Welcome to बोलीवचन   Click to listen highlighted text! Welcome to बोलीवचन

धुवाँरहित भान्सा र ऊर्जा आत्मनिर्भरताका लागि विद्युतीय चुलो प्रवर्द्धनमा जोड

लालगढ ।
धुवाँयुक्त भान्साका कारण महिलाहरू र बालबालिकाले भोग्नुपरेको स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न विद्युतीय चुलोको प्रयोग विस्तार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। मधेस प्रदेशका स्थानीय तहका जनप्रतिनिधि, ऊर्जा विज्ञ, नेपाल विद्युत प्राधिकरणका अधिकारी तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूले विद्युतीय चुलोको प्रयोगले स्वास्थ्य, वातावरण र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

लालगढमा आयोजित विद्युतीय चुलो प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले धुवाँयुक्त भान्साका कारण आमा, काकी तथा दिदीबहिनीहरू अस्वस्थकर वातावरणमा जीवन बिताउन बाध्य भइरहेको बताउनुभयो। नेपालमा विद्युत उत्पादनको पर्याप्त सम्भावना रहेकाले घर–घरमा धुवाँरहित भान्सा निर्माण गर्न सकिने उहाँको भनाइ थियो।

“खाना पकाउन प्रयोग हुने एलपीजी ग्यासका लागि नेपालले प्रत्येक वर्ष अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गर्नुपरेको छ,” उहाँले भन्नुभयो, “यदि घर–घरमा विद्युतीय चुलो पुर्‍याउन सकियो भने विदेशी मुद्राको बचत हुनुका साथै देश ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्न सक्छ।”

कार्यक्रममा बोल्दै गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जित नारायण यादवले आफ्नो पालिकाले दुई वर्षअघि नै इन्डक्सन चुलोसँगै आवश्यक भाँडाकुँडा वितरण गरेर विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गरेको जानकारी दिनुभयो। उहाँले उक्त कार्यक्रमबाट पालिकावासीहरू लाभान्वित भएको र विद्युतीय चुलोप्रतिको आकर्षण बढेको बताउनुभयो।

कार्यक्रममा सहभागी विभिन्न पालिकाका गृहिणीहरूले विद्युतीय चुलो प्रयोगका सकारात्मक अनुभव साझा गरे। उनीहरूका अनुसार इन्डक्सन चुलो चलाउन सजिलो हुनुका साथै धुवाँ नआउने, भान्सा कोठा कम तात्ने तथा स्वस्थ वातावरणमा खाना पकाउन सकिने सुविधा रहेको छ। उनीहरूले ग्यासको तुलनामा कम खर्चमा खाना पकाउन सकिने दाबी पनि गरे।

ऊर्जा विज्ञ मोहनदास मानन्धरले पछिल्ला वर्षहरूमा विद्युतीय चुलोको माग र प्रयोग उल्लेखनीय रूपमा बढेको बताउँदै यसको सफल विस्तारका लागि विद्युत पूर्वाधारमा लगानी आवश्यक रहेको बताउनुभयो। उहाँले ट्रान्सफर्मरको क्षमता विस्तार, नियमित मर्मत–सम्भार तथा गुणस्तरीय विद्युत आपूर्तिमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो। साथै उहाँले “उज्यालो मधेस प्रदेश” निर्माणका लागि आफूहरू प्रतिबद्ध र यसका लागि आवश्यक नीतिगत एवं प्राविधिक सहयोग गर्न आफू सधैँ तयार रहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा मधेस प्रदेशका २० वटा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो। सहभागी अधिकांश स्थानीय तहका प्रतिनिधिहरूले विद्युत लाइन पटक–पटक अवरुद्ध हुने, ट्रान्सफर्मरको क्षमता अपर्याप्त हुने तथा खराब मौसममा विद्युत आपूर्ति बन्द हुने समस्या समाधान नगरी विद्युतीय चुलोको प्रयोग विस्तार गर्न कठिन हुने धारणा राखे। उनीहरूले यस्ता कार्यक्रम सञ्चालन गर्न स्थानीय तहहरू इच्छुक भए पनि पूर्वाधारगत समस्याका कारण अपेक्षित रूपमा अगाडि बढ्न नसकेको बताए।

नेपाल विद्युत प्राधिकरण धनुषाधाम वितरण केन्द्रका तत्कालीन प्रमुख रोशन सिंहले गणेशमान चारनाथ नगरपालिकामा इन्डक्सन चुलो बिक्री–वितरण तथा प्रवर्द्धन कार्यक्रम सञ्चालनका क्रममा आवश्यक विद्युत पूर्वाधार सुधार गर्न सफल भएको अनुभव सुनाउँदै अन्य पालिकाहरूले पनि यस्ता कार्यक्रम सञ्चालन गर्न चाहेमा प्राधिकरणले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो।

कार्यक्रमका क्रममा विद्युतीय चुलो प्रवर्द्धनका लागि उपयुक्त स्थानीय तहहरूको पहिचान गरी दीर्घकालीन योजना निर्माण गर्ने तथा आवश्यकताअनुसार अनुदान, सहुलियतपूर्ण ऋण र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो। सहभागीहरूले एकीकृत ढङ्गबाट कार्यक्रम सञ्चालन गर्न सके विद्युतीय चुलोको प्रयोग विस्तार गर्न सहज हुने धारणा व्यक्त गरे।

एसियन विकास बैंक (ADB), नेपाल विद्युत प्राधिकरण, नर्वे दूतावास, एसपीलाई नेपाल, जानकी महिला जागरण समाज, क्लिन कुकिङ एलायन्स , डीडीआरसी लगायतका संस्थाहरूको सहयोग समन्वयमा सो कार्यक्रम सञ्चालन भएको थियो।

कार्यक्रमको सभापतित्व नीति विज्ञ पुरुषोत्तम घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा एसपीआई नेपालकी करुणा बज्राचार्यले विषय प्रवेश गराउँदै गणेशमान चारनाथ नगरपालिकामा विगतमा सञ्चालन गरिएको विद्युतीय चुलो बिक्री–वितरण तथा प्रवर्द्धन कार्यक्रमका अनुभवहरू प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले विद्युतीय चुलोको प्रयोग विस्तार गर्न सकिए धुवाँका कारण हुने स्वास्थ्य समस्या न्यूनीकरण हुनुका साथै आयातित एलपीजी ग्यासमाथिको निर्भरता घट्ने, विदेशी मुद्रा बचत हुने, वातावरणीय प्रदूषण कम हुने र स्वदेशी विद्युतको खपत बढेर देशको ऊर्जा आत्मनिर्भरताको लक्ष्य हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Click to listen highlighted text!