जनकपुरधाम, १५ भदौ ।जनकपुरधामलाई ऐतिहासिक दृष्टिले पुनःअवलोकन गर्ने उद्देश्यले साहित्यकार तथा पत्रकार श्यामसुन्दर ‘शशि’द्वारा लिखित ‘जनकपुरधामके इतिहास’ माथि विशेष परिचर्चा सम्पन्न भएको छ। मैथिली विकास कोषले पुस्तकालय दिवसको अवसरमा आयोजना गरेको सो कार्यक्रममा पुस्तक परिचर्चासँगै पठनसंस्कृति विकाससम्बन्धी अन्तरक्रिया गरिएको थियो। शशिको पुस्तकले जनकपुरधामको सामाजिक, सांस्कृतिक, राजनीतिक र भौतिक विकासलाई व्यवस्थित ढंगले समेटेको भन्दै सहभागी वक्ताहरुले …
श्यामसुन्दर ‘शशि’को पुस्तक ‘जनकपुरधामके इतिहास’ माथि परिचर्चा, पठन संस्कृतिमा आएको ह्रासबारे विद्वानहरूको गहिरो चिन्ता

जनकपुरधाम, १५ भदौ ।
जनकपुरधामलाई ऐतिहासिक दृष्टिले पुनःअवलोकन गर्ने उद्देश्यले साहित्यकार तथा पत्रकार श्यामसुन्दर ‘शशि’द्वारा लिखित ‘जनकपुरधामके इतिहास’ माथि विशेष परिचर्चा सम्पन्न भएको छ। मैथिली विकास कोषले पुस्तकालय दिवसको अवसरमा आयोजना गरेको सो कार्यक्रममा पुस्तक परिचर्चासँगै पठनसंस्कृति विकाससम्बन्धी अन्तरक्रिया गरिएको थियो।
शशिको पुस्तकले जनकपुरधामको सामाजिक, सांस्कृतिक, राजनीतिक र भौतिक विकासलाई व्यवस्थित ढंगले समेटेको भन्दै सहभागी वक्ताहरुले यसलाई मिथिला क्षेत्रमा इतिहास अध्ययनको महत्वपूर्ण योगदानका रूपमा चित्रण गरे। उनीहरुले इतिहास लेखनलाई साहित्य लेखनभन्दा फरक, गहन र कठिन काम ठहराउँदै शशि अब इतिहासकारको हैसियतमा समेत स्थापित भएको टिप्पणी गरे।
पुस्तकका विशेषताहरू

पुस्तकमा आधुनिक जनकपुरधामको विकास प्रक्रियामा विभिन्न व्यक्तित्वको योगदानलाई सशक्त ढंगले प्रस्तुत गरिएको छ। सूरकिशोर दास, चर्तभुज गिरीजस्ता सन्तहरूको आध्यात्मिक प्रभावदेखि लिएर अस्पताल, विद्यालय, उद्योग वाणिज्य संघ, नेपाल रेल्वे, जनकपुर चुरोट कारखाना जस्ता पूर्वाधारको स्थापनासम्मको तथ्याङ्क र विवरण विश्लेषणात्मक शैलीमा प्रस्तुत गरिएको छ। यससँगै जनकपुरधाममा सन्त परम्परा, माइरामको सुरुवात जस्ता सूक्ष्म तर गम्भीर विषयलाई पनि सरल भाषामा व्याख्या गरिएको छ। साथै, राजनीतिक इतिहाससम्बन्धी चर्चा पनि पुस्तकमा उल्लेखनीय रूपमा समावेश गरिएको छ।
परिचर्चाका धारणा
करीब तीन घण्टा लामो परिचर्चामा सहभागी वक्ताहरुले पुस्तकको महत्व मात्र होइन, पठनसंस्कृतिको वर्तमान स्थिति र चुनौतीबारे पनि गहिरो विमर्श गरे। उनीहरुका अनुसार जनकपुरधामसहित मिथिला क्षेत्रमा परम्परागत पुस्तक पढ्ने संस्कृतिमा कमी आएको बताउँदै, यसले पुस्तक पठनलाई पूरै विस्थापित नगरेको र अझै पुस्तकालय र पुस्तक पठन अभियानलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिए।
सहभागी र साझा निष्कर्ष
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजर्षि विश्वविद्यालयका उपकुलपति अखिलेश यादव, साहित्यकार तथा राजनीतिज्ञ वृषेशचन्द्र लाल, वरिष्ठ चिकित्सक एवं संस्कृतिविद् डा. विजयकुमार सिंह, जनकपुरधामका मेयर मनोज साह, प्राध्यापक परमेश्वर कापडि, प्रा.डा. सुरेन्द्र लाभ, राजनीतिकर्मी तथा साहित्यकार शीतल झा, नाटककार रमेश रञ्जन झालगायतका वक्ताहरुले पुस्तकको महत्वबारे धारणा राखे।
सहभागी सबैको साझा निष्कर्ष थियो — जनकपुरधामले मिथिला क्षेत्रमा साहित्य, संस्कृति र इतिहासको नेतृत्व लिनुपर्नेछ। युवा पुस्ताले पुस्तक पढ्ने अभ्यासलाई निरन्तरता दिँदै पठनसंस्कृतिको संरक्षणमा भूमिका खेल्नुपर्नेमा जोड दिइयो। साथै पुस्तकालयको विकास, पुस्तक प्रकाशनमा प्रोत्साहन र सरकार–स्थानिय तहको सहयोग अपरिहार्य भएको पनि उठाइयो।
कार्यक्रममा अधिकांश वक्ताहरुले “पठनपाठन संस्कृति केवल परम्परागत अभ्यास होइन, यो समाजलाई दिशानिर्देशन गर्ने शक्ति हो। डिजिटल अध्ययनको महत्व भए पनि पुस्तकले दिने गहिराइ र निरन्तरतालाई कुनै माध्यमले प्रतिस्थापन गर्न सक्दैन।” भने प्रष्ट पारे।
यसरी ‘जनकपुरधामके इतिहास’ पुस्तकको विमर्शले केवल एक लेखकको योगदानलाई मात्र होइन, समग्र मिथिला क्षेत्रमा पठनसंस्कृतिको संरक्षण र प्रवर्द्धनको आवश्यकता पुनः उजागर गरिदिएको छ।


Subscribe to Our Newsletter
Keep in touch with our news & offers