केन्द्रीय समिति विस्तारबारे डा. शेखर कोइरालाको भनाइ

काठमाडौं । डा. शेखर कोइरालाले

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हालै गरिएको विस्तारप्रति असन्तुष्टि जनाउँदै यसले पार्टीको बृहत्तर एकतामा असर पुगेको बताएका छन् ।

सोमबार धारणा सार्वजनिक गर्दै नेता कोइरालाले पार्टीभित्र समग्र एकता कायम नभएसम्म राष्ट्रिय राजनीतिमा कांग्रेसले प्रभावकारी र सार्थक भूमिका खेल्न नसक्ने बताएका हुन् । उनले विगतको निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर शिक्षा दिएको उल्लेख गर्दै पार्टीभित्र नयाँ सोच, साझा दृष्टिकोण र सामूहिक भावनाको आवश्यकता औंल्याए ।

उनले विभाजित कांग्रेसले विगतमा ठूलो राजनीतिक क्षति बेहोरेको स्मरण गराउँदै आम नागरिकको भरोसा र विश्वास समेत कमजोर बनेको बताए । अब हुने स्थानीय तह र प्रदेश निर्वाचनमा पनि जनविश्वास जित्न नसके कांग्रेसको राष्ट्रिय औचित्यमाथि प्रश्न उठ्न सक्ने उनको चेतावनी छ ।

कोइरालाले कांग्रेससँग आबद्ध युवा, संघर्षशील तथा त्यागी कार्यकर्ताको राजनीतिक भविष्य सुनिश्चित गर्न भावनात्मक र राजनीतिक एकता आवश्यक रहेको धारणा व्यक्त गरे । उनले पार्टीलाई नागरिकमैत्री बनाउने दिशामा अघि बढ्न नेतृत्वलाई आग्रह गरे ।

उनले संविधानवाद र लोकतान्त्रिक मूल्य–मान्यतामाथि विभिन्न प्रकारका चुनौती बढिरहेका बेला कांग्रेसभित्र गुट–उपगुट कायम रहनु दुःखद भएको टिप्पणी पनि गरेका छन् ।

नेता कोइरालाले वैशाख २८ गते गरिएको १९ जनाको केन्द्रीय समिति मनोनयनप्रति संकेत गर्दै उक्त निर्णयले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको उल्लेख गरे । साथै, १४औं महाधिवेशनपछि नविकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा १५औं महाधिवेशनलाई “एकता महाधिवेशन” का रूपमा सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *