शहीद सुकदेव महतोको सम्झना : २२ वर्षपछि न्यायको प्रतीक बनेको शालिक

Share on Social Media

राजेश कुमार कर्ण

सर्लाही, वैशाख २१ गते ।
नेपाली राजनीति र इतिहासका केही घाउहरू यस्ता छन्, जुन समयको ओझेलमा पर्दै गए पनि ती घाउहरूले समाजको चेतनामा गहिरो छाप छोडेका छन् । माओवादी सशस्त्र द्वन्द्वको कालखण्डमा अमानवीय ढंगले हत्या गरिएका नेपाली कांग्रेसका नेता सुकदेव महतो पनि यस्तै एउटा पीडादायी सम्झना हुन्, जसको २२ वर्षपछि बनेको शालिक आज न्याय र सम्झनाको प्रतीक बनेको छ ।

हरिवन नगरपालिका–२, अत्रौली गाउँमा वैशाख २१ गते आयोजित समारोहले त्यो ऐतिहासिक अन्यायलाई स्मरण मात्रै गरेन, एक प्रकारको नैतिक पुनर्स्थापनाको पहल पनि गर्‍यो । सो शालिकको अनावरण नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गर्नुभयो। महतोको हत्या २०५९ सालको यही दिन, वैशाख २१ मा भएको थियो— जब उनी खाटमै थिए, माओवादीको एक समूहले घरबाटै निकालेर निर्ममतापूर्वक उनको घाँटी रेटेको थियो ।

राजनीति र भावनाको संगम

शालिक अनावरण कार्यक्रम केवल एउटा मूर्ति उद्घाटनको कार्यक्रम थिएन— त्यो पीडामा रुँदै आएको इतिहासको आवाज थियो। कार्यक्रममा सहभागी नेताहरूको अभिव्यक्तिमा त्यो पीडा, त्यो विस्मरणको गुनासो र त्यसको सन्दर्भमा उठेको आक्रोश झल्कन्थ्यो। विमलेन्द्र निधिले महतोको योगदान र उहाँको बलिदानलाई संघीय लोकतान्त्रिकले संरक्षकका रूपमा चित्रण गर्दै भने, “उहाँको बलिदानप्रति सच्चा श्रद्धाञ्जली भनेकै वर्तमान संघीय गणतान्त्रिक व्यवस्थाको संरक्षण हो।”

जानकी नवमीमा बिदाको माग

अर्को प्रसंगको चर्चा गर्दै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सीता नेपालको राष्ट्र विभूति रहेको र सीताको नामले नेपाल चिनिने गरेको हुनाले सीता जयन्ती अर्थात् जानकी नवमीमा राष्ट्रिय विदा हुनुपर्ने बताउँदै आफूले संघीय सरकार र प्रदेश सरकारलाई बिदा दिन माग गरेको बताए ।

राजनीतिक सन्देश र प्रतिवद्धता

कार्यक्रममा प्रदेशस्तरीय नेतादेखि स्थानीय जनप्रतिनिधिसम्मको उपस्थिति थियो। मधेस प्रदेशसभा सदस्य राम सरोज यादवले खुलेर भ्रष्टाचारको आलोचना गर्दै आफ्नो नैतिक असहजता व्यक्त गरे। “भौतिक योजना मन्त्री योजनाका चिट्ठीहरू बिक्री वितरण गरिरहेका छन्, जुन शर्मनाक अवस्था हो,” उनको भनाइले सत्ताको भित्री सडन र त्यसप्रति नेताहरूको निराशा प्रकट गर्‍यो। उहाँले यतिसम्म भन्नुभयो कि “मलाई प्रदेश सभामा जान पनि लाज लाग्न थालेको छ, तसर्थ गठबन्धन दलको नेताले सरकारलाई बाहिरबाट समर्थन गरौँ र सरकारमा नबसौ भन्ने मेरो विचार छ।”

पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले महतोको नाममा स्मारक प्रतिष्ठान स्थापना भएकोमा खुसी व्यक्त गर्दै भवन निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। “यो वर्षभित्रै कार्य थालिन्छ,” उनको कथनले आशा र निरन्तरताको सन्देश दियो। म प्रदेश सरकार समक्ष पहल गर्छु र यदि सरकारले दियो भने त ठिकै छ दिएन भने पनि म आफ्नो संसदीय कोषबाट भएपनि यस कार्यको शुभारम्भ अवश्य गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गरे।

बिर्सिँदै गएका शहिदहरू र स्मृतिको पुनरावलोकन

कार्यक्रमका अन्य वक्ताहरूले दुःख व्यक्त गरे— माओवादी द्वन्द्वकालमा मारिएका नेपाली कांग्रेसका थुप्रै नेताहरू आज बिर्सिँदै गएका छन्। न स्मारक छन्, न सम्झनाका कुनै प्रयास। तर सुकदेव महतोको शालिक एक उदाहरण हो— कि बिर्सिएको इतिहास पनि सम्झनामा फर्कन सक्छ, शहीदहरूको बलिदानले फेरि पनि सन्देश दिन सक्छ।

एक शहीदको सन्तानको आँखाबाट

कार्यक्रम शहीद सुकदेव महतोका छोराको सभापतित्वमा सम्पन्न भयो। त्यो क्षण एक सन्तानका लागि पीडाको पुनःप्रत्यक्षीकरण मात्र थिएन, त्यो एउटा गहिरो न्यायको अनुभूति पनि थियो— जुन न्याय अदालतको फैसला होइन, जनभावनाको अभिव्यक्तिबाट प्राप्त भएको थियो।

शहिद सुकदेव महतोको छोरा सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संविधानसभा सदस्य हरेश महतो, प्रदेश सभा सदस्य जङ्गी लाल राय, योगेन्द्र पजियार, नागेन्द्र कुमार राय, कौशल किशोर सिंह, सुरेन्द्र सिंह, राजकुमार महतो, पुनम कर्ण, शम्भुलाल श्रेष्ठ, प्रमोद बराल सहितका नेताहरूले शहिद सुकदेव महतो प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको चरित्रका बारेमा आफ्ना मन्तव्य राखेका थिए।
अधिकांश वक्ताहरूले माओवादी र अन्य कार्यकालमा नेपाली कांग्रेसका थुप्रै नेताहरु मारिएको भए पनि ती नेताहरूको सम्झनामा गर्नुपर्ने विभिन्न प्रकारका निर्माण कार्यहरु गर्न नसकिएको मा गुनासो गुनासो व्यक्त गरे। वक्ताहरूले शहीद महतोको योगदान, व्यक्तित्व र समर्पणको चर्चा गर्दै उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरे। साथै, भविष्यमा शहीदहरूको सम्झनामा संरचनात्मक विकास र ऐतिहासिक स्मृतिहरू जोगाउने पहल गर्न आवश्यक रहेको कुरामा जोड दिए।
सुकदेव महतोको शालिक अत्रौलीमा उभिएपछि केवल एउटा व्यक्तिको सम्झनालाई जीवित राखिएको छैन— त्यो शालिक एउटा पुस्तालाई सम्झाइरहेको छ कि बलिदानहरू बिर्सनु हुँदैन, इतिहासको गहिरो घाउहरूलाई स्मृतिमा राख्दै न्यायको बाटोमा अघि बढ्नु पर्छ। संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म बुझ्न र बचाउन शहीदहरूको योगदानलाई केवल भाषणमा होइन, व्यवहारमा उतार्न जरुरी छ— र त्यही नै सुकदेव महतोप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *