राजेश कुमार कर्ण,
कलैया ।
प्रतिनिधिसभा निर्वाचन हुन अब सात दिन मात्र बाँकी रहँदा बारा जिल्लामा पनि चुनावी सरगर्मी चरममा पुगेको छ। बारा जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र रणनीतिक भेटघाटमा व्यस्त छन्।
बारा जिल्लाको क्षेत्र नम्बर १ पनि राजनीतिक रूपमा सचेत मतदाता धेरै भएको मानिन्छ। तर क्षेत्र, जात र समुदायको आधारमा मतदान हुने प्रवृत्ति पनि यहाँ प्रबल देखिन्छ।
बारा १ मा सिम्रौनगढ नगरपालिका, आदर्शकोटवाल गाउँपालिका, बारागढी गाउँपालिका, निजगढ नगरपालिका र कोल्हवी नगरपालिकाको १–७ र ९–११ वडा समेटिएको छ।

बारा १ को अंकगणित र मनोविज्ञान
बारा क्षेत्र नम्बर १ बाट गत २०७९ को निर्वाचनमा एमालेको अच्युत प्रसाद मैनाली ३९ हजार ९९५ मत ल्याएर
मतान्तर ९,९३९ नेपाली कांग्रेसका उमाकान्त चौधरीलाई पराजित गरेका थिए। यसपल्ट नेपाली कांग्रेसले आफ्नो उम्मेदवार परिवर्तन गरेको छ र नयाँ उम्मेदवार शम्भु प्रसाद बुढाथोकी लाई उठाएको छ। यसपटक पनि एमालेको मैनाली नै निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने आफ्नो पुरानै उम्मेदवार गणेश धिमाललाई यस क्षेत्रबाट उम्मेदवार बनाएको छ। यसअघि धिमालले गत निर्वाचनमा ३ हजार ३११ मत ल्याएका थिए । धिमाल यसअघि निर्वाचनमा लडिसकेको हुनाले यहाँ बालेनको फ्याक्टर त्यति काम लाग्ने देखिँदैन। किनभने उनी पनि टेस्टेड उम्मेदवार रहेका छन्। तैपनि घन्टीको हावा ले उनको मतमा केही वृद्धि गर्ने देखिन्छ । यसपटक को निर्वाचनमा बारा १ मा नेकपा (एमाले) का मैनाली , कांग्रेसका बुढाथोकी र राष्ट्रिय स्वतन्त्र पार्टीका धिमालबीच कडा त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ। यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका सन्तोष दङ्गाल, जनता समाजवादी पार्टी नेपालका रामबाबु यादवले पनि राम्रै मत ल्याउने अनुमान गरिएको छ।
समानुपातिक तर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी २३ हजार ९४२ मत प्राप्त गरेका थिए भने एमालेले २० हजार ९८१
मत मात्रै प्राप्त गरेका थिए। एमालेको जसपासँगको गठबन्धनको कारणले उनको मत बढी थियो तर यसपटक जसपाले आफ्नै उम्मेदवार उठाएको छ। यसको साथै एमाले प्रत्यक्ष तर्फ अन्य दलहरूको सहयोगमा विजयी भएको हो र
एमालेका उम्मेदवारले आफ्नो दलभन्दा बाहिरका मतसमेत आकर्षित गरेका थिए। अर्कोतर्फ समानुपातिक मतका आधारमा कांग्रेसको आधार मत उल्लेख्य देखिन्छ।
यसपटक कुल मतदाता संख्या ३.९ प्रतिशतले बढेर १
१ लाख २३ हजार ९८५ पुगेको छ। बढेको मतदाता संख्याले नयाँ मतदाताको झुकाव कता जान्छ भन्ने प्रश्न नै निर्णायक बन्न सक्छ।
बारा २ मा झिनो मतको अन्तरले मात्रै जित र हार हुने निश्चित

बारा २ मा पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, करैयामाई गाउँपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिका र कोल्हवी नगरपालिकाको वडा नम्बर ८ पर्दछ।
बारा क्षेत्र नम्बर १ भन्दा २ को अवस्था फरक रहेको छ।
यस क्षेत्रमा पनि नेपाली कांग्रेस प्रतिस्पर्धामा देखिएको छ भने एमालेका उम्मेदवार प्रतिस्पर्धाभन्दा बाहिर रहेका छन्। बारा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले नयाँ अनुहार भैयाराम यादवलाई युवा उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ। पार्टीका विभिन्न पदमा रहेर लामो समयसम्म काम गरेपनि उम्मेदवार बन्ने पहिलो पटक अवसर पाएको हो। साथै सामाजिक क्षेत्रमा काम गरेका यादव नयाँ अनुहारका साथ निकै संघर्षशील र लोकप्रिय व्यक्तित्वको रुपमा चिर परिचित छ। उता यस क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालले पनि नयाँ उम्मेदवार दिएको छ, र यसअघि यस क्षेत्रबाट जसपा नेपालले आफ्ना उम्मेदवारलाई विजय गराउन सफल भएको हुनाले यो क्षेत्रमा जसपाको बलियो पकड रहेको भनिँदैछ। यसै क्षेत्रबाट राम सहायक यादव विजय भएका थिए भने उपनिर्वाचनमा उपेन्द्र यादव पनि विजयी भएका थिए। जसपा नेपालले बारा क्षेत्र नम्बर २ बाट रामकिशोर प्रसाद यादवलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चन्दन सिंह पनि बलियो नै देखिएको छ । यस क्षेत्रमा स्थलगत रुपमै हामीले स्थानीय पत्रकारहरू, मतदाता र केही उम्मेदवारहरूसँग कुराकानी गर्दा कांग्रेसका उम्मेदवार भैयाराम , जसपा नेपालका उम्मेदवार राम किशोर तथा रास्वपाका चन्दन सिंह बीच त्रिकोणात्मक र कडा प्रतिस्पर्धा रहेको छ। कसले बाजी मार्ला सजिलै भन्न सकिँदैन । सात दिनको अवधिमा अन्य कुरामा परिवर्तन आएन भने निर्वाचनसम्म तिनै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहनेछ र झिनो मतको अन्तरले मात्रै यहाँ जित र हार हुने निश्चित देखिएको छ।
कांग्रेसको जितहार कांग्रेसकै नेताहरूमा निर्भर
बाराका क्षेत्र नम्बर १ र २ नेपाली कांग्रेसका वरिष्ठ नेता उमाकान्त चौधरी र राधेचन्द्र यादव सुस्त देखिएको छ । उनीहरू सक्रिय भएको खण्डमा कांग्रेसले सकारात्मक परिणाम प्राप्त गर्ने सम्भावना निकै बढ्नेछ । अब सात दिन मात्र बाँकी रहेको अवस्थामा ती नेताहरू सक्रियतामा कांग्रेसको हार जित निर्भर हुने देखिन्छ ।
दलहरूको आ-आफ्नै प्रचार शैली
राष्ट्रिय स्वतन्त्र पार्टी आक्रमक शैलीमा मैदानमा उत्रिएको छ भने नेपाली कांग्रेस सालिन शैलीमा प्रचारप्रसार गर्दैछन्। बालन फ्याक्टरका कारण चिया पसल, पान पसल, नास्ता पसलदेखि साना किराना पसलसम्म “घन्टी” चिन्हको चर्चा सुनिन्छ। तर गाउँभित्रका मतदाताहरू मौन नै देखिन्छ । ८५ प्रतिशत मतदाता ग्रामीण भेगमा रहेकोलेअन्तिम निर्णय उनीहरूको मतदान व्यवहारले नै तय गर्नेछ।
निष्पक्षता, भय र प्रशासनको भूमिका
मतदाताबीच आशंका र डरको घेरा सिर्जना कारण उनीहरू मौन छन्। हजुरको मौनतालाई चिर्न सकेको खण्डमा मात्र भय
रहित चुनाव हुनेछ अन्यथा भयपूर्ण वातावरणमै चुनाव हुने सम्भावना नै नकार्न सकिँदैन । उम्मेदवारहरूले यो मनोविज्ञान बुझेर भयरहित वातावरण निर्माण गर्न पहल गर्नुपर्ने देखिन्छ। अन्यथा भयको अवस्थामा सम्पन्न निर्वाचनले स्वच्छ परिणाम नदिन सक्ने जोखिम रहन्छ।
यसका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा परिचालन हुन आवश्यक छ। समय भने निकै कम बाँकी छ। यो अवस्था मधेसका अधिकांश जिल्लाहरूमा कायमै छ।