सरकारलक्षित ओलीको टिप्पणी : हिंसा र युद्धबाट भएका परिवर्तन स्वीकार्दैनौं

Share on Social Media

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धका माध्यमबाट भएका परिवर्तनहरू स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार हिंसाबाट आएको भन्दै आफूहरूले स्वीकार नगरेको र भविष्यमा पनि स्वीकार नगर्ने बताए।

“हामी हिंसा वा युद्ध परिवर्तनको साधन हुन सक्दैन, हुन हुँदैन भन्छौं,” ओलीले भने, “जनताको मन जितेर, शान्तिपूर्ण ढंगले पनि समाज परिवर्तन गर्न सकिन्छ।”

शान्तिपूर्ण परिवर्तनको पक्षमा उभिँदा आफूहरूमाथि निरन्तर प्रहार हुने गरेको उनको गुनासो थियो। “हामी भन्छौं अनि प्रहार हुन्छ,” उनले भने, “विविधता र बहुलता हाम्रो सम्पदा हो, दूरी बढाउने विषय होइन।”

विविधतामा एकतालाई एमालेको मूल मन्त्रका रूपमा अघि सारेको भन्दै त्यसकै कारण आफूहरू आलोचनाको निशानामा परेको ओलीको दाबी छ। “विविधतामा एकता हाम्रो मूल मन्त्र हो भन्छौं, अनि हामीमाथि प्रहार हुन्छ,” उनले भने।

संविधान संशोधनको अधिकार सार्वभौम जनतामा निहित रहेको उल्लेख गर्दै ओलीले त्यसलाई प्रयोग गर्ने अधिकारबाट कसैलाई रोक्न नसकिने पनि बताए। “संविधान संशोधन गर्ने अधिकार हाम्रो हो,” उनले भने, “हाम्रो स्वतन्त्रताको प्रयोग र सदुपयोग हामी आफैं गर्छौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *