जानकी नवमीको अवमूल्यनप्रति साधुसमाजको आक्रोश, बिदाको माग गर्दै विरोध प्रदर्शन

Share on Social Media

जनकपुरधाम, वैशाख २० गते– धार्मिक एवं सांस्कृतिक चेतनाको केन्द्र जनकपुरधाममा आज जानकी नवमीको अवसरमा सार्वजनिक बिदा माग गर्दै साधुसमाजले विरोध प्रदर्शन गरेका छन्। वैशाख २३ गते जानकी नवमी पर्न लागेको अवसरमा साधु–सन्तहरूले सरकारको ध्यानाकर्षण गराउन जनकपुरधाममा जुलुस प्रदर्शन गरेका छन्।

साधुसमाजका अनुसार जानकी नवमी हिन्दू धर्मालम्बीहरूको लागि मात्र नभई सम्पूर्ण राष्ट्रकै गौरवपूर्ण दिन हो। सीता केवल धार्मिक पात्र नभई नेपालको माटोबाट जन्मेकी, मिथिलाको गौरव र नारी शक्ति तथा समर्पणको प्रतीक पनि हुन्। तर यति महत्वपूर्ण व्यक्तित्वको जन्मदिनमा सरकारले अहिलेसम्म राष्ट्रिय बिदा दिन नसक्नु अत्यन्त दुःखद रहेको उनीहरूको भनाइ छ।

‘सीता हाम्रो संस्कृति र आत्मसम्मानको प्रतीक’

नेपाल सरकारले सीतालाई आधिकारिक रूपमा राष्ट्रिय विभूति घोषणा गरिसकेको छ। यस्ता विभूतिहरूको योगदान सम्झन तथा भावी पुस्तालाई प्रेरणा दिन उनीहरूको स्मृतिमा कम्तीमा एउटा दिन सार्वजनिक बिदा दिनु स्वाभाविक लाग्छ। रामनवमीमा सार्वजनिक बिदा दिइने परिपाटी लामो समयदेखि चलिआएको छ, तर रामकी अर्धांगिनी र मिथिलाकी जननी जानकीको जन्मदिन भने अझै उपेक्षित छ।

प्रदर्शनमा सहभागी जानकी मन्दिरका एक साधुले भने, ‘राम सीताबिना अधुरो हुन्, सीता बिना रामकथा नै अपूर्ण हुन्छ। तर दुखको कुरा, हामी सीतालाई सम्मान गर्ने कुरा मात्रै गर्छौं, व्यवहारमा आउँदैनौं।’

उनले थपे, ‘सीता नेपाली माटोकी छोरी हुन्। उहाँको जन्मस्थलमा हामी बस्छौं। यस्तो ऐतिहासिक र धार्मिक अवसरमा बिदा नदिँदा जनकपुरबासीको भावना कुण्ठित भएको छ।

जानकी नवमी, त्रेता युगमा मिथिलाको राजधानी जनकपुरमा राजा जनककी पुत्रीका रूपमा सीताको जन्म भएको दिन हो। वैदिक परम्परा अनुसार, यो दिन विशेष पूजाआजा, झाँकी, भजनकीर्तन, तथा धार्मिक सभाहरू आयोजना हुने गर्छन्। जनकपुरधाममा त विशेषतः लाखौं श्रद्धालु भारतको बिहार, उत्तर प्रदेश, झारखण्ड, बंगाललगायत स्थानहरूबाट समेत दर्शनका लागि आउने गर्दछन्।

यो पर्व मिथिला क्षेत्रको नारी परम्परा, स्वाभिमान, संयम र सहिष्णुताको प्रतीक मानिन्छ।

बिदा माग्ने मात्र होइन, मान्यता स्थापित गर्ने आन्दोलन

साधुसमाजले विगत केही वर्षदेखि जानकी नवमीलाई राष्ट्रिय मान्यता दिलाउन प्रयास गरिरहेको जनाइएको छ। उनीहरूले यसअघि पनि सरकारलाई ज्ञापनपत्र बुझाइसकेको र यसपटक निर्णय नभएसम्म दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका छ।

जानकी नवमी केवल धार्मिक पर्व मात्र नभई नेपालको सांस्कृतिक अस्मिता र ऐतिहासिक गौरवसँग जोडिएको दिन हो। सीता जसरी नारी शक्तिको मूर्तरूप हुन्, त्यसरी नै जानकी नवमीले पनि समाजमा समर्पण, सहनशीलता र आत्मसम्मानको सन्देश दिन्छ। अब सरकार तथा सम्बन्धित निकायले यस पर्वको महत्व बुझी राष्ट्रिय बिदाका रूपमा मान्यता दिनु आजको आवश्यकता बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *