भैरहवा, रुपन्देही, असार १४ गते ।
नेपाल–भारत खुला सिमा संवाद समूह, रुपन्देहीको अगुवाइमा भैरहवाको होटल पौवामा “खुला सिमा : परम्परा, परस्पर निर्भरता र वर्तमान अवस्था” शीर्षकमा विशेष जनसंवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सीमा क्षेत्रमा बसोबास गर्ने जनताका आवश्यकताहरू, सीमा व्यवस्थापनका चुनौतीहरू र नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धका विविध पक्षहरूबारे बहस गरियो।
कार्यक्रमका मुख्य वक्ता तथा समूहका केन्द्रीय अध्यक्ष डा. राजीव झाले कार्यपत्र प्रस्तुत गर्दै खुला सिमालाई केवल भौगोलिक होइन, गहिरो सांस्कृतिक, पारिवारिक र ऐतिहासिक सम्बन्धको जीवन्त प्रतीकका रूपमा परिभाषित गरे। उनले भने, “खुला सिमाले दुई देशबीचको सामाजिक र आर्थिक सम्बन्धलाई सहज बनाएको छ। व्यापार, रोजगार, स्वास्थ्य उपचार र पारिवारिक आवागमनका लागि यसले गम्भीर सुविधा पुर्याएको छ।” साथै, उनले सीमा क्षेत्रमा बसोबास गर्ने जनताको लागि दुवै देशका सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार र व्यवसायमा प्राथमिकता दिनुपर्ने माग गरे।

पूर्वमन्त्री तथा संविधान सभा सदस्य ओमप्रकाश गुलजारीले नेपाल–भारत सम्बन्धलाई राम–सीताको सम्बन्धसँग तुलना गर्दै “यो सम्बन्ध तोड्न कसैले पनि सक्दैन” भन्ने दाबी गरे। उनले सीमा प्रशासनको दुरुपयोगले कहिलेकाहीँ सम्बन्धमा तनाव आउन सक्ने खतरा औंल्याए।
कार्यक्रममा मधेसवादी नेता केशव झाले नेपाल–भारत सीमालाई इतिहासमा अंग्रेजहरूले कृत्रिम रूपमा बाँडेको स्मरण गर्दै युरोपेली यूनियनको खुला सीमा मोडललाई उदाहरणका रूपमा प्रस्तुत गरे। उनले जातीय व्यवस्थाको प्रसंग उठाउँदै रामायण कालको समय जातिविहीन भएको र पछिल्लो कालमा जातीय विभाजन लादिएको टिप्पणी गरे।
लुम्बिनी प्रदेश सांसद कन्हैया बानियाँले केही युवाहरूले तारबारको माग गरे पनि अधिकांश जनता खुला सिमाकै पक्षमा रहेको बताए। उनले सीमा क्षेत्रको विकासलाई सुनिश्चित गर्न दुवै मुलुकले समन्वित नीति ल्याउनुपर्नेमा जोड दिए।
नेपाल–भारत खुला सिमा संवाद समूह बाँकेका अध्यक्ष प्रशान्त गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले ऐतिहासिक सम्बन्धलाई संस्थागत गर्न खुला सीमाको संरक्षण र व्यवस्थापन अपरिहार्य रहेको बताए।
कार्यक्रममा जनमत पार्टीका नेता भूपेन्द्र यादवले मधेसी समुदायले अपेक्षाकृत भारतीय सहयोग नपाएको गुनासो राखे भने नेपाल–भारत दलित मैत्री संघका अध्यक्ष ओमप्रकाश विश्वकर्माले भारतले सधैं नेपालप्रति मैत्रीपूर्ण भूमिका खेलेको उल्लेख गरे।
नेपाल भारत मैत्री संघका पूर्वअध्यक्ष मुरारीलाल अग्रवालले भारतले आफ्नै बजेटबाट नेपालका लागि सहयोग छुट्याउँदै आएको तथ्य प्रस्तुत गरे। गोपाल सेवा समितिका अध्यक्ष भरथरी यादवले खुला सिमाबाट सीमावर्ती जनताले पाएको सस्तो बजार, सहज उपचार र रोजगारीजस्ता सुविधाको चर्चा गरे।
कार्यक्रममा आनन्द प्रसाद गुप्ता, मोहित कुमार द्विवेदी, दिलिप हरिजन, मनोज अग्रहरी, दुर्गेश यादव, दीपेन्द्र मौर्य, पंकज पाठक, अर्जुन कुर्मी, उर्मिला यादवलगायतको उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले खुला सिमाको संवेदनशीलता बुझेर यसलाई जनताको हितमा सन्तुलित ढंगले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।