जनकपुरधाम भदौ ९ गते । जनकपुरधामको जनक चोकमा सोमबार साँझ असामान्य दृश्य देखियो। भीडभाडले भरिएको सडकमा नाराबाजी गर्दै प्रदर्शनकारीहरूले "वन विनाश गर्ने, मधेशलाई मरुभूमि बनाउने" भनिएको भूमि विधेयकको प्रतिलिपि जलाए। विरोधको अगुवाइ जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाले गरेको थियो। जसपा धनुषाले भूमि विधेयकलाई "राष्ट्रघाती" भन्दै सडक संघर्षमा उत्रिएको हो। पार्टीका जिल्ला स्तरीय नेतादेखि प्रादेशिक …
जनकपुरमा भूमि विधेयकको प्रतिलिपि जलाइयो

जनकपुरधाम भदौ ९ गते ।
जनकपुरधामको जनक चोकमा सोमबार साँझ असामान्य दृश्य देखियो। भीडभाडले भरिएको सडकमा नाराबाजी गर्दै प्रदर्शनकारीहरूले “वन विनाश गर्ने, मधेशलाई मरुभूमि बनाउने” भनिएको भूमि विधेयकको प्रतिलिपि जलाए। विरोधको अगुवाइ जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाले गरेको थियो।
जसपा धनुषाले भूमि विधेयकलाई “राष्ट्रघाती” भन्दै सडक संघर्षमा उत्रिएको हो। पार्टीका जिल्ला स्तरीय नेतादेखि प्रादेशिक सांसदहरू, विद्यार्थी, युवा र विभिन्न वर्गीय संगठनका प्रतिनिधिहरू कार्यक्रममा सक्रिय रुपमा सहभागी थिए। उनीहरूले भूमि विधेयक कार्यान्वयन भए मधेश प्रदेशका वन क्षेत्र सखाप भई मरुभूमिकरणको खतरा बढ्ने चेतावनी दिए।

प्रदर्शनमा सहभागी नेताहरूले सरकारलाई तत्काल विधेयक फिर्ता लिन आग्रह गर्दै त्यसलाई “जनविरोधी” र “पर्यावरणविरोधी” भने। उनीहरूको भनाइमा, यसले मधेशको जैविक विविधता, भूमिगत जलस्रोत र स्थानीय कृषिजन्य उत्पादनलाई दीर्घकालीन असर पुर्याउनेछ।
विधेयकलाई जलाउने क्रममा भीड उत्साहित देखिन्थ्यो भने केही प्रदर्शनकारीहरूले यसलाई “मधेशको अस्तित्वविरुद्धको षड्यन्त्र” समेत कराए । उनीहरूले चेतावनी दिँदै भने– “यदि सरकार जनताको आवाजप्रति संवेदनशील बनेन भने आन्दोलन अझ व्यापक रूप लिनेछ।”
जनकपुरधाममा भएको यस प्रदर्शनलाई जसपा नेपालले आफ्नो दीर्घकालीन राजनीतिक अभियानको हिस्सा मान्दै संघीय संसदमा समेत विधेयकविरुद्ध कडा प्रतिवाद गर्ने घोषणा गरेको छ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers