मेघालयमा अवैध कोइलाखानी विस्फोट, १८ मजदुरको मृत्यु

भारतको मेघालय राज्यको ईस्ट जैन्तिया हिल्स जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेको कोइलाखानीमा भएको भीषण विस्फोटमा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ। दुर्घटनामा एक जना घाइते भएका छन् भने केही मजदुर अझै खानीभित्रै फसेको आशंका गरिएको छ।
प्रारम्भिक जानकारी अनुसार खानीभित्र विस्फोटक पदार्थ प्रयोग गरिरहेको बेला विस्फोट भएको हो। विस्फोटपछि खानीको भित्री भाग ध्वस्त भएको र धुवाँ तथा विषालु ग्यास फैलिँदा मजदुरहरू बाहिर निस्कन नसकेको बताइएको छ।
घटनापछि स्थानीय प्रशासन, प्रहरी, तथा उद्धार टोली घटनास्थलमा पुगेका छन्। राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) र राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) को सहयोगमा उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ। अझै केही मजदुर जीवितै फसेका हुन सक्ने आशंकामा उद्धार कार्य जारी छ।


प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। अवैध रूपमा खानी सञ्चालन गरिएको पुष्टि भइसकेको र त्यसमा संलग्न व्यक्ति तथा समूहविरुद्ध कडा कानुनी कारबाही गरिने जनाएको छ।
मेघालयमा ‘र्याट–होल’ भनिने अत्यन्त साँघुरा र जोखिमपूर्ण खानीहरू लामो समयदेखि विवादमा छन्। यस्ता खानीमा न्यून सुरक्षा व्यवस्था, अव्यवस्थित विस्फोटक प्रयोग र विषालु ग्यासका कारण बारम्बार ज्यान जाने दुर्घटना हुँदै आएका छन्।
घटनाप्रति भारत सरकार र मेघालय राज्य सरकारले गहिरो दुःख व्यक्त गरेका छन्। मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने र यस्ता अवैध खानीहरू नियन्त्रण गर्न कडा कदम चालिने प्रतिबद्धता जनाइएको छ ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *