काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पार्टीले पूर्ण राजतन्त्र स्थापना गर्ने माग गरेको भन्ने व्याख्या गलत रहेको स्पष्ट गरे ।
मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनसभामा सम्बोधन गर्दै मिश्रले पार्टीले पृथ्वीनारायण शाहको वंशजलाई लोकतान्त्रिक संरचनाभित्र स्थान दिनुपर्ने माग मात्र गरेको बताए।
“लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई स्थान दिनुपर्छ”

उनका अनुसार राप्रपाको धारणा लोकतन्त्रसँग असंगत होइन।
मिश्रले भने,
“हामीले लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई पनि स्थान दिनुपर्छ। आधुनिक शक्तिको प्रतीक राजनीतिक दलहरूलाई पनि समेटनुपर्छ।”
उनले राजनीतिक दलहरूले विगतमा गरेका गल्तीहरूले राष्ट्र र राज्य नै क्षयिकृत हुने अवस्था सिर्जना गरेको आरोप पनि लगाए।
राजसंस्था ‘राजनीतिभन्दा माथि रहने’ राष्ट्रिय एकताको प्रतीक : मिश्र
मिश्रले राजसंस्थालाई देशका सबै जात–जाति, भाषा–भाषी र धर्म–संस्कृतिका मानिसहरूले मान्न सक्ने साझा संस्थाको रूपमा प्रस्तुत गरे।
उनले भने,
“राजनीतिभन्दा माथि रहने संस्था राजसंस्था नै हो। सबैले मान्ने, देशलाई एकताबद्ध राख्ने संरचना यही हो।”
“पूर्ण राजतन्त्र होइन, लोकतान्त्रिक परिधिभित्रको राजसंस्था”
मिश्रले राप्रपाले पूर्ण राजतन्त्र भन्ने माग नरहेको पुनः दोहोर्याउँदै भने,
“अब हामीले राजनीति भन्दा माथि, देशका सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृतिका मानिसहरूले एकताको प्रतीक मान्न सक्ने पृथ्वीनारायण शाहको वंशज राजसंस्थालाई पुनः स्थापित गर्नै पर्छ।
राप्रपाले पूर्ण राजतन्त्र भनेको होइन, यो कुरा बुझ्नुपर्छ।”
उनका अनुसार राप्रपाको उद्देश्य राजनीतिक दलीय व्यवस्थाभित्र नै सन्तुलित शक्तिकेन्द्र निर्माण गर्दै राजसंस्थालाई संविधानिक रूपले पुनर्स्थापना गर्नु हो।










