महोत्तरी, जेठ १४ गते ।मटिहानी नगरपालिकामा बालविवाहको रोकथामसँगै किशोरीहरूलाई सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित १ महिने मिथिला पेन्टिङ सिप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ। पालिकाको नेतृत्वमा आयोजित यस तालिमले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका किशोरीहरूलाई लक्षित गर्दै उनीहरूको सिर्जनात्मकता र आर्थिक आत्मनिर्भरता प्रवर्द्धन गर्ने काम गरेको छ। तालिमको समापन समारोहमा नगर प्रमुख हरि प्रसाद …
मटिहानीमा किशोरीहरूका लागि मिथिला पेन्टिङ तालिम सम्पन्न : आत्मनिर्भरता र सांस्कृतिक पहिचानको सशक्त कदम

महोत्तरी, जेठ १४ गते ।
मटिहानी नगरपालिकामा बालविवाहको रोकथामसँगै किशोरीहरूलाई सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित १ महिने मिथिला पेन्टिङ सिप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ। पालिकाको नेतृत्वमा आयोजित यस तालिमले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका किशोरीहरूलाई लक्षित गर्दै उनीहरूको सिर्जनात्मकता र आर्थिक आत्मनिर्भरता प्रवर्द्धन गर्ने काम गरेको छ।
तालिमको समापन समारोहमा नगर प्रमुख हरि प्रसाद मण्डलले सहभागी ३० जना किशोरीहरूलाई प्रमाणपत्र वितरण गर्दै मिथिला कला नारीहरूका लागि मात्र होइन, समग्र समाजका लागि पनि समृद्धिको माध्यम बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “मिथिला पेन्टिङ हाम्रो संस्कार, शान र सम्पत्तिको प्रतीक हो। किशोरीहरूले यसबाट आत्मनिर्भर जीवनशैलीको बाटो समाउन सक्छन्।”

बालविवाहविरुद्ध सिपमार्फत् सशक्तीकरणको अभियान
पालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा संयोजन गरिएको तालिम मटिहानी नगरपालिका वडा नं. ६, ७, र ८ का किशोरीहरूको सहभागितामा एक महिनासम्म सञ्चालित भयो। शाखा प्रमुख दिपा कुमारी दासका अनुसार तालिमले किशोरीहरूमा आत्मविश्वास र रचनात्मक सोचको विकास मात्र होइन, भविष्यमा स्वरोजगारको सम्भावनासमेत सिर्जना गरेको छ।
नेतृत्व, सहभागिता र सामुदायिक समर्पण
तालिम समापन समारोह पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरूको सक्रिय सहभागिता देखिएको थियो। वडा नं ६ का अध्यक्ष कलिम अन्सारी, वडा नं ७ का अध्यक्ष जितनारायण माझी र वडा नं ८ का अध्यक्ष रितेश साहले तालिममा सहभागी किशोरीहरूलाई बधाई दिँदै भविष्यमा पनि यस्ता रचनात्मक अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।
कलाको माध्यमबाट आर्थिक सशक्तीकरण
तालिमकी प्रशिक्षक सुलोचना कर्णले मिथिला पेन्टिङको ऐतिहासिक, सांस्कृतिक र व्यावसायिक महत्वबारे जानकारी दिँदै किशोरीहरूलाई सिपमा निखार ल्याउन प्रेरणा प्रदान गर्नुभयो। उहाँले सहभागीहरूको कलात्मक उन्नति र सीपको अनुशासनमा विशेष प्रशंसा गर्नुभयो ।
मटिहानी नगरपालिकाद्वारा सञ्चालित यो तालिम एक साधारण सिप विकास कार्यक्रम मात्र नभई किशोरी सशक्तीकरण, सांस्कृतिक जगेर्ना, र सामाजिक सुधारको संयोजन थियो। मिथिला पेन्टिङको माध्यमबाट किशोरीहरूलाई जीवनोपयोगी सीप हस्तान्तरण गर्दै बालविवाहविरुद्धको सचेतना अभियानलाई सशक्त रूप दिइएको छ। यसले स्थानीय सरकारको जनमुखी र परिवर्तनशील सोचलाई प्रतिबिम्बित गरेको छ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers