बोली समाचारदाता।

भैरहवा, फागुन १७ गते । – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ले भारतको उडिसास्थित केआईआईटी कलेजमा भएको दुःखद घटनामा ज्यान गुमाएकी प्रकृति लम्सालको परिवारलाई भेटी न्याय सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
कोइराला प्रकृतिको भैरहवा स्थित घर पुगेर उनका बुवा, आमा, हजुरबुवा र भाइसँग भेट गरी नेपाल सरकारले घटनालाई अत्यन्त गम्भीर रूपमा लिएको जानकारी गराए। उनले निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको बताए।
साथै, उनले केआईआईटी कलेजमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरूको सुरक्षाको विषयमा पनि सरकार र पार्टीले पहल गरिरहेको उल्लेख गर्दै विद्यार्थीहरू सहज रूपमा होस्टेल फर्किन सक्ने वातावरण निर्माण गर्न आवश्यक व्यवस्था मिलाउने आश्वासन दिए।
कोइरालासँगै नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डबिक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल समेत लम्साल परिवारलाई भेट्न पुगेका थिए।
प्रकृति लम्सालको निधनले नेपाली विद्यार्थी समुदायमा गहिरो दुःख र चिन्ता छाएको छ। यस घटनाको निष्पक्ष छानबिन र नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि नेपाल सरकारको भूमिका अझै सशक्त बन्नुपर्ने आवाज उठ्न थालेको छ।