बालविवाहको छायाँमा मधेशका दलित किशोरी : चुनौती र सम्भावनाको यात्रा

प्रकाश खतिवडा


मधेश प्रदेशमा बाल बिबाह, उमेर नपुगेको बिबाह र जबरजस्ति बिबाह भित्र भित्र लुकेको समस्याको रुपमा पाईन्छ । बालबिबाह भएका किशोरीहरुले दर्दनाक, दुर्दशापुर्ण जीवन जिउन बाध्य भएका छन् । यि र यस्तै कथा र घटना समेटिएको Girls Not Brides: The Global Partnership to End Child Marriage ले प्रकाशन गरेको Mool Stories of Nepal को मुख्य शिर्षकमा प्रकाशित Breaking the Cycle: Caste, Economic, Marginalization, and Child Marriage in Nepal’s Madhesh Province शिर्षकमा प्रकाशित सामाग्रिमा आधारित भएर यो लेख लेखिएको हो ।
मधेश प्रदेशको तराई भू–भागका गाउँहरू बाहिरबाट शान्त र रमणीय देखिए पनि भित्र भित्रै गहिरो सामाजिक यथार्थ लुकेका घटनाहरु पाईन्छन । जनकपुर आसपासको मुरीबा गाउँकी अनिताको जीवनकथा त्यही यथार्थको प्रतिनिधि उदाहरण हो र उनी प्रतिनिधी पात्र बनेकी छिन । सानो पसल चलाइरहेकी अनिता केवल एक उधमी महिला मात्र नभएर उनी जातीय विभेद, आर्थिक बिपन्नता र बालविवाहको चक्रसँग जुधेर आत्मनिर्भर बनेकी एक प्रतीक हुन् र उनलाई हस्ति मान्न पनि सकिन्छ । पासवान (दुसाध) समुदायमा जन्मिएकी अनिता किशोरावस्थामै विवाह बन्धनमा बाँधिएकी थिईन । परिवारको आर्थिक बोझ कम गर्ने उपायका रूपमा गरिएको त्यो विवाह उनका लागि विकल्प नभई बाध्यता थियो। तर आज, आफ्नै पसलबाट आम्दानी गर्दै परिवार धानिरहेकी उनी परिवर्तनको जीवित उदाहरण बनेकी छन् भन्नुमा अत्युक्ति नहोला ।
मधेशमा बालविवाहको समस्या केवल परम्परा वा संस्कारको परिणाम मात्र नभई यो जातीय संरचना, भूमिहीनता, गरिबी, अशिक्षा र रोजगारी अभावसँग गाँसिएको जटिल सामाजिक समस्या हो भन्ने प्रमाणित भईसकेको छ । दलित समुदाय विशेष गरी मुसहर, दुसाध÷पासवान, चमार, धोबी, बन्टर÷सरदारजस्ता समुदायहरू ऐतिहासिक रूपमा हाशियामा पारिएका छन्। सीमित आर्थिक अवसर, बन्धुवा श्रमको परम्परा, मदिरा–सम्बन्धी घरेलु हिंसा, र केटा–केटीको शिक्षाप्रतिको असमान दृष्टिकोणले बालविवाहलाई निरन्तरता दिईएको छ । जब परिवारसँग आय आर्जनका विकल्प हुँदैनन् तब छोरीको विवाहलाई आर्थिक रणनीतिका रूपमा हेरिन थालिन्छ । किशोरीको सपना यहिनेर तुहिन्छ र उनी सितांग हुन पुग्छिन । यही मानसिकताले पुस्तौँदेखि गरिबी र बालविवाहको दुष्चक्रलाई कायम राखेको तितो यर्थाथ स्पष्टरुपमा देख्न सकिन्छ ।
यही यथार्थबीच बालिका दुलहि होईनन राष्ट्रिय संजालमा आबद्ध केही सामाजिक संस्थाहरूले परिवर्तनको बीउ रोपेका छन् । जनकपुरमा अवस्थित जानकी महिला जागरण समाज (
(JWAS) जस्ता संस्थाहरूले किशोरी र युवतीहरूको आर्थिक सशक्तीकरणमार्फत बालविवाहको मूल कारणमै प्रहार गर्ने गरि बालबिबाह अन्त्यका लागी बिबिध कार्य गर्ने प्रयास गरेका छन् । युवाहरूलाई सीप, तालिम, साना अनुदान, बजारसँग जोड्ने अवसर र आत्मनिर्भर बन्ने प्रेरणा दिएर JWAS ले किशोरीहरुको मनोभाबना बुझने गरि कार्य गरेको पाईन्छ । जनकी महिला जागरण समाज JWAS ले आर्थिक स्वतन्त्रताले सामाजिक मान्यतालाई चुनौती दिन सक्छ भन्ने आधारमा कार्य गरिरहेको पाईन्छ । अनिताको जीवनमा आएको परिवर्तन त्यही प्रयासको परिणाम हो । सानो अनुदान र तालिमको सहयोगले उनले पसल सुरु गरिन्, र आज त्यही पसल उनको परिवारको मुख्य आम्दानी स्रोत बन्न सकेको छ यसले उनलाई आफ्ना छोरीहरूको भविष्यबारे दृढ निर्णय लिन सक्ने बनाएको बारे उनले स्पष्ट रुपमा खुलेर बताएकि छिन । उनले अब, “मेरा छोरीहरूको विवाह २० वर्षअघि हुँदैन” भन्ने बारेमा दृढ संकल्प पनी गरेकि छिन ।
मधेशमा बालविवाहको दर राष्ट्रिय औसतभन्दा धेरै उच्च हुनु यसको गम्भीरताको संकेत हो । कानुनी रूपमा विवाहको न्यूनतम उमेर २० वर्ष तोकिएको भए पनि व्यवहारमा धार्मिक संस्कार सहित विवाह गरिन्छ, तर कानुनी रुपमा दर्ता भने हुँदैन । यस्ता दर्ता नभएका बालबिबाह असंख्य छन् । कानून बलियो भए पनि स्थानीय स्तरमा कार्यान्वयन कमजोर हुँदा बालविवाह निरन्तर भइरहेको पाईन्छ । यसले कानुन र व्यवहारबीच ठूलो खाडल रहेको प्रष्टरुपमा उदाहरण प्रस्तुत गरेको छ।
त्यसै स्टोरीमा प्रकाशित पूजाको अनुभवले प्रतिनिधित्व र संस्थागत पहुँचको अर्को पक्ष उजागर गर्दछ । आफू विधालय नपढेकी पूजा आफ्ना सन्तानको विधालयमा शिक्षण गुणस्तर र महिला शिक्षकको अभावबारे प्रश्न उठाउन पुग्छिन् । उनले उजागर गरेको समस्या समाधान नभए पनि उनलाई विधालय व्यवस्थापन समितिमा दलित कोटा अन्तर्गत सदस्य बनाइन्छ । नेपालको आरक्षण प्रणाली प्रतिनिधित्व सुनिश्चित गर्न बने पनि व्यवहारमा दलितहरू शिक्षक वा संस्थागत पदमा पुग्नु दुर्लभ देखिन्छ । यसले नीतिको प्रभावकारी कार्यान्वयन र निगरानीको आवश्यकता औंल्याउँछ । यस्ता खवरदारि नियमित रुपमा हुन पर्ने टडकारो महसुस पनी गरिएको छ ।
बालविवाह अन्त्य गर्न केवल कानून मात्र पर्याप्त हुँदैन । आर्थिक सशक्तीकरण, शिक्षा, सामाजिक मान्यता परिवर्तन, र संस्थागत प्रतिनिधित्व सँगसँगै अघि बढ्नुपर्छ भन्ने सोचको बिकाश हुन आबश्यक छ । यसका लागि नागरिक समाज र सरकारबीचको कार्यगत एकता अत्यन्त आवश्यक छ । सामाजिक संस्थाहरू समुदायसँग नजिक छन्, उनीहरूलाई स्थानीय यथार्थको गहिरो बुझाइ छ । सरकारसँग नीति, स्रोत र संस्थागत संरचना छ । यी दुईको सहकार्यले मात्र बहुआयामिक समस्यामा प्रभावकारी समाधान दिन सकिन्छ । यहि मान्यतालाई अग्रगामी निकाश दिने हो भने बालबिबाह अन्त्य हुन सक्दछ ।
मधेश प्रदेशमा बालविवाह विरुद्ध प्रादेशिक रणनीति निर्माण र कार्यान्वयनका लागि भइरहेको अन्तर मन्त्रालय पहल र नागरिक समाजको सक्रियता आशाको संकेत हुन् । शिक्षा, स्वास्थ्य, सामाजिक विकास, रोजगारी र प्रशासन—यी सबै निकायबीच समन्वय नभई बालविवाह न्यूनीकरण सम्भव छैन। किशोरीहरूलाई सीप र रोजगारीका अवसर दिनु, विद्यालयमा महिला शिक्षक सुनिश्चित गर्नु, विवाह दर्ता अनिवार्य गराउनु, समुदायस्तरमा सचेतना र संवाद बढाउनु, र दलित तथा महिलाको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्नु अत्यावश्यक कदमहरू हुन् ।
अनिताको पसल केवल व्यापार मात्र नभई त्यो संरचनागत असमानतामाथि व्ध्ब्क् द्धारा गरिएको सानो तर अर्थपूर्ण प्रहार हो । पूजाको विद्यालय व्यवस्थापन समितिसम्मको यात्रा प्रतिनिधित्वको आवश्यकता सम्झाउने संकेत हो । यदि प्रयास समन्वित, निरन्तर र लक्षित हुन्छन् भने परिवर्तन सम्भव छ भन्ने यि कथाहरुले छर्लगं पारेको छ ।
अन्ततः मधेशमा विशेषगरी दलित किशोरीहरूको बालविवाह अन्त्य गर्न नागरिक समाज र सरकारबीचको कार्यगत एकता अपरिहार्य आबश्यकता हो । जब नीति, स्रोत, समुदायको विश्वास, र रूपान्तरणमुखी कार्यक्रमहरू एउटै दिशामा केन्द्रित हुन्छन्, तब मात्र बालविवाहमुक्त समाजको परिकल्पना यथार्थमा परिणत हुन सक्दछ र काँसघाँसले ढाकिएको बाटो पार गर्दै उज्यालो भविष्यतर्फ हिँड्न सम्भव हुन्छ ।
Breaking the Cycle: Caste, Economic, Marginalization, and Child Marriage in Nepal’s Madhesh Province

लेखक- बालिका दुलहि होईनन राष्ट्रिय संजाल – (Girls Not Brides, Nepal) का अध्यक्ष हुनुहुन्छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *