जनकपुरधाम–६ का वडा अध्यक्ष दिनेश साहको निधन
जनप्रतिनिधि तथा कांग्रेस नेताहरूबाट श्रद्धाञ्जली र समवेदना
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिनेश साहको सोमबार बिहान निधन भएको छ। उनको निधनप्रति जनकपुरधामका जनप्रतिनिधि, नेपाली कांग्रेसका नेता तथा स्थानीयवासीले दुःख व्यक्त गरेका छन्।
साहलाई स्थानीयस्तरमा भद्र, इमानदार तथा सामाजिक सेवामा सक्रिय व्यक्तिका रूपमा स्मरण गरिएको छ। वडा अध्यक्षका रूपमा उनले वडाको विकास तथा स्थानीयवासीको हितका लागि निरन्तर काम गर्दै आएको बताइएको छ। उनी नेपाली कांग्रेस वडा नं. ६ का अध्यक्षसमेत थिए।
उनको असामयिक निधनप्रति पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि, धनुषा जिल्ला सभापति योगेन्द्र पंजियार, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह लगायतले दुःख व्यक्त गरेका छन्।
त्यस्तै वडा अध्यक्ष राघवेन्द्र साह, रामचन्द्र पंजियार, परमेश्वर साह, विनोद कुमार साह, शिवकुमार साह तथा प्रेस स्वतन्त्रता सेनानी रामभरत साह लगायतले पनि शोक व्यक्त गर्दै दिवंगत साहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनीहरूले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।
साहको निधनले जनकपुरधाम–६ को स्थानीय विकास तथा सामाजिक क्षेत्रमा क्षति पुगेको भन्दै स्थानीयवासीले दुःख व्यक्त गरेका छन्।
