सप्तरी : २मा सिके छैन कमजोर, ३मा उपेन्द्र मजबुत, दुवै क्षेत्रमा कडा प्रतिस्पर्धा

राजेश कुमार कर्ण

मधेसको राजनीतिक नक्सामा सप्तरी जिल्ला सधैं निर्णायक र प्रतीकात्मक क्षेत्रका रूपमा चिनिँदै आएको छ। मधेश आन्दोलनको प्रभाव, संघीयताको बहस, पहिचानको राजनीति, परम्परागत दलहरूको वर्चस्व र नयाँ राजनीतिक शक्तिको उदय—यी सबै प्रवृत्तिहरूको प्रत्यक्ष परीक्षणस्थल बनेका छन् सप्तरीका निर्वाचन क्षेत्रहरू। विशेषगरी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा सप्तरी क्षेत्र नम्बर २ र ३ यसपटक राष्ट्रिय चासोका केन्द्र बनेका छन्।
यसपटक सप्तरी क्षेत्र नम्बर २ मा ११ प्रतिशतले मतदाता वृद्धि भई कुल १ लाख १५ हजार ९२२ मतदाता पुगेका छन्। त्यस्तै सप्तरी क्षेत्र नम्बर ३ मा ६.६ प्रतिशतले मतदाता वृद्धि भई १ लाख ११ हजार ८७१ मतदाता पुगेका छन्। मतदाताको यो वृद्धि केवल संख्यात्मक तथ्य मात्र होइन, यो राजनीतिक समीकरण बदल्ने सम्भावित कारक पनि हो। विशेषगरी युवा मतदाताको वृद्धि, वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको सहभागिता र स्थानीय तहको अनुभवबाट प्रभावित मतदाताको मनोविज्ञानले यसपटकको चुनावलाई अझ रोचक बनाएको छ।

सप्तरी–२ : जनमतको गढ नै कि चुनौतीको सुरुवात?

गत आम निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ ले राष्ट्रिय स्तरमै ठूलो सन्देश दिएको थियो। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले ३५ हजार ४२ मत ल्याएर विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मात्र १६ हजार ९७९ मत प्राप्त गरेका थिए। यो अन्तर सामान्य प्रतिस्पर्धाको भन्दा निकै ठूलो थियो, जसले मधेश राजनीतिमा नयाँ शक्तिको उदयलाई औपचारिकता दिएको थियो।
त्यतिबेला लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याएका थिए। समानुपातिक मतको विश्लेषण गर्दा पनि जनमत पार्टीको आधार बलियो देखिएको थियो। जनमतले २९ हजार ८०२ मत प्राप्त गरेको थियो भने जनता समाजवादी पार्टी, नेपालले १४ हजार ९५ र लोकतान्त्रिक समाजवादी पार्टीले ५ हजार १४९ मत ल्याएका थिए। यी दुई दलको मत जोड्दा १९ हजार २४४ पुग्छ, जुन जनमतको मतभन्दा करिब १० हजारले कम हो। यसले जनमतको आधार केवल व्यक्तित्वको लहर नभई संरचनात्मक समर्थन रहेको संकेत दिएको थियो।
त्यसैगरी तत्कालीन नेकपा (माओवादी केन्द्र) ले ४ हजार ३९८, नेपाली कांग्रेसले २ हजार ६१६, नेकपा एमालेले १ हजार २४५, एकीकृत समाजवादीले १ हजार २३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७०९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ५१० मत प्राप्त गरेका थिए। यी तथ्याङ्कहरूले देखाउँछ कि सप्तरी–२ मा मधेशकेन्द्रित दलहरूको प्रभाव निर्णायक रहँदै आएको छ।
तर यसपटक समीकरण केही फरक छ। उपेन्द्र यादव क्षेत्र परिवर्तन गरी सप्तरी–३ बाट उम्मेदवारी दिएका छन्। जसपा र लोसपा एकीकृत भई अहिले जसपा नेपालका रूपमा प्रस्तुत भएका छन्। यसपटक सप्तरी–२ बाट जसपा नेपालको तर्फबाट उमेश यादव उम्मेदवार बनेका छन्।
प्रश्न उठ्छ—के डा. सीके राउतको व्यक्तिगत प्रभाव अझै पनि त्यत्तिकै बलियो छ, कि संगठनात्मक थकान र जनअपेक्षाको दबाबले परिणाम बदल्न सक्छ?
पछिल्ला वर्षहरूमा जनमत पार्टीले संघीय संसदमा उपस्थिति जनाए पनि स्थानीय स्तरमा विकास, पूर्वाधार र रोजगारीका विषयमा अपेक्षित परिणाम नआएको भन्ने आलोचना पनि सुनिन थालेको छ। विपक्षीहरूले यही विषयलाई चुनावी मुद्दा बनाइरहेका छन्। अर्कोतर्फ, जनमत समर्थकहरू भने डा. राउतलाई मधेशको स्वाभिमान र वैकल्पिक राजनीतिक धारका प्रतिनिधि मान्छन्।
मतदाता वृद्धिको ११ प्रतिशत वृद्धि विशेष गरी युवा र पहिलो पटक मतदान गर्ने समूहबाट भएको मान्दा, उनीहरू कुन धारतर्फ आकर्षित हुन्छन् भन्ने प्रश्न निर्णायक बन्न सक्छ।
यदि जसपा नेपालले आफ्नो परम्परागत मतलाई एकीकृत रूपमा जोगाउन सफल भयो र अन्य साना दलहरूको मत आकर्षित गर्न सक्यो भने प्रतिस्पर्धा अपेक्षाकृत कडा हुन सक्छ। तर विगतको अन्तर हेर्दा जनमत अझै अग्रस्थानमा देखिन्छ। तथापि, चुनाव केवल अंकगणित होइन, मनोविज्ञान पनि हो। यदि मतदातामा परिवर्तनको चाहना उत्पन्न भयो भने १० हजारको अन्तर पनि सुरक्षित मान्न सकिँदैन।

सप्तरी–३ : उपेन्द्र अगाडि तर परिणाम अनिश्चित

सप्तरी क्षेत्र नम्बर ३ यसपटक झनै रोचक बनेको छ। गत आम निर्वाचनमा नेपाली कांग्रेसका दिनेश यादवले २६ हजार १६६ मत ल्याएर विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ताराकान्त चौधरीले पनि उल्लेखनीय मत ल्याएका थिए। तेस्रो स्थानमा जनमत पार्टीका अनिष अन्सारीले १५ हजार ११४ मत प्राप्त गरेका थिए।
समानुपातिक मत हेर्दा जनमत पार्टीले १८ हजार ३४० मत ल्याएर अग्रस्थान लिएको थियो भने नेपाली कांग्रेसले १८ हजार २४९ मत प्राप्त गरेको थियो। जनता समाजवादी पार्टी, नेपालले १० हजार १५३, नेकपा एमालेले ९ हजार ५९४, नागरिक उन्मुक्ति पार्टीले ३ हजार १८३, नेकपा (माओवादी केन्द्र) ले १ हजार ७३६, लोकतान्त्रिक समाजवादी पार्टीले १ हजार ६४६, एकीकृत समाजवादीले १ हजार २२२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८५५ र राष्ट्रिय स्वतन्त्र पार्टीले २९८ मत प्राप्त गरेका थिए।
यी तथ्याङ्कहरूले स्पष्ट देखाउँछ कि सप्तरी–३ मा बहुपक्षीय प्रतिस्पर्धा रहे पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र मधेशकेन्द्रित शक्तिहरूबीच हुने सम्भावना बढी हुन्छ। यसपटक यही क्षेत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका छन्। उनका विरुद्धमा नेपाली कांग्रेसका दिनेश यादव पुनः मैदानमा छन्। एमालेका ताराकान्त चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरी पनि प्रतिस्पर्धामा छन्।
यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा उपेन्द्र यादव र दिनेश यादवबीच हुने देखिन्छ। उपेन्द्र यादव मधेश आन्दोलनका स्थापित नेता हुन्। संघीयता, पहिचान र मधेश अधिकारका मुद्दामा उनको लामो राजनीतिक इतिहास छ। तर विगतमा विभिन्न क्षेत्र परिवर्तन गर्दै चुनाव लडेको सन्दर्भले स्थायित्वबारे प्रश्न उठाउनेहरू पनि छन्। तर पनि एउटा मधेसवादी दल को हैसियतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको स्थिति बलियो देखिएको छ तर ६.६ प्रतिशत मतदाता वृद्धि यस क्षेत्रमा पनि महत्त्वपूर्ण छ। नयाँ मतदाता कुन धारतर्फ आकर्षित हुन्छन् भन्ने प्रश्न यहाँ झनै संवेदनशील छ। यदि जसपाले लोसपाको मत पूर्ण रूपमा समेट्न सक्यो भने नाम मतदाताले पनि यादवलाई मतदान गरेको खण्डमा उनको अवस्था निकै बलियो हुने देखिन्छ। तर नाम मतदाताको चुनाव यदि परिवर्तन तर्फ गयो भने प्रतिस्पर्धा निकै कडा हुन सक्छ र हार जित अन्तर निकै कम हुन सक्छ।
एमालेका ताराकान्त चौधरीले प्रत्यक्ष प्रतिस्पर्धामा आफूलाई तेस्रो शक्ति मात्र नभई निर्णायक मत विभाजकका रूपमा स्थापित स्थापित भई मत डाइभर्ट गरेको खण्डमा परिणाम विपरीत पनि आउन सक्छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीले युवा र असन्तुष्ट मतदाता आकर्षित गर्न सके उनी पनि परिणाम नजिक आउन सक्छ।

मधेश राजनीतिमा दीर्घकालीन प्रभाव

सप्तरी–२ र ३ को परिणाम केवल स्थानीय प्रतिनिधित्वको प्रश्न होइन, मधेश राजनीतिमा नेतृत्वको पुनर्संरचनाको संकेत पनि हुनेछ। यदि जनमतले सप्तरी–२ कायम राख्यो भने डा. सीके राउतको राजनीतिक आधार अझ सुदृढ हुनेछ। यदि जसपा नेपालले सप्तरी–३ मा उपेन्द्र यादवलाई विजयी गरायो भने मधेश आन्दोलनको पुरानो धारा पुनः बलियो भएको सन्देश जानेछ। तर यदि कांग्रेसले आफ्नो जित दोहोर्यायो भने मधेशमा राष्ट्रिय दलहरूको पुनरुत्थानको संकेत मान्न सकिन्छ।
दुवै क्षेत्रमा समानुपातिक मतको विश्लेषणले देखाएको छ कि मतदाताको मन स्थिर छैन। मधेशकेन्द्रित दलहरूबीचको विभाजन र पुनःएकीकरणले मतदातामा मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ। विकास, रोजगारी, शिक्षा र स्वास्थ्य सेवा जस्ता मुद्दाहरू पहिचान र भावनात्मक एजेन्डाभन्दा पनि निर्णायक बन्न थालेका संकेतहरू देखिन्छन्।
सप्तरी क्षेत्र नम्बर २ र ३ यसपटक मधेश राजनीतिका दुई अलग तर परस्पर सम्बन्धित प्रयोगशाला बनेका छन्। एउटा क्षेत्रमा नयाँ राजनीतिक शक्तिको निरन्तरता परीक्षण हुँदैछ भने अर्को क्षेत्रमा पुरानो नेतृत्वको पुनरागमन र राष्ट्रिय दलको स्थायित्वबीच प्रतिस्पर्धा भइरहेको छ। मतदाता वृद्धिले परिणामलाई अनिश्चित बनाएको छ। अंकगणितीय हिसाबले केही दलहरू अघि देखिए पनि अन्तिम निर्णय मतदाताको मनोविज्ञान, अभियानको प्रभाव र अन्तिम क्षणको रणनीतिले निर्धारण गर्नेछ।
यस चुनावको परिणामले केवल दुई प्रतिनिधि चयन गर्ने छैन, मधेशको राजनीतिक दिशालाई पनि संकेत गर्नेछ—के मधेश नयाँ विकल्पसँगै अघि बढ्छ, कि परम्परागत नेतृत्व र राष्ट्रिय दलहरूको सन्तुलनतर्फ फर्किन्छ? यही प्रश्नको उत्तर खोज्दै अहिले सम्पूर्ण राजनीतिक दृष्टि सप्तरीतर्फ केन्द्रित भएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *