काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका छन् ।
नयाँ संसद् गठनपछि पहिलोपटक संसद्लाई सम्बोधन गर्दै उनले सरकारका गतिविधि पञ्चायती शैलीतर्फ उन्मुख भइरहेको टिप्पणी गरे ।
प्रचण्डले विद्यार्थी संगठनमाथिको प्रतिबन्ध राजनीतिक इतिहासप्रतिको अपमान हुने उल्लेख गर्दै लोकतन्त्रलाई सुदृढ बनाउने नाममा नागरिकको आवाज दबाउन नहुने बताए ।
उनले ट्रेड युनियनमाथिको प्रतिबन्ध अन्तर्राष्ट्रिय अभ्यास तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताविपरीत रहेको पनि उल्लेख गरे ।
“लोकतन्त्रको रोडम्याप लोकतन्त्रलाई बलियो बनाउने र संविधानको रक्षा गर्दै विस्तारित गर्ने हुनुपर्छ । नागरिकलाई आवाज उठाउन प्रतिबन्धित गरेर लोकतन्त्र बलियो हुन सक्दैन,” प्रचण्डले भने ।
उनले विद्यार्थी संगठनमा आवश्यक सुधार गर्न सकिने भए पनि आवाज नै बन्द गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे । “आज अस्तित्व नै नरहनेगरी अब तिमीहरूको औचित्य छैन भन्ने हो भने त्यो विद्यार्थीमाथि मात्र होइन, सिंगो राजनीतिक इतिहासमाथिको अपमान हुनेछ,” उनले भने ।