विश्व साइकल दिवसको अवसरमा वीरगञ्जमा दूतावासको आयोजनामा साइकल र्‍याली

वीरगञ्ज, विश्व साइकल दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगञ्जले वीरगञ्ज साइकलिङ क्लबको सहकार्यमा बुधबार साइकल र्‍याली आयोजना गरेको छ।

महावाणिज्यदूत श्री देवी सहाय मीनाले दूतावास परिसरबाट र्‍यालीको उद्घाटन गर्नुभएको थियो। र्‍याली घण्टाघर, माईस्थान, आदर्शनगर, छपकैयाँ हुँदै भारत–नेपाल सीमा नजिक रहेको शंकराचार्य गेटसम्म पुगेपछि पुनः सोही मार्ग हुँदै दूतावासमा फर्किएको थियो।

र्‍यालीमा स्थानीय व्यवसायी, वीरगञ्ज उद्योग वाणिज्य संघका सदस्य, नेपाल युवा उद्यमी मञ्च (वीरगञ्ज शाखा), वीरगञ्ज साइकलिङ क्लब, नागरिक समाजका प्रतिनिधि, दूतावासका अधिकारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले स्वच्छ वातावरण निर्माणका लागि छोटो दूरीका यात्रामा साइकल प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको समापन दूतावासमा आयोजित संक्षिप्त समारोहसँगै भएको थियो। सो अवसरमा महावाणिज्यदूत मीनाले साइकल चलाउने बानीले स्वास्थ्य प्रवर्द्धन गर्नुका साथै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले साइकल किफायती, वातावरणमैत्री र दिगो यातायातको माध्यम भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले नेपाल–भारतबीचको जनस्तरीय सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

उक्त कार्यक्रमले स्वस्थ जीवनशैली तथा दिगो यातायातको प्रवर्द्धनप्रति नेपाल र भारतको साझा प्रतिबद्धतालाई पुनः उजागर गरेको आयोजकले जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *