काठमाडौँ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र बरिष्ठ र युवा पुस्ताबीचको मिलनबिन्दु आफू भएको दाबी गरेका छन्।
लामो समयदेखि पार्टीभित्र र बाहिर विभिन्न फोरममा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने आवश्यकता औंल्याउँदै आएको भए पनि त्यसको प्रभावकारी सुनुवाइ नभएकै कारण पछिल्लो जटिल परिस्थिति सिर्जना भएको उनले बताए। कोइरालाले कोभिड–१९ महामारीकै समयदेखि युवाका लागि केन्द्रमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग अघि सारेको स्मरण गराए।

आइतबार प्रजातन्त्र सेनानी संघका केन्द्रीय समिति पदाधिकारी तथा सदस्यहरूसँग बिशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा भएको भेटघाट कार्यक्रममा उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पुर्याएको योगदानको सधैं उच्च कदर हुने स्पष्ट पारे।
देश र पार्टी दुवै अत्यन्तै कठिन मोडमा उभिएको उल्लेख गर्दै डा. कोइरालाले नेपाली कांग्रेसको पुनर्निर्माणका लागि अझै पनि सेनानीहरूको अनुभव, मार्गदर्शन र सक्रिय सहयोग अपरिहार्य रहेको बताए।
“सयौं योद्धा र युवाहरूको रगत र पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन देखिएको छ,” उनले भने, “पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पुनर्निर्माण आजको मुख्य आवश्यकता हो।”
कोइरालाले जिल्ला–जिल्लाबाट आएका प्रजातन्त्र सेनानीहरूलाई पार्टीको आसन्न महाधिवेशन र आगामी आम निर्वाचनमा सक्रिय रूपमा होमिन निर्देशनसमेत दिए।












