जनकपुरमा मुकुम्लुङ आन्दोलनको पक्षमा राष्ट्रिय मुक्ति पार्टीद्वारा कोणसभा

Share on Social Media

बोली समाचारदाता

जनकपुरधाम, फागुन १७ गते । – मुकुम्लुङ क्षेत्रमा केवलकार निर्माणको विरोधमा जारी आन्दोलनलाई समर्थन जनाउँदै राष्ट्रिय मुक्ति पार्टी, मधेस प्रदेश ले आज जनकपुरको जनकचौकमा कोणसभाको आयोजना गर्यो।

कोणसभामा पार्टीका नेताहरूले पाथीभरा क्षेत्रमा केवलकार निर्माणलाई अनैतिक कदमको रूपमा व्याख्या गर्दै विरोध जनाए। पार्टीका नेता राजीव झा ले पाथीभरा माताले केवलकार निर्माणको अनुमति नदिएको दाबी गर्दै यसअघि यस्तो प्रयास गर्नेहरूमध्ये केही हेलिकप्टर दुर्घटनामा परेको घटनालाई स्मरण गराए। उनले २०७५ अघि संरक्षित क्षेत्र रहेको पाथीभरा पहाडलाई केपी ओली नेतृत्वको सरकारले जबरजस्ती विकास क्षेत्रमा परिणत गरेको र आफ्ना कार्यकर्तालाई सस्तो मूल्यमा जग्गा उपलब्ध गराएको आरोप लगाए।

झाले हालको सरकारको भूमिकामाथि पनि प्रश्न उठाउँदै स्थानीयवासीको असहमति र आन्दोलनलाई उपेक्षा गर्दै केवलकार निर्माणलाई जबरजस्ती अघि बढाउन खोजिएको बताए। उनले सम्पूर्ण नेपाली जनतालाई यो परियोजनाको विरोधमा एकजुट हुन आह्वान गरे।

कोणसभामा पार्टीका अन्य नेता संजय चौधरी, दीपक यादव, विद्यार्थी नेता तनबिर रेजा लगायतका वक्ताहरूले मुकुम्लुङ आन्दोलनको समर्थन गर्दै केवलकार निर्माण परियोजना जनताको इच्छाविपरीत लाद्न नहुने धारणा राखे। कार्यक्रममा करिब ५०–६० जना अगुवा कार्यकर्ता को उपस्थिति रहेको थियो। सहभागीहरूमध्ये नेता संजय सिंह, दीपक झा, विनोद ठाकुर, कृष्ण कुमार साह, भरत साह, मो. समीर, अरबाज दरजी तथा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष पदका उम्मेदवार सुमन झा समेत थिए।

मुकुम्लुङ आन्दोलनको समर्थनमा जनकपुरमा देखिएको यो सक्रियता आगामी दिनमा राष्ट्रिय तहमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *