बीरगञ्जमा शनिबार एउटा विशेष अनुभव गरें। इण्डो–नेपाल क्रस–बोर्डर मिडिया कन्क्लेभ सम्पन्न हुँदै गर्दा बीरगञ्ज न केवल दुई देशका पत्रकारहरूको भेटघाट स्थल बन्यो, बरु भावनात्मक सम्बन्ध र सहकार्यको नयाँ कडी पनि जोडियो। नेपाल र भारतका करिब एक सय पत्रकारहरूको जमघटले यो ऐतिहासिक सहरलाई संवाद, विचार र सहकार्यको मेलमिलापको थलोमा रूपान्तरण गरिदियो।
राजेश कुमार कर्ण
बीरगञ्ज, भदौ १५ गते।
बीरगञ्जमा शनिबार एउटा विशेष अनुभव गरें। इण्डो–नेपाल क्रस–बोर्डर मिडिया कन्क्लेभ सम्पन्न हुँदै गर्दा बीरगञ्ज न केवल दुई देशका पत्रकारहरूको भेटघाट स्थल बन्यो, बरु भावनात्मक सम्बन्ध र सहकार्यको नयाँ कडी पनि जोडियो। नेपाल र भारतका करिब एक सय पत्रकारहरूको जमघटले यो ऐतिहासिक सहरलाई संवाद, विचार र सहकार्यको मेलमिलापको थलोमा रूपान्तरण गरिदियो।

कार्यक्रमको उद्घाटन सत्रमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले पत्रकारहरूबीच हुने यस्ता नियमित संवादले सीमामा हुने समस्याहरूलाई सहज बनाउने र दुई देशबीचको राजनीतिक तथा सामाजिक सम्बन्धलाई अझै मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले सीमामा कहिलेकाहीँ देखापर्ने अविश्वास र तनावलाई सहजीकरण गर्ने शक्ति पत्रकारितामै रहेको उल्लेख गर्दै सञ्चार माध्यमले जनस्तरमा विश्वास र सद्भाव निर्माण गर्ने सबल भूमिका खेल्नुपर्नेमा जोड दिए।
त्यसैबेला पूर्वराजदूत तथा नेपाल–भारत सम्बन्धका जानकार विजय कान्त कर्णले नेपाल–भारतबीचको सम्बन्धलाई विशेष भावनासँग स्मरण गरे। उनले आफ्नो अनुभव सुनाउँदै भने, “म विश्वका धेरै मुलुक पुगेँ, तर नेपाल र भारतजस्तो आत्मीय सम्बन्ध कतै देखिन पाइनँ। यो सम्बन्ध कूटनीतिक तहको भन्दा बढी जनता–जनता बीचको आत्मीयताको कारणले अद्वितीय छ।” उनका अनुसार यो सम्बन्धलाई बिग्रन नदिन र अझ सुदृढ बनाउन पत्रकारहरूको जिम्मेवारी अत्यन्त महत्त्वपूर्ण हुन्छ।

कार्यक्रमको समापन सत्रमा खानेपानी मन्त्री प्रदीप यादवले पनि त्यही भावनालाई निरन्तरता दिए। उनले नेपाल–भारतबीच धार्मिक, सांस्कृतिक मात्र नभई शिक्षा, अर्थतन्त्र र सामाजिक सद्भावसम्म गहिरो सम्बन्ध रहेको चर्चा गरे। उनले भने, “पत्रकारिताको एउटा समाचारले दुई देशबीच संवेदनशीलता उत्पन्न गर्न सक्छ। त्यसैले हरेक समाचारमा सतर्कता र जिम्मेवारी आवश्यक हुन्छ।” उनले नेपाल–भारतबीचको मैत्री सम्बन्धलाई अझ मजबुत बनाउन सरकार सधैं तयार रहेको प्रतिबद्धता दोहोर्याए।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पत्रकारितालाई शान्ति र सहकार्यको पुलका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। उनले पत्रकारहरूलाई सीमामा कहिलेकाहीँ देखिने विवादलाई समाधान गर्ने खालका सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह गर्दै भने, “समाचार केवल तथ्य होइन, समाचार लेखाईको शैलीले सम्बन्ध र विश्वास निर्माण गर्ने माध्यम पनि बन्न सक्छ। र यसलाई हामीले सकारात्मक ढंगबाट उपयोग गर्नुपर्छ।।” झाले कार्यक्रमको प्यानल डिस्कसन र समूहगत छलफलहरूलाई सहजीकरण गर्दै पत्रकारहरूको अनुभव र धारणा अझ स्पष्ट बनाउन योगदान दिएका थिए।
कार्यक्रममा वरिष्ठ पत्रकार हस्त गुरुङले नेपाल भारतका संवेदनशील पक्षहरूका बारेमा बताउँदै पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरू प्रष्ट पारेका थिए।
कार्यक्रमको अध्यक्षता मिडिया फोर–बोर्डर हार्मोनीका अध्यक्ष अनिल तिवारीले गरेका थिए भने सञ्चालन रितेश त्रिपाठीले गरेका थिए। यस क्रममा दुवै देशका पत्रकारहरूले आफ्ना अनुभव बाँड्दै, साझा चुनौती र सम्भावनाबारे चर्चा गरे। उनीहरूले सीमा क्षेत्रमा दुवै मुलुकका सरकारहरूले सूचना संयन्त्रको विकास गर्नुपर्ने सुझाव प्रस्तुत गरे, जसले गलत वा अपुष्ट समाचारका कारण उत्पन्न हुने संवेदनशीलतालाई कम गर्न सहयोग गर्ने तर्क गरे।
पत्रकारहरूले अझै अगाडि बढेर संयुक्त रिपोर्टिङको अभ्यास गर्नुपर्ने आवाज उठाए। उनीहरूको भनाइमा, संयुक्त रिपोर्टिङले केवल तथ्यलाई प्रष्ट पार्दैन, बरु जनताबीचको विश्वासलाई अझ प्रगाढ बनाउन पनि मद्दत गर्छ। पत्रकारहरूले भने—नेपाल–भारतको रोटी–बेटीको सम्बन्धमाथि बाहिरी तत्वहरूले प्रहार गर्ने प्रयास गरिरहन्छ, तर जनता–जनता बीचको आत्मीयता सधैं बलियो रहँदै आएको छ र यसलाई अझै उज्ज्वल भविष्यतिर डोर्याउनुपर्छ।

कार्यक्रमको अन्त्यमा १७ बुँदे बीरगञ्ज घोषणापत्र जारी गरियो, जसले नेपाल–भारतबीच पत्रकारितामार्फत सहकार्यलाई अझै संरचनागत र परिणाममुखी बनाउन मार्गनिर्देशन प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसरी, बीरगञ्जमा सम्पन्न मिडिया कन्क्लेभले केवल विचार विमर्श मात्र होइन, भावनात्मक सम्बन्धलाई पुनः उजागर गर्यो। सीमाना भौगोलिक मात्र हुन्छ, हृदयमा होइन भन्ने सन्देश यस कार्यक्रममा बारम्बार सुनियो। सहभागी पत्रकारहरूको दृढता एकै थियो—नेपाल र भारतबीचको सम्बन्धलाई समाचार, संवाद र सहकार्यबाट अझै नजिक ल्याउने।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers