मोनास्टिक स्कुलले जित्यो बिवाईडी चौथो अन्तर स्कुल टी-२० क्रिकेट प्रतियोगिता

Share on Social Media

जनकपुरधाम, फागुन २८ गते – जनकपुरधाममा सम्पन्न बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी-२० क्रिकेट प्रतियोगिताको उपाधि मोनास्टिक स्कुलले आफ्नो नाममा लेखाएको छ। मंगलबार भएको फाइनल खेलमा मोनास्टिक स्कुलले मदर टेरेशा पब्लिक स्कुललाई ७ विकेटले पराजित गर्दै विजयी ट्रफी उचालेको हो।

फाइनल खेलको रोमाञ्चक क्षणहरू

मदर टेरेशा पब्लिक स्कुलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्‍यो। तर, मोनास्टिक स्कुलका बलरहरूको आक्रमक प्रदर्शनका कारण मदर टेरेशा पब्लिक स्कुलको टिम ९२ रनमै समेटियो। टिमका लागि युवराज शर्माले सर्वाधिक १३ रन बनाए भने सुरज यादवले १० रनको योगदान दिए। मोनास्टिक स्कुलका बलर पियुष ठाकुरले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे भने सुरज यादवले २ विकेट लिए।

जवाफमा मोनास्टिक स्कुलले सानदार ब्याटिङ गर्दै ३ विकेट गुमाएर मात्र ९४ रन बनाउँदै उपाधि हात पार्‍यो। टिमका लागि नितेश यादवले सर्वाधिक २८ रन जोडे भने पियुष ठाकुरले २६ रन बनाए। मदर टेरेशा पब्लिक स्कुलका बलर रिशन झाले २ विकेट लिए भने युवराज शर्माले १ विकेट हात पारे।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू

  • म्यान अफ द म्याच: पियुष ठाकुर (मोनास्टिक स्कुल)
  • प्लेयर अफ द सिरिज: पियुष ठाकुर (मोनास्टिक स्कुल)
  • बेस्ट ब्याट्सम्यान: आयुष राज साह (मोनास्टिक स्कुल)
  • इमर्जिङ प्लेयर: रिशन झा (मदर टेरेशा पब्लिक स्कुल)
  • बेस्ट बलर: रिशन झा (मदर टेरेशा पब्लिक स्कुल)
  • बेस्ट किपर: इरफान साफी (मदर टेरेशा पब्लिक स्कुल)
  • बेस्ट फिल्डर: प्रेम यादव
  • फेयर प्ले अवार्ड: शिशु प्रज्ञान सदन स्कुल

ट्रफी हस्तान्तरण र समापन समारोह

प्रतियोगिताको समापन समारोह जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यमा सम्पन्न भयो। ट्रफी हस्तान्तरण गर्दै प्रमुख अतिथि साहले स्कुल स्तरमै यस्ता खेल प्रतियोगिताहरूले विद्यार्थीहरूको शारीरिक फिटनेसमा टेवा पुर्‍याउने उल्लेख गरे।

समारोहमा जनकपुरधाम उपमहानगरपालिका वडा न.-९ का अध्यक्ष परमेश्वर साह, मोनास्टिक स्कुलका निर्देशक सोनु साह, हिरा हस्पिटलका सञ्चालक हिरा यादव, प्रतियोगिताका संयोजक प्रशान्त अरविन्द, सजिलो पोस्टका अध्यक्ष गिरिजानन्द साह, राष्ट्रिय आवाजका ओम प्रकाश साह लगायत विभिन्न विद्यालयका प्रतिनिधि, पत्रकार तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताको समग्र समीक्षा

जनकपुर स्पोर्ट्स क्लब र न्यु भिजन नेपालले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका थिए। खेलहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का नियमअनुसार सञ्चालन गरिएको थियो। प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई न्यु भिजन नेपालका अध्यक्ष अम्भु प्रसाद साहले धन्यवाद ज्ञापन गर्दै समापन गरेका थिए।

यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभएर युवा क्रिकेट प्रतिभाहरूको पहिचान र विकासको उत्कृष्ट अवसर बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *