जनकपुरधाम । भारतको महावाणिज्य दूतावासद्वारा आयोजित ओडिसी नृत्य प्रस्तुतिले बुधवार जनकपुरधामका दर्शकलाई मन्त्रमुग्ध बनायो। सन्ध्या कुञ्जन मेनन दास नेतृत्वको पाँच सदस्यीय टोलीले प्रस्तुत गरेको यो शास्त्रीय नृत्य मनोहारिणी ताल, कोमल गतिशीलता र अभिव्यक्तिमूलक अभिनयले भरिएको थियो। कार्यक्रममा भारतीय महावाणिज्यदूत देवीसहाय मिनाले स्वागत मन्तव्य दिंदै नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक परम्पराले दुवै देशको सम्बन्धलाई थप मजबुत बनाइरहेको …
ओडिसी नृत्य प्रस्तुतिले बुधवार जनकपुरधामका दर्शक मन्त्रमुग्ध

जनकपुरधाम ।
भारतको महावाणिज्य दूतावासद्वारा आयोजित ओडिसी नृत्य प्रस्तुतिले बुधवार जनकपुरधामका दर्शकलाई मन्त्रमुग्ध बनायो। सन्ध्या कुञ्जन मेनन दास नेतृत्वको पाँच सदस्यीय टोलीले प्रस्तुत गरेको यो शास्त्रीय नृत्य मनोहारिणी ताल, कोमल गतिशीलता र अभिव्यक्तिमूलक अभिनयले भरिएको थियो।
कार्यक्रममा भारतीय महावाणिज्यदूत देवीसहाय मिनाले स्वागत मन्तव्य दिंदै नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक परम्पराले दुवै देशको सम्बन्धलाई थप मजबुत बनाइरहेको उल्लेख गरे। भाषिक विविधताबीच पनि कथानक–आधारित अभिनय, धार्मिक प्रसंग र सांस्कृतिक प्रस्तुतीकरणले दर्शकहरूलाई निरन्तर ताली बजाउन प्रेरित गरेको थियो।

डेढ घन्टा लामो प्रस्तुतिमा रामायणकालीन प्रसंग, गोपी–कृष्ण लिला तथा वृद्ध चरित्रसमेत जीवन्त रूपमा प्रस्तुत गरियो। कलाकारहरूको पारम्परिक साडी, सुनौलो आभूषण, घुँघरु र ‘तहीया’ नामक विशेष मुकुटले नृत्यको भव्यता झन् बढाएको थियो।
ओडिशा राज्यमा उत्पत्ति भएको ओडिसी नृत्य देवदासी परम्परादेखि विकसित भएको शास्त्रीय शैली मानिन्छ। महावाणिज्यदूत मिनाका अनुसार यसको इतिहास करिब दुई हजार वर्ष पुरानो मानिन्छ ।ओडिसीको विशेषता त्रिभंगी मुद्रा, चौक भंगिमा, सूक्ष्म हस्तमुद्रा र आँखाको जीवन्त अभिनयमा निहित हुन्छ।
कृष्ण–राधाको लीला तथा भक्ति–प्रधान कथाहरूलाई केन्द्रमा राखी प्रस्तुत गरिने यो शैली सौन्दर्य, राग–लय र कोमल गतिका कारण विशिष्ट ठहरिन्छ। नृत्य प्रशिक्षण मंगलाचारण, बटु, पल्लवी, अभिनय र मोक्षजस्ता चरणहरूमा विभाजित हुने परम्परा छ।
कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश प्रसाद सिंह, डिआईजी, स्थानीय अधिकारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


Subscribe to Our Newsletter
Keep in touch with our news & offers










