मखाना खेतीको प्रवर्द्धनमा मटिहानी नगरपालिकाको सक्रियता : बजारीकरण सामाग्री वितरण

Share on Social Media


– मो. इसराफिल राईन, महोत्तरी

मटिहानी, असार, २३ गते ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले मखाना खेतीमा संलग्न कृषकहरूलाई बजारीकरणका लागि आवश्यक सामग्री वितरण गरेको छ। सोमबार मटिहानी नगरपालिका कार्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रममा नगरप्रमुख हरिप्रसाद मण्डलले कृषकहरूलाई बोरा, झोला र त्रिपाल हस्तान्तरण गर्दै मखानाको विकास र बजारीकरणका लागि पालिका प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा नगरप्रमुख मण्डलले भने, “मखाना मटिहानीको विशिष्ट कृषि उत्पादन हो। यसको संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्न हामी योजना अनुसार अघि बढिरहेका छौं। पालिकाले मखानालाई दीगो आम्दानीको स्रोत बनाउन चाहन्छ।”

२१ कृषकलाई सामग्री वितरण, उत्पादन क्षमताअनुसार वर्गीकरण

कृषि शाखाको समन्वयमा गरिएको वितरण कार्यक्रम अन्तर्गत २१ जना मखाना कृषकलाई उनीहरूको उत्पादन क्षमताको आधारमा १०० देखि ४०० थान बोरा, २०० थान झोला र १ थान त्रिपाल वितरण गरिएको छ। कार्यक्रममा कृषि शाखाका सह-संयोजक टंक प्रसाद उपाध्यायले भने, “विगत तीन वर्षदेखि पालिकाले यस्ता सहयोग सामाग्री वितरण गर्दै आइरहेको छ। यसले कृषकहरूको उत्पादन संरक्षण र बजारीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।”

धार्मिक महत्व र उत्पादन सम्भावना

मखानाको धार्मिक महत्त्वसमेत रहेको छ। विशेष गरी हिन्दु धर्ममा यसलाई पवित्र अन्न मानिन्छ र दीपावली, कोजाग्रत पूर्णिमा जस्ता पर्वहरूमा प्रयोग हुने गर्छ। यही सांस्कृतिक महत्त्वका कारण पनि यसको माग बढ्दो छ।

हाल मटिहानी नगरपालिकाको करिब १२५ बिघा जमिनमा मखाना खेती भइरहेको छ, जहाँ बार्षिक करिब ८० मेट्रिक टन उत्पादन हुने गरेको कृषि शाखाको तथ्यांकमा उल्लेख छ। सहनी र मुस्लिम समुदायका करिब १०० परिवार मखाना खेती तथा व्यवसायमा संलग्न छन्।

स्थानीय प्रतिनिधिहरूको उपस्थिति

सामग्री वितरण कार्यक्रममा वडा नं. ६ का अध्यक्ष कलीम अंसारी, वडा नं. ७ का अध्यक्ष जितनारायण माझी, जिल्ला समन्वय समिति महोत्तरीका सदस्य राम लखन पंजियार, महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहन प्रसाद गुप्ता, उपाध्यक्ष अजय साह, सचिव विजय साहलगायत स्थानीय अगुवा र कृषकहरू उपस्थित थिए।

उक्त अवसरमा सहभागी कृषक महेश सहनीले भने, “पालिकाले दिँदै आएको सहयोगले हाम्रो मखाना व्यवसाय अघि बढेको छ। अब बजारसम्म पुर्‍याउन सजिलो भएको छ।

स्थानीय स्रोत र संस्कृति अनुरूपको कृषि प्रवर्द्धनमा मटिहानी नगरपालिकाको यस्तो पहलले न केवल कृषकहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउँछ, बरु गाउँघरको आर्थिक जीवनशैलीमा पनि दीर्घकालीन परिवर्तन ल्याउन सक्छ। यस्तो खालको योजनाबद्ध र सामुदायिक सहभागितामा आधारित कार्यक्रमले मखाना खेतीलाई औद्योगिक सम्भावनासम्म पुर्‍याउने आशा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *