मध्यरातमा कांग्रेस विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति घोषणा

Share on Social Media



काठमाडौं, १ माघ २०८२ — माघे संक्रान्तिको मध्यरात पार गर्दै नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेको छ। भृकुटीमण्डपस्थित बन्दसत्र लामो छलफल, भाषण र नामावली वाचनपछि मध्यरातपछि मात्रै निष्कर्षमा पुगेको थियो।
कार्यक्रमकी उद्घोषकले ठीक १२ बज्नासाथ भनेकी थिइन्, “हामी नयाँ दिन कुरिरहेका थियौं, त्यसैले केही ढिला भयो।” यसबाट आयोजकहरू माघ १ गतेकै दिन नयाँ नेतृत्व सार्वजनिक गर्न चाहन्थे भन्ने स्पष्ट देखिन्छ।
करिब सवा ११ बजे सभापति गगन थापा सहित पदाधिकारी र केन्द्रीय सदस्यहरू हलमा प्रवेश गरेपछि नामावली वाचन र सम्बोधन सुरु भएको थियो। नेताहरूले छोटा–छोटा राजनीतिक मन्तव्य दिएपछि मात्रै समिति घोषणा गरिएको हुँदा करिब दुई घण्टा समय लागेको थियो।
कांग्रेसको संस्थापन पक्षले यस विशेष महाधिवेशनप्रति असन्तुष्टि जनाइरहेकै अवस्थामा नयाँ कार्यसमिति घोषणा गरिएको हो। अन्तिम समयमा सहमतिको प्रयास भए पनि सफल हुन सकेन, जसका कारण मतदानभन्दा पनि राजनीतिक समझदारीका आधारमा नेतृत्व टुंग्याइएको बुझिन्छ।
यसबीच दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा मञ्चमा सौहार्दपूर्ण देखिए र एक–अर्कालाई माला लगाइदिए।
महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा चयन भएका छन्। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल छानिएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।
सहमहामन्त्रीहरूमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, खस–आर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।
नयाँ नेतृत्वले अब आफ्नो आधिकारिकता प्रमाणित गर्न निर्वाचन आयोग जाने तयारी गरेको छ। सभापति चयनलगत्तै गगन थापाले भनेका छन्, “निर्वाचन आयोग कसैको प्रभावमा पर्दैन भन्ने विश्वास छ।”
राजनीतिक रूपमा यो महाधिवेशनले कांग्रेसभित्र युवा नेतृत्वको उदयलाई बल दिएको छ। गगन थापाको नेतृत्वले पार्टीलाई सुधार, पारदर्शिता र पुस्तान्तरणतर्फ लैजाने अपेक्षा गरिएको छ। तर संस्थापन पक्षको असन्तुष्टि कायमै रहेकाले आगामी दिनमा पार्टीभित्र आन्तरिक विवाद जारी रहने सम्भावना पनि उत्तिकै छ।

लेखकबाट थप

धनुषाका ५ पालिकामा सञ्चालित दक्ष युवा परियोजना सम्पन्न, ३५० युवालाई रोजगारी

आज माघे सङ्क्रान्ति,सूर्यले धनुर राशिबाट मकर राशिमा प्रवेश गर्दै उत्तरायण यात्रामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *