Share on Social Media संघीय सरकारले प्रदेशका जनसंख्या, समस्या र समग्र विकासको आवश्यकता हेरेर ठुलो बजेट विनियोजन गर्नुपर्ने अपेक्षा विपरीत मधेस प्रदेशलाई प्राप्त हुने रकम अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ।
प्रधानमन्त्री ओलीको जनकपुर भ्रमण: विकासको आश्वासन, बजेटमा उपेक्षा

राजेश कुमार कर्ण
जनकपुरधाम, जेठ १८ गते।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधाम र मधेस प्रदेशको ऐतिहासिक, धार्मिक र भौतिक विकासको विषयमा गहिरो चासो व्यक्त गर्दै प्रदेशको समग्र विकास तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ। तर तीन दिनअघि सार्वजनिक भएको संघीय बजेटमा उक्त चासो र प्रतिवद्धताको पर्याप्त झल्को नदेखिएको भन्दै स्थानीय तहमा निराशा छाएको छ।
प्रधानमन्त्री ओली आज जनकपुरधामस्थित बार्जनिया रंगभूमि परिसरमा आयोजित कार्यक्रममा सहभागी हुन आएका थिए। कार्यक्रममा उहाँले मधेस प्रदेश सरकारको दोस्रो चरणको “एक निर्वाचन क्षेत्र, एक सडक” कार्यक्रमअन्तर्गत ६४ वटै निर्वाचन क्षेत्रमा डिजिटल प्रविधिबाट एकैपटक शिलान्यास गर्नुभयो।
धार्मिक सन्दर्भ र भूगोलको चर्चा
भाषणको सुरुआतमा प्रधानमन्त्री ओलीले जनकपुरधामको धार्मिक र सांस्कृतिक महत्त्वको चर्चा गर्दै “यो भूमि सीता, राम, दशरथ, परशुराम र विश्वामित्रको हो” भन्नुभयो। तर जनकपुरधाम नामसँग प्रत्यक्ष जोडिएको राजा जनकको नाम उहाँको वक्तव्यमा छुटेकोप्रति कतिपयले चर्चाका विषय बनाएका थिए।
उहाँले जनकपुरधामको पर्याप्त प्रशंसा गरे पनि, यस क्षेत्रको अपेक्षाकृत न्यून विकासप्रति चिन्ता पनि व्यक्त गर्नुभयो। “जनकपुरको विकास बामे होइन, तीव्र गतिमा हुनु पर्छ,” प्रधानमन्त्रीले भन्नुभयो।

पूर्वाधार, रेल र रंगशालाका योजनाहरू
प्रधानमन्त्री ओलीले मधेस प्रदेशमा निर्माणाधीन भौतिक पूर्वाधारबारे विस्तृत जानकारी दिँदै वीरगञ्जमा रंगशालाको काम अघि बढिरहेको र जनकपुरधाममा पनि रंगशाला बन्ने प्रतिबद्धता जनाउनुभयो।
त्यस्तै, बीरगञ्ज–सिमरा औद्योगिक कोरिडोर, जनकपुर–जयनगर रेल सेवा र पूर्व–पश्चिम रेलमार्गका योजनाहरूको पनि चर्चा गर्नुभयो। पूर्व–पश्चिम रेलको सन्दर्भमा उहाँले “ब्रोड गेज कि स्ट्यान्डर्ड गेज” को निर्णय प्रक्रियामा रहेको जानकारी दिँदै, सो रेलमार्गको निर्माणका लागि नयाँ जग्गा अधिग्रहण आवश्यक नपर्ने भन्दै वर्तमान सडक मार्गकै छेउबाट रेल निर्माण गरिने योजना रहेको उल्लेख गर्नुभयो।
सिंचाइ समस्या र चुरे संरक्षण
प्रधानमन्त्रीले मधेस प्रदेशको प्रमुख समस्या पानी र सिंचाइ भएको स्वीकार गर्दै, यसको दीर्घकालीन समाधानका लागि चुरे संरक्षण अनिवार्य रहेको बताउनुभयो।
सुनकोशी–मरिन डाइभर्सन आयोजना अन्तर्गत अधिकांश कार्य सम्पन्न भइसकेको भए पनि ठेकेदारको लापरवाहीका कारण बाँकी काममा ढिलाइ भएको भन्दै ठेक्का रद्द गर्न चेतावनी समेत दिनुभयो। कमला र सुनकोशी नदीका सन्दर्भमा पनि उहाँले सामान्य चर्चा गर्नुभयो तर नयाँ अवधारणा प्रस्तुत गर्नुभएन।
शिक्षा र बेटी बचाऊ अभियानको प्रशंसा
प्रधानमन्त्री ओलीले मधेस प्रदेशको साक्षरता दर पहाडी र हिमाली जिल्लाहरूभन्दा कमजोर रहेको तथ्य प्रस्तुत गर्दै बेटी पढाउ–बेटी बचाऊ अभियानलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो। बालिकाहरूको शिक्षामा प्राथमिकता दिनुपर्ने र समाजले छोरीहरूलाई समान अवसर दिनुपर्ने सन्देश दिनुभयो।
कार्यक्रमको वातावरण र सहभागिता

जनकपुरधामको कार्यक्रम भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको थियो। सभागृहको पछिल्लो भागबाट पटक–पटक प्रधानमन्त्री ओली जिन्दाबाद, मन्त्री सरोज कुमार यादव जिन्दाबाद जस्ता नाराहरू गुन्जिएका थिए।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, पूर्व मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सभा दलका नेता श्रीकृष्ण यादव, भौतिक पूर्वाधार विकास मन्त्रीलगायत नेताहरूको उपस्थिति थियो। प्रधानमन्त्रीलाई जानकी मन्दिरको मूर्तिको उपहार पनि प्रदान गरिएको थियो।
तर बजेटमा मधेसको विकास कहा छ र ?
यद्यपि प्रधानमन्त्रीको भाषणमा मधेस र जनकपुरको विकासप्रति गहिरो चासो देखिए पनि हालै सार्वजनिक भएको संघीय बजेटमा भने मधेस प्रदेशलाई छुट्टै प्राथमिकता नदिएकोप्रति विश्लेषकहरूले ध्यानाकर्षण गराएका छन्।
संघीय सरकारले प्रदेशका जनसंख्या, समस्या र समग्र विकासको आवश्यकता हेरेर ठुलो बजेट विनियोजन गर्नुपर्ने अपेक्षा विपरीत मधेस प्रदेशलाई प्राप्त हुने रकम अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ।
विकासको चुनौती र वास्तविकता
विकास योजनाको अभाव, बजेटीय न्यूनता, कर्मचारीको अभाव, ढिलासुस्ती र पारदर्शिताको कमीजस्ता समस्याले मधेस प्रदेशको विकास गति मन्द बनाएको प्रदेशस्तरीय प्रतिवेदनहरूले पनि औंल्याएका छन्। सरकारको घोषणाहरूको प्रचार प्रसार धेरै भए पनि तिनको कार्यान्वयन पक्ष कमजोर देखिएको विश्लेषकहरूको भनाइ छ ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers