जीवनको मोड फेरिएको छ – तालिम र आत्मविश्वासले युवाहरूको भविष्य प्रकाशमय : प्लानको सार्थक प्रयास

Share on Social Media

राजेश कुमार कर्ण


जनकपुरधाम वैशाख १६ गते।
धनुषाको कमला नगरपालिकाकी स्मृति मण्डलको अनुहारमा गहिरो सन्तोष झल्किन्थ्यो। कहिल्यै घरको काममै सीमित भएकी उनी आज एक विद्यालयमा कम्प्युटर अपरेटरको रूपमा कार्यरत छिन्। “पहिले निकै आर्थिक अभाव थियो, अहिले म खुसी छु,” स्मृतिले सरल स्वरमा भनिन्, “परिवारमा पनि हाँसो छाएको छ।”
यो परिवर्तन उनको मात्र होइन। यो त सिंगो समुदायको हो—जहाँ युवाहरूले सिकाइको अवसर पाएका छन्, स्वरोजगारको बाटो अपनाएका छन्, र आत्मनिर्भरताको स्वाद चाखिरहेका छन्।
रञ्जना महराले सुरुमा सानो किराना पसल खोलिन्। तर आज त्यो पसलबाट मासिक ५०–६० हजार रुपैयाँको कारोबार भइरहेको छ। उनी मुस्कुराउँदै भन्छिन्, “अब मलाई आफ्नै आत्मबलमाथि भरोसा छ।”
फरक क्षमता भएका प्रताप साफी पनि किराना व्यवसायमा लागेपछि आर्थिक रूपमा उभिन सक्ने भएका छन्। यस्ता कथा एक-दुई मात्र होइनन्। परियोजनाबाट प्रशिक्षण प्राप्त गरेका सयौं युवा—महिला र पुरुषहरूले आज सवारी चालक, ब्यूटिसियन, इलेक्ट्रीसियन, फोटोकपी सेन्टर, मोटरसाइकल मर्मत, सुरक्षा सेवाजस्ता विभिन्न पेशा रोजेर व्यवसाय गर्न थालेका छन्। उनीहरू दैनिक ५०० देखि २००० रुपैयाँसम्मको कारोबार गर्दै मासिक १० हजारदेखि २० हजारसम्म आम्दानी गरिरहेका छन्।
प्लान इन्टरनेशनलको साझेदारीमा जानकी महिला जागरण समाजले सामुदाय केन्द्रित सशक्तिकरण परियोजना सञ्चालन गरेको छ , यस अन्तर्गत सबैला, शहिदनगर, कमला , विदेह र जनक नन्दनी नगरपालिकामा युवा महिला तथा पुरुषहरूको सशक्तिकरण गर्ने उद्देश्यले रोजगारी र स्वरोजगारीका लागि युवाहरूलाई दक्ष बनाउने र उनीहरूलाई सिड मनीको रुपमा आर्थिक सहयोग गर्ने गरेको छ। यस परियोजना मार्फत ३५० जनालाई रोजगारीमा संलग्न गराउने लक्ष्य रहेको छ । रोजगार र स्वरोजगारका लागि सञ्चालित दक्ष युवा परियोजना को अवलोकन गरिएको छ । यस अवलोकन टोलीमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, उपप्रमुख संगीता ठाकुर, कमला नगरपालिकाका मेयर विश्वेश्वर यादव, शहिद नगर नगरपालिकाको उपमेयर सुनिता सिंह, जनस्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यकारी अधिकृत महेश साह, जानकी महिला जागरण समाजका अध्यक्ष मन्दा कर्ण, सपोर्ट नेपालका उपाध्यक्ष सुनिल मल्लिक, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, रासस मधेस प्रदेश प्रमुख सुरेश झा सहितका व्यक्तिहरू रहेका थिए ।जानकी महिला जागरण समाजका सहजकर्ता सरिता माझीले युवाहरूद्वारा सञ्चालित अन्य व्यवसायीहरूको बारेमा र कार्यक्रमका भविष्यका योजनाहरूको बारेमा पनि जानकारी दिएका थिइन् ।
टोलीले प्लान इन्टरनेशनल र सपोर्ट नेपालको साझेदारीमा युवा परियोजना बालिका सशक्त परियोजनाको पनि अनुगमन गरेको छ। यो परियोजना कमला नगरपालिकाको वडा नं १ ,२ ३ र ४ तथा शहिद नगर नगरपालिकाको १,४,७,र ९ वडाहरूमा सञ्चालित रहेको छ। विभिन्न समूह र नामले सञ्चालित परिवर्तनको संवाहक केन्द्रहरूमध्ये कमला नगरपालिका वार्ड नं १ को हटलेटबामा मा जानकी परिवर्तनको संवाहक केन्द्रको अवलोकन गरियो।

परिवर्तनका संवाहक – किशोरीहरूको सशक्त स्वर

कमला नगरपालिकाको हटलेटबामा रहेको जानकी परिवर्तनको संवाहक केन्द्रमा सरस्वती महराले आत्मविश्वासका साथ भनिन्, “अब महिनावारी हुँदा सफा र सुरक्षित रहन सक्छु। यस कक्षामा सहभागी भएपछि धेरै कुरा थाहा भयो।”
बालिकाहरूले अब बालविवाहको जोखिम र त्यसका सामाजिक असरबारे बुझ्न थालेका छन्। उनीहरूले यी कुराहरू समुदायमा फैलाउने र सचेतना अभियानमा संलग्न हुने काम सुरु गरेका छन्।
जानकी महिला जागरण समाज र प्लान इन्टरनेशनलको साझेदारीमा सञ्चालित दक्ष युवा परियोजना र सशक्त बालिका परियोजनाले धनुषाका सबैला, शहिदनगर, कमला, विदेह र जनकनन्दनी नगरपालिकाका युवाहरूमा आत्मनिर्भरताको चेतना भरिरहेको छ।
अनुगमन क्रममा बोल्दै जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जोड दिए, “छोरीहरूलाई दक्ष बनाउनु आजको आवश्यकता हो। यसले दहेज प्रथा र लैंगिक असमानता घटाउँछ।”
कमला नगरपालिकाका मेयर विश्वेश्वर यादवले भने, “यस्तो कार्यक्रमले समुदायमै परिवर्तन ल्याएको छ। अझ प्रभावकारी बनाउन नगरपालिकाले पनि साथ दिनुपर्छ।”

नीतिगत प्रतिबद्धता र भविष्यको अपेक्षा

अनुगमनको भोलिपल्ट जनकपुरधाममा आयोजना गरिएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा परियोजनाको उपलब्धिहरू, बजेट र लक्ष्यबारे विस्तृत जानकारी प्रस्तुत गरियो। सहभागीहरूले यसलाई निरन्तरता दिनुपर्ने सुझाव मात्र दिएनन्, परियोजनाको अवधि विस्तार गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
धनुषाका गाउँ–शहरमा आशाको बिउ रोपिएको छ। ती बिउहरू अब अंकुरित भएका छन्—कहिल्यै नरोकिने परिवर्तनको यात्रामा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *