धनुषा ३ र ४ मा कांग्रेस अग्रस्थानमा, दुवै क्षेत्रमा एमाले र रास्वपासंग कडा प्रतिस्पर्धा

राजेश कुमार कर्ण

जनकपुरधाम ।
प्रतिनिधिसभा निर्वाचन हुन अब सात दिन मात्र बाँकी रहँदा धनुषा जिल्लामा चुनावी सरगर्मी चरममा पुगेको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र रणनीतिक भेटघाटमा व्यस्त छन्। यद्यपि सबैभन्दा बढी राजनीतिक चासो र बहस केन्द्रित भएको क्षेत्र भने धनुषा निर्वाचन क्षेत्र नम्बर ३ नै हो।

क्षेत्र नम्बर ३ : त्रिकोणात्मक प्रतिस्पर्धाको केन्द्र

धनुषा–३ मा यसपटक नेपाली कांग्रेसका उम्मेदवार बिमलेन्द्र निधि, नेकपा (एमाले) का जुली महतो र राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा बीच कडा त्रिकोणात्मक प्रतिस्पर्धा हुने निश्चित जस्तै देखिएको छ।
यो क्षेत्र धनुषाका अन्य तीन क्षेत्रको तुलनामा राजनीतिक रूपमा सचेत मतदाता धेरै भएको मानिन्छ। तर त्यहीँ अनुपातमा जातीय आधारमा मतदान हुने प्रवृत्ति पनि यहाँ प्रबल देखिन्छ। विगतका निर्वाचनमा बहुसंख्यक जातीय समूहहरूबीच ध्रुवीकरण र कहिलेकाहीँ “विरुद्धको एकीकरण” को प्रवृत्ति देखिँदै आएको छ। यसपटक पनि त्यस्तो समीकरण दोहोरिन सक्ने संकेतहरू छन्।

विगतको मतपरिणाम र अंकगणित

गत आम निर्वाचनमा एमालेका उम्मेदवारले ३३ हजार ३५५ मत ल्याएर विजय हासिल गरेका थिए। त्यतिबेला कांग्रेससहितको गठबन्धनबाट उम्मेदवार बनेका अनिल झाले २३ हजार ६८६ मत पाएका थिए। तर समानुपातिकतर्फ भने कांग्रेसले २५ हजार ११५ मत प्राप्त गरेको थियो भने एमालेको समानुपातिक मत १७ हजार ८७४ मात्र थियो।
यस तथ्यांकले के संकेत गर्छ भने प्रत्यक्षतर्फ एमाले उम्मेदवारले आफ्नो दलभन्दा बाहिरका मतसमेत आकर्षित गरेका थिए। अर्कोतर्फ समानुपातिक मतका आधारमा कांग्रेसको आधार मत उल्लेख्य देखिन्छ।
यसपटक कुल मतदाता संख्या १०.५ प्रतिशतले बढेर १ लाख २५ हजार ९३७ पुगेको छ। बढेको मतदाता संख्याले नयाँ मतदाताको झुकाव कता जान्छ भन्ने प्रश्न नै निर्णायक बन्न सक्छ।

गठबन्धनको अन्त्य कांग्रेसको अवसर

विगतमा गठबन्धन दलहरूबीच मत बाँडफाँट हुँदा मतदातामा अन्योल र असहजता देखिएको थियो। तर यसपटक औपचारिक गठबन्धन नभएकाले कांग्रेस समर्थित मतदाताले आफ्नै चुनाव चिह्नमा मतदान गर्ने अवसर पाएका छन्। यसले कांग्रेसलाई पार्टीको आधारमा मत समेट्न सहज हुन सक्ने विश्लेषण भइरहेको छ।
संगठन, सक्रिय सदस्य संख्या र समानुपातिक मतको आधारलाई हेर्दा बिमलेन्द्र निधि प्रारम्भिक रूपमा अग्रस्थानमा रहेको अनुमान गरिएको छ । यदि यसमा तात्विक फरक परेन भने त्यो स्वतः विजयमा रूपान्तरण हुने सम्भावना बलियो छ।

हावा विपरीत “मौन मतदाता”

भदौ २३ र २४ गतेका घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टी आक्रमक शैलीमा मैदानमा उत्रिएको छ। पुराना दलहरूविरुद्धको भाष्य, नयाँ राजनीतिक संस्कृतिको दाबी र वैकल्पिक शक्तिको प्रस्तुति यस दलको मुख्य रणनीति देखिन्छ। यहाँ पनि बालेन फ्याक्टर काम गरिरहेको छ तर अन्य क्षेत्र जस्तो बालेन फ्याक्टरको प्रभाव भन्ने यस क्षेत्रमा कमी पर्ने देखिन्छ किनभने बालेनको जात वैश्य समुदायको सुडी रहेको छ भने त्यही जातका उम्मेदवार एमालेका जुली महतो पनि रहेका छन्। तसर्थ सबभन्दा बढी मतदाता रहेको सुडी समुदाय बीच कसलाई मत दिने भनेर अन्योलता छ, एकथरिका विचार के छ भने जुली स्थानीय व्यक्ति भएको हुनाले हामीले उसैको पक्षमा मतदान गर्नुपर्छ । र अर्को थरी बालेन प्रधानमन्त्री बन्ने सपना सजाएर उनको पक्षमा तर्क गर्दैछ तर जसै जसै निर्वाचन नजिकिँदै छ। जुली मजबुत हुँदै गएको छ।
चिया पसल, पान पसल, नास्ता पसलदेखि साना किराना पसलसम्म “घन्टी” चिन्हको चर्चा सुनिन्छ। सहरी चोकहरूमा यसको प्रभाव स्पष्ट देखिए पनि गाउँभित्र पुग्दा मतदाताको व्यवहार फरक देखिन्छ। धेरैजसो मतदाता सार्वजनिक रूपमा धारणा व्यक्त नगरी मौन देखिन्छन्। उनीहरू आफ्नै परम्परागत दलतर्फ अहिले पनि कायमै रहेको प्रष्ट देखिन्छ तर खुला रूपमा बोल्न चाहँदैनन्।
यस अवस्थालाई केही विश्लेषकहरूले “मौन मतदाता” को प्रभावका रूपमा हेरेका छन्। झन्डै ८० प्रतिशत मतदाता ग्रामीण भेगमा रहेको सन्दर्भमा अन्तिम निर्णय उनीहरूको मतदान व्यवहारले नै तय गर्नेछ। यस्तो मौनता धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा मात्र होइन अन्य क्षेत्रहरूमा पनि र धनुषा जिल्ला मधेशका अधिकांश जिल्लाहरूमा पनि यस्तै अवस्था रहेको छ।

निष्पक्षता, भय र प्रशासनको भूमिका

मतदाताबीच आशंका र डरको घेरा सिर्जना कारण उनीहरू मौन छन्। मतदाताको मौनतालाई चिर्न सकेको खण्डमा मात्र भय
रहित चुनाव हुनेछ अन्यथा भयपूर्ण वातावरणमै चुनाव हुने सम्भावना नै नकार्न सकिँदैन । उम्मेदवारहरूले यो मनोविज्ञान बुझेर भयरहित वातावरण निर्माण गर्न पहल गर्नुपर्ने देखिन्छ। अन्यथा भयको अवस्थामा सम्पन्न निर्वाचनले स्वच्छ परिणाम नदिन सक्ने जोखिम रहन्छ।
यसका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा परिचालन हुन आवश्यक छ। समय भने निकै कम बाँकी छ। यो अवस्था मधेसका अधिकांश जिल्लाहरूमा कायमै छ।

पैसाको प्रभाव घट्दो ?

अर्को उल्लेखनीय पक्ष के छ भने यसपटक अन्य निर्वाचनको तुलनामा खुला रूपमा पैसा वितरण गर्ने गतिविधि कम देखिएको छ। उम्मेदवारहरू तुलनात्मक रूपमा खर्चमा संयमित देखिएका छन्, जुन सकारात्मक संकेत हो।
तर भित्री रूपमा प्रतिस्पर्धीबीच एक–अर्काको गतिविधि निगरानी गर्ने, पैसा बाँडिएको अवस्थामा त्यसलाई नियन्त्रण गर्ने वा उजागर गर्ने रणनीतिहरू तयार गरिएको चर्चा पनि छ। केही स्थानमा प्रतिद्वन्द्वीको रकम खोस्ने वा सुरक्षा निकायको जिम्मा लगाउने योजना बनाइएको भन्ने चर्चा समेत सुनिन्छ। यस्तो प्रवृत्तिले निर्वाचनलाई अझ अस्थिर बनाउन सक्छ।
तसर्थ पैसा बाँडेर मत प्रभावित गर्ने प्रयास रोक्नु सबै दलको साझा जिम्मेवारी हो।

पेड मिडिया र आचारसंहिता

केही सञ्चारमाध्यमले निश्चित उम्मेदवारलाई अग्रिम विजयी घोषणा गर्ने शैली अपनाएको आरोप पनि उठेको छ। पेड समाचारको प्रकाशन–प्रसारण पत्रकारिता आचारसंहिताविपरीत मानिन्छ। निर्वाचनजस्तो संवेदनशील समयमा निष्पक्ष र तथ्यपरक सूचना प्रवाह झन् आवश्यक हुन्छ।

समग्र विश्लेषण गर्दा समानुपातिक मत र संगठनको आधारमा कांग्रेस उम्मेदवार निधि अगाडि देखिए पनि एमालेकी महतो विगतको विजयी पृष्ठभूमिका कारण कमजोर देखिँदैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीका झा “हावा” र वैकल्पिक छविका कारण प्रभावकारी चुनौतीका रूपमा उभिएका छन्।
यसैले धनुषा–३ मा कडा त्रिकोणात्मक प्रतिस्पर्धा निश्चित छ। अन्ततः निर्णायक शक्ति ग्रामीण मौन मतदाता र अन्तिम साताको वातावरणले निर्धारण गर्नेछ। अहिले नै स्पष्ट विजयी घोषणा गर्ने अवस्था भने छैन।
फागुन २१ गतेको मतदान निष्पक्ष, भयरहित र पारदर्शी वातावरणमा सम्पन्न भए मात्र धनुषाको राजनीतिक भविष्यको यथार्थ तस्वीर बाहिर आउनेछ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ कांग्रेस अग्रस्थानमा

धनुषा ३ जस्तै धनुषा निर्वाचन क्षेत्र नम्बर ४ पनि यसपटक कडा प्रतिस्पर्धाको केन्द्र बनेको छ। यहाँ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव प्रारम्भिक रूपमा अग्रस्थानमा देखिएको छ । तर अन्तिम परिणाम भने अन्तिम साताको राजनीतिक गतिविधि र मतदाता व्यवहारले नै निर्धारण गर्नेछ।

विगतको झिनो अन्तर, यसपटकको मनोवैज्ञानिक बढत

गत आम निर्वाचनमा नेकपा (एमाले) का रघुवीर महासेठ ले ३२ हजार २३६ मत ल्याएर विजय हासिल गरेका थिए। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गरेका थिए र जम्मा १२४ मतको झिनो अन्तरले यादव पराजित भएका थिए।
त्यो परिणामले यस क्षेत्रलाई “हाइ–मार्जिन” भन्दा पनि “लो–मार्जिन” क्षेत्रका रूपमा चिनायो। सानो मतपरिवर्तनले नै परिणाम उल्टिन सक्ने सन्दर्भले यसपटक कांग्रेस पक्षमा मनोवैज्ञानिक बढत देखिन्छ, किनकि झिनो हारले सहानुभूति र पुनःप्रयासको ऊर्जा दुवै सिर्जना गरेको छ।
यसपटक कुल मतदाता संख्या ९ प्रतिशतले बढेर १ लाख २७ हजार ७७८ पुगेको छ।

जातीय प्रभाव र पार्टीगत आधार

धनुषा–४ मा पनि पार्टीगत निष्ठासँगै जातीय समीकरणले ठूलो भूमिका खेल्ने गरेको विगतको अनुभव छ। तर यहाँको जातीय ध्रुवीकरण क्षेत्र नम्बर ३ भन्दा फरक धारमा रहेको विश्लेषण गरिन्छ।
कांग्रेस उम्मेदवार जातीय समीकरण र संगठनात्मक सञ्जाल दुवैका आधारमा बलियो देखिए पनि एमालेको स्थायी मताधार र विगतको विजयी छवि कमजोर भएको देखिन्छ ।

रास्वपाको प्रभाव : कसको मत काट्छ ?

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सशक्त रूपमा मैदानमा उत्रिएको छ। यस क्षेत्रमा रास्वपाले क्षेत्र नम्बर ४ बाट राजकिशोर महतोलाई उम्मेदवार बनाएको छ। यो “नयाँ विकल्प” को चर्चा यहाँ पनि सुनिन्छ।
यदि रास्वपाले असन्तुष्ट एमाले मतदातालाई तानेको खण्डमा कांग्रेस उम्मेदवारलाई लाभ पुग्नेछ र अहिलेसम्मको अवस्था अनुसार यो प्रभाव बढी देखिएको छ। तर रास्वपा स्वयं प्रतिस्पर्धी शक्तिका रूपमा स्थापित भएमा त्रिकोणात्मक प्रतिस्पर्धा झन् जटिल बन्न सक्छ।

अन्तिम साताको चुनौती

यादव विगतको झिनो पराजयका कारण सहानुभूति र संगठन दुवै हिसाबले अगाडि देखिए पनि बाँकी सात दिन उनीका लागि निर्णायक छन्। स्थानीय तहका समीकरण, प्रभावशाली व्यक्तिहरूको समर्थन, मौन मतदाताको झुकाव र सम्भावित ध्रुवीकरणले अन्तिम परिणाममा ठूलो भूमिका खेल्न सक्छ।
क्षेत्र नम्बर ३ जस्तै यहाँ पनि ग्रामीण मतदाता निर्णायक शक्ति हुन्। सहरी क्षेत्रमा देखिने “हावा” भन्दा भित्री गाउँका मतदाताको अन्तिम निर्णय नै परिणामको मूल आधार बन्नेछ।
समग्रमा हेर्दा धनुषा–४ मा पनि कांग्रेस, एमाले र रास्वपाबीच त्रिकोणात्मक प्रतिस्पर्धा निश्चित देखिन्छ। वर्तमान समीकरण र स्थलगत रिपोर्टको आधारमा कांग्रेस उम्मेदवार अग्रस्थानमा देखिए
यदि अन्तिम सातामा कुनै ठूलो राजनीतिक परिवर्तन वा अप्रत्याशित समीकरण बनेन भने अहिलेको झुकावअनुसार कांग्रेसको स्थिति केही सुदृढ देखिन्छ। तर धनुषा–४ पनि क्षेत्र नम्बर ३ जस्तै अन्तिम मतगणनासम्म रोचक र प्रतिस्पर्धात्मक रहने निश्चित छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *