संसदीय मामिला पत्रकार समाजद्वारा जनकपुरमा होली मिलन समारोह

Share on Social Media

जनकपुरधाम, फागुन २९ गते— संसदीय मामिला पत्रकार समाज जनकपुरको आयोजनामा होली मिलन समारोह सम्पन्न भएको छ। समाजका अध्यक्ष वीरेन्द्र रमणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी पत्रकारहरूले सामाजिक सद्भावलाई कायम राख्दै होलीलाई सांस्कृतिक उत्सवको रूपमा मनाउन आग्रह गरेका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्णले हाल देशमा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रणको प्रयास भइरहेको उल्लेख गर्दै पत्रकारहरूलाई थप मर्यादित, संयमित र निर्भीक भएर सत्यतथ्य प्रस्तुत गर्न आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि सभामुख रामचन्द्र मण्डलले ऐतिहासिक सन्दर्भ जोड्दै होली पर्वलाई विगतमा विभिन्न प्रयोजनका लागि उपयोग गरिएको उल्लेख गरे। उनले समाजमा स्वतन्त्रताको प्रतीकका रूपमा रहेको होली पर्वलाई कुनै अवान्छित गतिविधिको माध्यम नबनाउनुपर्नेमा जोड दिए।

अन्य वक्ताहरू— वरिष्ठ पत्रकार बीएम खनाल, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र क्रान्ति, धनुषा शाखाका अध्यक्ष पुरण गुप्ता, पूर्व अध्यक्ष मनिका झा, मधेसी पत्रकार समाजका जिल्ला अध्यक्ष सुभाष कर्ण, प्रेस चौतारीका जिल्ला अध्यक्ष नवीन मिश्र लगायतले पनि होलीको शुभकामना व्यक्त गर्दै पत्रकारिताको वर्तमान अवस्थामाथि आफ्नो विचार राखे।

समारोहमा पत्रकारहरूबीच आपसी मित्रता, ऐक्यबद्धता र स्वस्थ संवादको वातावरण देखिएको थियो। विभिन्न सामाजिक विषयहरू उठान गर्दै सम्पन्न भएको यो कार्यक्रमले होली पर्वको वास्तविक मर्म उजागर गर्न योगदान पुर्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *