विद्युतीय चुलोको ज्योति: एक उज्यालो भविष्यतर्फको पाइला

राजेश कुमार कर्णजनकपुरधाम, माघ २१ गते ।धनुषाको चारनाथ नगरपालिकाको वीरेन्द्र बजारमा एउटा फरक खालको दृश्य थियो। शुक्रबारको हटिया बजारको चहलपहल स्वाभाविक थियो। तर एउटा कौतूहल पनि थियो। मानिसहरू उत्सुक थिए, कारण थियो— विद्युतीय चुलो प्रदर्शन कार्यक्रम। गत शुक्रबार यो प्रदर्शन कार्यक्रम गरिएको थियो । क्लिन कुकिङ अलायन्सद्वारा सञ्चालित परियोजना अन्तर्गतका सस्टेनेबल प्रस्परिटी इनिसिएटिभ नेपालको नेतृत्वमा …

Share on Social Media


राजेश कुमार कर्ण
जनकपुरधाम, माघ २१ गते ।
धनुषाको चारनाथ नगरपालिकाको वीरेन्द्र बजारमा एउटा फरक खालको दृश्य थियो। शुक्रबारको हटिया बजारको चहलपहल स्वाभाविक थियो। तर एउटा कौतूहल पनि थियो। मानिसहरू उत्सुक थिए, कारण थियो— विद्युतीय चुलो प्रदर्शन कार्यक्रम। गत शुक्रबार यो प्रदर्शन कार्यक्रम गरिएको थियो । क्लिन कुकिङ अलायन्सद्वारा सञ्चालित परियोजना अन्तर्गतका सस्टेनेबल प्रस्परिटी इनिसिएटिभ नेपालको नेतृत्वमा गणेशमान चारनाथ नगरपालिकाको बिरेन्द्र बजारमा जानकी महिला जागरण समाज जनकपुर सँगको साझेदारीमा सो विद्युतीय चुलो प्रदर्शनी आयोजना गरिएको थियो।

गाउँगाउँमा वर्षौंदेखि चल्दै आएको परम्परागत चुल्हो, दाउराको धुवा, ग्यासको चर्को मूल्य, अनि त्यसले निम्त्याउने समस्या। तर, आज यहाँ नयाँ आशा थियो—सहुलियत दरमा विद्युतीय चुलो बिक्री वितरणको ।
ऊर्जा विज्ञ मोहनदास मानन्धर कार्यक्रमको मुख्य आकर्षण थिए। उनी अहिले नेपालका विभिन्न गाउँहरूमा पुगेर कार्बन उत्सर्जन घटाउने अभियानमा जुटेका छन् । उहाँको सोच स्पष्ट छ— नेपाल जलस्रोतमा धनी देश हो। बिजुलीमा आत्मनिर्भर बन्दैछ, निर्यातसमेत हुँदैछ। यस्तो अवस्थामा किन ग्यासमा परनिर्भर हुनु? किन वनजङ्गल मास्नु?


विद्युतीय चुलो: एक नयाँ सुरुवात


कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका उपमेयर तुलसा पाण्डेले हर्ष व्यक्त गरिन्। “७५० घरधुरीमा विद्युतीय चुलो सहुलियत दरमा बिक्री वितरण गर्न लागिएको छ,” उनले भनिन्, “नगरपालिकाले चुलोसँगै आवश्यक भाँडाकुडा पनि उपलब्ध गराउने योजना बनाएको छ।”


जानकी महिला जागरण समाजका कार्यकारी निर्देशक राजन नेपाल थप्छन्, “पहिले नै सर्वेक्षण सम्पन्न भइसकेको छ। पहिलो चरणमा वडा नम्बर १, ३, र ६ मा चुलो सहुलियत दरमा बिक्री वितरण हुनेछ।”
विद्युतीय चुलो मात्र होइन, यो परिवर्तनको एक पहल हो— एक सफा, हराभरा, र आत्मनिर्भर नेपाल बनाउने दिशामा एक महत्वपूर्ण पाइला।


धुवामुक्त भान्साको सपना


सस्टेनेबल प्रस्परिटी इनिसिएटिभ नेपाल (एसपीआइ नेपाल) की डाइरेक्टर सरिता कार्की भन्छिन्, “दाउरा र गुइँठाको धुवाले महिलाको स्वास्थ्यमा नकारात्मक असर पार्दै आएको छ। विद्युतीय चुलोले यो समस्या समाधान गर्छ।”
सयौं स्थानीय बासिन्दाहरू, महिलाहरू, सामाजिक अभियन्ताहरूको उत्साहजनक उपस्थिति थियो। प्रदर्शनी हेर्न आएका ५०० भन्दा बढी व्यक्तिहरूका आँखामा एकै प्रकारको चमक थियो— नयाँ परिवर्तनको चमक।
स्थानीय एक महिला भन्छिन्, “ग्यास किन्ने पैसा बच्ने भयो, दाउराको झन्झट हट्ने भयो। अब छोराछोरीलाई राम्रो वातावरणमा खाना खुवाउन पाउने भएँ।”


सकारात्मक परिवर्तनको संदेश


ऊर्जा विज्ञ मोहनदास मानन्धर भन्छन्, “विद्युतीय चुलो त प्रविधि मात्र हो, तर यसको प्रभाव विशाल छ। वातावरण जोगिन्छ, स्वास्थ्य सुध्रिन्छ, अर्थतन्त्र बलियो बन्छ। हामीले यही परिवर्तनलाई देशभर फैलाउनुपर्छ।”
यो कार्यक्रम सिर्फ चुलो प्रदर्शनको घटना मात्र थिएन, यो सोच परिवर्तन गर्ने अभियान थियो। नेपाल बिजुलीमा आत्मनिर्भर बन्दै गर्दा, सफा उर्जाको प्रयोग बढाएर हामीले आफ्नो भविष्य उज्यालो बनाउन सक्दछौं।
आज यो अभियानले धनुषाको केही गाउँमा नयाँ उज्यालो ल्याउँछ, भोलि सिंगो देश नै उज्यालो हुनेछ। विद्युतीय चुलो त एउटा सानो परिवर्तन जस्तो लाग्न सक्छ, तर यही परिवर्तनले एउटा ठूलो क्रान्ति सम्भव बनाउनेछ।

Rajesh Kumar Karna

Rajesh Kumar Karna

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *