका नमुना संकलन गरेको छ। प्रारम्भिक परीक्षणको आधारमा ४१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ।
खानेपानी मन्त्रालयको प्रादेशिक कार्यालय, जनकपुरबाट प्राविधिक टोली शनिबार वीरगन्ज महानगरका ११, १२, र १३ नम्बर वडाका विभिन्न स्थानबाट पानीका नमुना संकलन गर्न पुगेको थियो। नमुना संकलनको काम पानी संस्थान वीरगन्ज शाखाले सहयोग गर्दै सम्पन्न गरेको हो। शाखाका सूचना अधिकारी एवं इन्जिनियर सञ्जीव यादवका अनुसार, तीनवटै वडाबाट १५ वटा धाराबाट पानीको नमुना संकलन गरिएको छ। उनले बताएअनुसार, “जनकपुरबाट पानी परीक्षण घुम्ती सेवाको टोली नै आइपुगेको थियो। नमुना संकलनको काम शनिबार साँझ नै सम्पन्न भई टोली जनकपुर फर्किसकेको छ।”

यी नमुनाहरू अब जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा कोलिफर्म परीक्षणका लागि पठाइनेछ। कोलिफर्म परीक्षणबाट पानीमा कुन रोगका किटाणु छन् भन्ने स्पष्ट जानकारी प्राप्त हुनेछ। अनुमानअनुसार, आइतबार साँझसम्ममा परीक्षणको नतिजा उपलब्ध हुने अपेक्षा गरिएको छ।
वीरगन्जस्थित दर्जनभन्दा बढी अस्पतालमा हाल १२९ जना बिरामी उपचाररत छन्। तीमध्ये ४१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ। नारायणी अस्पतालमा ३३ जना भर्ना भएकामा १५ जनामा संक्रमण पुष्टि भएको छ। तराई अस्पतालमा ३५ जना भर्ना भएकामा १२ जनामा संक्रमण पुष्टि भएको छ। एड्भान्स अस्पतालमा १४ जना भर्ना भई उपचाररत छन् भने नेसनल मेडिकल कलेजमा १४ जना भर्ना भएकोमा ६ जनामा हैजा संक्रमण पुष्टि भएको छ। शनिबार रातिसम्म अस्पतालमा ९२ जना उपचारका लागि भर्ना भएका थिए भने आइतबारसम्म भर्ना हुने संख्या १२९ पुगेको छ।
स्थानीय स्वास्थ्य अधिकारीहरूले नागरिकलाई सतर्क रहन, पानीको शुद्धता सुनिश्चित गर्नु र स्वच्छता अपनाउन आग्रह गरेका छन्। हैजा संक्रमण फैलिन नदिन पानी उमाल्ने, हात धुने र सुरक्षित खानेपानी प्रयोग गर्ने उपाय अपनाउन आवश्यक रहेको जानकारी दिइएको छ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers