सर्लाही–२ : महतो मजबुत, महेन्द्र र डा.सरोजसंग कडा एवं त्रिकोणात्मक प्रतिस्पर्धा

मलङ्गवा ।

मधेश प्रदेशअन्तर्गत पर्ने सर्लाही जिल्ला सधैँदेखि राजनीतिक रूपमा संवेदनशील र चासोको केन्द्र रहँदै आएको छ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर २ यसपटक प्रतिनिधिसभा निर्वाचनको अत्यन्तै चासोका साथ हेरिएको क्षेत्र बनेको छ।
गत निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार महेन्द्र कुमार राय २३ हजार ५२९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र महतोले २१ हजार ५१६ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका थिए। करिब दुई हजार मतको अन्तरले पराजित भएका महतोले त्यो परिणामबाटै आफ्नो बलियो जनाधार प्रमाणित गरेका थिए। नेकपा एमालेका राज नारायण साहले १४ हजार ८१९ मत प्राप्त गरेका थिए, जसले वाम मत विभाजनको संकेत दिएको थियो।
यसपटक ७.८ प्रतिशतले मतदाता संख्या वृद्धि भई कुल १ लाख २५ हजार ३११ पुगेपछि यहाँको चुनावी गणित झनै जटिल बनेको छ।
समानुपातिकतर्फ भने फरक चित्र देखिएको थियो। नेपाली कांग्रेसले १४ हजार ९९३ मत प्राप्त गर्दै अग्रस्थान बनाएको थियो। जनमत पार्टीका १२ हजार ३३७, लोकतान्त्रिक समाजवादी पार्टीका ११ हजार ४३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का १० हजार ८५९, जनता समाजवादी पार्टी, नेपालका ७ हजार ५३३, नेकपा एमालेका ५ हजार ९३४, राष्ट्रिय स्वतन्त्र पार्टीका १ हजार ५७ मत प्राप्त गरेको थियो।
यस प्रकार हेर्दा समानुपातिक तर्फ विभिन्न दलहरूले पनि उल्लेखनीय मत प्राप्त गरेका थिए। यसले सर्लाही–२ मा मतदाताको धार बहुआयामिक रहेको देखाएको थियो।

उम्मेदवारी र प्रतिस्पर्धा : त्रिकोणीय प्रतिस्पर्धाको सम्भावना

यसपटक महेन्द्र कुमार राय पुनः मैदानमा छन्। उनी अघिल्लो जित दोहोर्‍याउने लक्ष्यसहित सक्रिय छन्। नेपाली कांग्रेसबाट डा. सरोज कुमार उम्मेदवार बनेका छन्, जसले समानुपातिक मतलाई प्रत्यक्षतर्फ रूपान्तरण गर्ने रणनीति अपनाएका छन्। नेकपा एमालेबाट नागेश्वर साह उम्मेदवार छन्, जसले संगठन सुदृढीकरणमार्फत मत विस्तारको प्रयास गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबिन महतो पनि चुनावी मैदानमा छन्, जसले वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्ने दाबी गरिरहेका छन्।
तर समग्र प्रतिस्पर्धाको केन्द्रमा भने राजेन्द्र महतो , महेन्द्र कुमार राय र नेपाली कांग्रेसका डा. सरोज कुमार नै देखिएका छन्। यहाँ राष्ट्रिय मुक्ति पार्टीका अध्यक्षसमेत रहेका महतो यसपटक स्पष्ट रूपमा शालिन र व्यवस्थित अभियानसहित अघि बढिरहेका छन्।

मत विभाजन र सम्भावित प्रभाव

विभिन्न स्थानीय रिपोर्ट, चुनावी सभाहरूको उपस्थिति, घरदैलो अभियानको प्रभाव र मतदाताको प्रतिक्रियालाई आधार मान्दा राजेन्द्र महतो अहिले उल्लेखनीय रूपमा अगाडि रहेको आकलन गरिएको छ। विगतमा मधेश आन्दोलनदेखि राष्ट्रिय राजनीतिसम्म सक्रिय भूमिका खेलेका महतोले आफ्नो अनुभवलाई चुनावी मुद्दा बनाएका छन्।
उनको अभियान मधेशी पहिचान, अधिकार, प्रतिनिधित्व र सर्लाहीको विकासमा केन्द्रित देखिन्छ। लामो राजनीतिक यात्राले उनलाई स्थायी मत आधार दिएको छ। अघिल्लो निर्वाचनमा झिनो अन्तरले पराजित भए पनि त्यो परिणामले उनको जनाधार कमजोर नभएको प्रमाणित गरेको थियो। यसपटक त्यही आधार अझ सुदृढ बनेको विश्लेषण गरिएको छ।
सर्लाही–२ मा वाम मत, कांग्रेस मत र मधेशकेन्द्रित मतको त्रिकोणीय समीकरण देखिन्छ। यदि वाम मत विभाजित रह्यो भने त्यसको प्रत्यक्ष लाभ महतोले लिन सक्ने सम्भावना छ। कांग्रेसले समानुपातिकतर्फ अग्रता देखाए पनि प्रत्यक्षतर्फ त्यो मत कति संगठित हुन्छ भन्ने प्रश्न अझै खुला छ।
मतदाता संख्या वृद्धि हुनु अर्को महत्वपूर्ण पक्ष हो। युवा मतदाताको भूमिका निर्णायक हुन सक्छ। रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र स्थानीय विकासका मुद्दाले अन्तिम परिणाममा प्रभाव पार्ने सम्भावना बलियो छ। अन्तत यस क्षेत्रमा राजेन्द्र महतो , महेन्द्र कुमार राय र डा. सरोज कुमार बीच त्रिकोणात्मक प्रतिस्पर्धा प्रतिस्पर्धा हुने सम्भावना रहेको छ ।

परिणामको प्रतीक्षा: झिनो मतको अन्तरले हार जित हुने

सर्लाही–२ यसपटक मधेशको राजनीतिक दिशालाई संकेत गर्ने क्षेत्र बनेको छ। यहाँको परिणामले केवल एक उम्मेदवारको जित वा हार मात्र तय गर्ने छैन, मधेश राजनीतिमा नेतृत्वको पुनर्संरचना र मतदाताको मनोविज्ञानलाई समेत स्पष्ट पार्नेछ।
हालसम्मको चुनावी गतिविधि र स्थानीय आकलनअनुसार राजेन्द्र महतो केही अगाडि देखिए पनि अन्तिम निर्णय मतपेटिकाबाट नै आउनेछ। अबको पाँच दिन महत्वपूर्ण परिवर्तन सर्लाही २ मा पनि झिनो मतको अन्तरले हार जित हुने निश्चित छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *