मध्यपूर्वमा जारी तनावबीच इजरायलले लेबनानका विभिन्न सहर र गाउँहरूमा हवाई आक्रमण तीव्र पारेको छ। राजधानी बेरुतका दक्षिणी उपनगर, दक्षिणी लेबनानका सहर तथा पूर्वी क्षेत्रहरूमा भएका आक्रमणका कारण ठूलो मानवीय क्षति भएको बताइएको छ।
लेबनानी अधिकारीहरूका अनुसार पछिल्ला दिनहरूमा भएका इजरायली आक्रमणमा कम्तीमा ५७० जनाको मृत्यु भएको छ भने एक हजार चार सयभन्दा बढी घाइते भएका छन्। आक्रमणका कारण देशभर ठूलो संख्यामा मानिस विस्थापित भएका छन्।

रिपोर्टका अनुसार इजरायली सेनाले बेरुतका दक्षिणी उपनगरसहित दक्षिण र पूर्वी लेबनानका विभिन्न स्थानमा एकपछि अर्को हवाई आक्रमण गरेको छ। आक्रमण सुरु हुनुभन्दा केही समयअघि स्थानीय बासिन्दालाई क्षेत्र खाली गर्न चेतावनी समेत दिइएको बताइएको छ।
इजरायलले लेबनानस्थित इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहका संरचना र आधार क्षेत्रमा लक्षित गरी आक्रमण गरेको जनाएको छ। तर हवाई आक्रमणका क्रममा आवासीय भवन र अन्य संरचनामा समेत क्षति पुगेको खबरहरू आएका छन्।
यसैबीच हिज्बुल्लाहले पनि इजरायलतर्फ रकेट तथा मिसाइल प्रहार गर्दै जवाफी हमला गरेको बताइएको छ। दुवै पक्षबीचको भिडन्तले सीमावर्ती क्षेत्रहरूमा तनाव थप बढाएको छ।
लगातारको आक्रमणका कारण लेबनानमा मानवीय संकट गहिरिँदै गएको छ। हजारौँ मानिस घर छाडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन् भने राहत शिविरहरूमा चाप बढ्दै गएको बताइएको छ।